गोसाइँकुण्ड यात्रा: सङ्गलिएका अनुभूति
घुमाई गरेर गन्तब्यमा मात्र पुग्ने उद्देश्य भएका धेरै हुन्छ तर यात्रालाई जीवन मानेर जीवनको सार्थकता खोज्नेहरु निक्कै कम हुन्छन्, भेटिन्छन्। धेरै साथीहरु ट्राभल या टूरमा जाने भन्छन् यर यथार्थमा धेरैले यात्रा गर्दैनन्, घुम्छन् मात्र! यात्रा गर्दा हिमाल,डांडा-कांडा, कन्दरा, फांट मात्र हेरिन्न त्यहांको परिवेशमा हुर्केका मानिसहरुको जीवनशैली, सुख-दु:ख, चालचलन पनि नद्जिकबाट नियालिन्छ, महशुस गर्ने प्रयत्न गरिन्छ। घुम्नेहरुको उद्देश्य रमाइलो गर्ने भन्ने मात्र हुन्छ, बस् कहां पुग्ने हो अन्तिम गन्तब्य त्यहां पुग्छन्, आउंछन्, फर्कन्छन, बाटाका कठिनाई, सजिलापन कुनै तीता-मिठा फल बन्दैनन् तर जो यात्रा गर्दछन् ती क्षण-क्षण बांच्दछन्, तिनका लागि ती जीवन भोगाइका सङ्गालो बनिदिन्छन्, जीवन सार्थकताको मोड बनिदिन्छन्।साउनको पहिलो हप्ता हाामीले
घोप्टेभीरमा विमान दुर्घटनाको २६ वर्ष पूरा भएको दिन..
१९९२ जुलाई ३१ मा घोप्टेभीर भन्ने ठाउँमा थाई विमान दुर्घटना भएको थियो, जसमा सबैभन्दा बढी थाई नागरिक र त्यसपछि नेपाली थिए। हामी फेदी पुगेको दिन ठ्याक्कै २६ वर्ष पूरा भएछ। राती फेदि पुगेर माथिल्लो होटेलमा चिसो लुगा सुकाउंदै गर्दा साथीहरुलाई मैले प्लेन दुर्घटना बारे बताएको थिएं, त्यस ठाउंमा यसअघि हिउँदमा पनि मैले यात्रा गरिसकेको थिएं। त्यो सुन्ने बित्तिकै होटेलका एक दाईले त्यस घटना बारे प्रीन्ट गरिएको अङ्ग्रेजी प्रतिवेदन ल्याएर मलाई दिए। मैले उल्था गरेर सुनाउंदा तामाङ्ग दाइहरु पनि मगन मस्त सुनेर बसेका थिए। गुराँसको दाउरा हालेर बालिएको आगोले पानी तात्दै थियो, हाम्रा चिसा लुगाहरु पनि सुक्दै थिए अनि हामी पनि न्यानो अनुभूति गर्दै थियौं।
बिहान उठ्ने बित्तिकै डांडाहरु हुस्सुले उति सार्है छेकिएका थिएनन्। अनि मैले साथीहरुलाई प्लेन ठोक्किएको घोप्टेभीर देखाएं। त्यहां प्लेन ठोक्किंदा त्यसका टुक्राहरु वल्लो पल्लो डांडा सम्म पनि पुगेका थियो भन्ने सुनिन्छ। त्यस विमान दुर्घटनामा १४ देशका ११३ जना मानिसहरुको मृत्युु भएको थियो, जसमा जहाजका मात्रै १४ जना सदस्य थिए। तत्कालीन समयमा प्लेनलाई कलकत्ताको आकाश तिर उड्न सल्लाह दिए पनि पाइलटले उत्तर तिर प्लेन डोर्याउंदा ठूलो मूल्य चुकाउनु पर्यो। ट्राफिक कन्ट्रोलर र पाइलटमा भाषा संवादले समस्या निम्ताएको हो पनि भनिन्छ। त्यसै दिन चीनको नान्जिङमा पनि विमान दुर्घटना भएको रहेछ। अझै पनि त्यस घोप्टेभीरमा विमानका टुक्राहरु भेट्न सकिन्छ भने हामी बसेका होटेलमा प्लेनको अगाडीको भाग देख्न सकिन्छ।
विमान दुर्घटना दुर्भाग्यपूर्ण त थियो नै तर त्यसपछी नै त्यस ठाउ विश्वभर चम्किएको रहेछ। लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्ने त्यस थारेपाटी देखि फेदी क्षेत्र संसारभर परिचीत बनेको एक मुख्य कारण चाहीं थाइ विमान दुर्घटना हो भन्दा फरक पदैन किनकी यहि यसैपछी हेलम्बु-गोसाइँकुण्डको यस क्षेत्रबारे व्यापक खोजिएको रहेछ। हामी बसेको होटेल खुलेको पनि जम्मा २० वर्ष भएको रहेछ जब कि विमान दुर्घटना भएको २६ वर्ष पूरा भएछ। त्यो एउटा कहालीलाग्दो दुर्घटनाले नेपालको पर्यटन क्षेत्रको लागि नयां आयम थपेको थियो। २६ वर्ष पछि भए पनि मृत आत्माहरुको चीरशान्तिको कामना गर्दै हामी गोसाइँकुण्ड यात्रा तिर लाग्यौं।
गोसाइँकुण्ड किंवदन्ती:
गोसाइँकुण्डबारे हिन्दू, बौद्ध र बोन्पो धर्मावलम्बीहरुको आफ्नै मूल्य र मान्यता छन्। ४,३८० मि. को उचाईमा रहेको गोसाइँकुण्ड हिन्दू, बौद्ध र बोन्पो (तान्त्रिक) धर्मावलम्बीहरुले उत्तिकै श्रद्धा गर्ने ठाउँ हो। गोसाइँकुण्डलाई आआफ्नै तरिकाले आस्थाको प्रतीक मानेर पुज्ने हिन्दू, बौद्धहरु, बोन्पोहरुको साझा केन्द्र हो। हिन्दू, बौद्ध विद्वानहरुले निरपेक्ष आफ्नै जाति वा धर्म विशेषको आस्थाको केन्द्र मानेर तर्क, विचार मन्थन गरेता पनि, यो सबैको साझा तीर्थस्थल हो भन्ने कुरोमा कुनै दुईमत छैन। जसरी पदयात्री र तीर्थयात्रीले फरक उद्देश्यले गन्तव्यमा पुगे नि गर्ने चाहिँ यात्रा नै हो त्यसरी नै हिन्दू, बौद्ध र बोन्पोहरुले अनेकन तरिकाले आआफ्ना महत्त्वपूर्ण देवता पूजे पनि सबैले पुज्ने ईश्वर एकै हुन्। हिन्दू देवाधिपती महादेव मानेर पुज्छन् भने बौद्धले आर्य अवलोकितेश्वर मान्छन्। तामाङ समुदाय भने जनैपूर्णिमा (बदौ छेबा चोङ्ङा) मा झाँक्रीसहित जान्छन्। `सेसे बोन्पो´ गीत गाएर नाच्दै जाँदा मनोकामना पूरा हुने उनीहरूको विश्वास रहेको छ।
(क) हिन्दू किंवदन्ती:
पौराणिक किंवदन्ती अनुसार पहिले देवता र दानवबीच भयानक युद्ध हुने क्रममा दानवहरूले देवतालाई जिते। देवताहरू भगवान् विष्णुको शरणमा पुगेपश्चात् विष्णु भगवानको सल्लाह अनुसार दानव र देवता मिलेर समुन्द्र मन्थन गर्ने, समुन्द्र मन्थनबाट निस्कने अमृत देवतालाई पिलाएर अमर बनाउने र त्यसपछि दानवलाई मद्य पान गराएर उनीहरूको सर्वनाश गर्ने सल्लाह दिएपछि देवताले दानवहरूलाई फकाइ फुल्याई समुन्द्र मन्थन गर्न सहमत गराए। समुन्द्र मन्थन गर्दा विभिन्न वस्तुहरू निस्के। यसैक्रममा कालकुट विष पनि निस्कियो। कालकुट विष सहन नसकेर देवता र दानव कोही मुर्छा परे त कोही मर्न लागे। जसलाई शान्त नपारेमा यो संसार तथा सृष्टिलाई नै भष्म गराउन सक्थ्यो। यो अवस्था देखेपछि सबै देवता र दानव भगवान् शिवको शरणमा पुगेपछि, देवाधिपती महादेवले उक्त विष स्वयम् आफैंले सेवन गरे। विषले गर्दा उनको घाँटी निलो भएकाले महादेवलाई निलकण्ठ पनि भनियो। विषको डाहा शान्त पार्न हिमालय पर्वतमा पुगेर आफूसँग भएको त्रिशूलले भित्ता खोपे। त्यसबाट तीनधारा भएर निस्किएको जल पिएपछि डाहा शान्त भएको र त्यही त्रिशूलधाराबाट उक्त पानी बगेर गई हालको गोसाइँकुण्ड उत्पत्ति भएको प्रचलित किंवदन्ती धार्मिक ग्रन्थहरूमा पाइन्छ। सोही कुण्डको बीचमा अहिले पनि भगवान् शिव अर्थात् महादेव विराजमान रहनुभएको विश्वास गरिँदै आइएको छ।
(ख) हिन्दू किंवदन्ती:
शिवजी र भैरव विषले रन्थनिएर शीतलताको खोजीमा हिमपर्वत निलाद्रीमा पुग्दा निक्कै गाह्रो स्थितिमा पुगिसकेका थिए। शिवजीले अब आफू अर्को पाइला चल्न नसक्ने भनेपछी भैरवलाई पानी ल्याउन भने। भैरव पनि जसोतसो पानीको खोजीमा निस्के। अलिक तल पुगेपछी सानो मुहान भेट्टाए। उनी पनि चलमल गर्न नसक्ने भए। सानो पानीलाई जसोतसो कुण्ड बनाएर त्यही पानीमा डुबुल्की मारेर बसिरहे। उनी शीतलताको आनन्द लिने क्रममा शिवजीको आदेश भुल्न पुग्छन्। निक्कै लामो समयसम्म पनि भैरव नआएको देख्दा शिवजी भित्र भयानक रिस जाग्छ। अनि उनको पालो त्रिशूल निकालेर पहाडमा हान्छन्। त्रिशूलले लागेर तीनतिर बाट पानीको मूल फुट्छ र त्यहि मूलबाट पानीको प्यास मेटाएर शीतलता अनुभूति गर्छन्। अनि भैरवलाई खोज्दै जांदा अलिक तल कुण्डमा लमतन्न परेर बसेको देख्छन्। अनि गोसाइँकुण्डमा आएर आफूलाई सम्झेर कसैले वर मागे पूरा गर्छन् रे तर कसैले गोसाइँकुण्डमा आएर वर मागेर भैरवकुण्डलाई हेरेमा वर माग्नु र नमाग्नु बराबर हुनेछ भनेका छन् रे। त्यसैले गोसाइँकुण्डमा वर मागेका तीर्थयात्रीहरु भैरवकुण्डलाई नहेरी फर्कन्छन् रे।
बौद्ध किंवदन्ती:
तिब्बतको भूगोलको किताब `द्जाम-ग्लिङ-ग्योस-बसाद´ ले तालमा भएको मूर्ति ( फाग्स-पा थग्स्-ज्रे चेन
-पो) अर्थात् अवलोकितेश्वरको मानेको छ। `त्यहां ताल जस्तो पोखरीमा मानव आकरको प्राकृतिक ढुङ्गाको मूर्ति छ। त्यो मूर्ति खरानी-नीलो रङको छ, अनुहार गेरु रङको गलबन्दले ढाकेको छ र नौओटा गोमन सर्पका टाउकाले संरक्षण दिइरहेको त्यो मूर्ति पानीमा उत्तानो परेर सुतिरहेको जस्तो देखिन्छ।´भनेर हर्क गुरुङले आफ्ना किताबमा पनि लेखेका छन्।
बोन्पो किंवदन्ती:
तामाङ समुदायमा प्रचलित एउटा कथ्य पनि प्रस्तुत गरिहालौं। वैदिक तामाङ भाषा अर्थात शास्त्रीय पूजापाठ गर्ने भाषामा 'गो' भनेको टाउको वा शिर हो भने 'सा' भनेको भूमि वा माटो भन्ने अर्थ दिन्छ। यसले भार्खुगाउँको सिरान (शिर) को पवित्र हिमालय भूमिमा रहेको कुण्ड हो भन्ने जनाउँछ। गोसाइँकुण्ड नेपाली भाषामा राखिएको नाम हो। तामाङ भाषामा कुण्डलाई कार्पु छोकर (सेतोकुण्ड), ग्यो, ह्वे पनि भन्छन्। छोटकरीमा ल्हा क्षेम्बो मादेउ भनेर पुकार्छन्। ह्याप भनेको पिता, ह्युम भनेको माता हो। यो कुण्डलाई बेनग्यायी छोसा र ल्हाबेन ग्यायी छोसा - सयौं बोन्पोहरू भेला हुने पवित्रधाम भनिन्छ। तामाङ समुदायकै गोले वंशको बोन्पो -झाँक्रीहरू भने गोसाइँकुण्ड जाँदैनन्। उहिले भैरव कुण्ड (छोना) को नागले गोले बोन्पो (गुलबोन्पो) लाई तानेर कुण्डभित्र लगेको कथा छ।
पहिरो, डब्बा ट्रक र छांगासंग लडाई
लौरीबिनाबाट चोलाङ्गपाटी हुँदै हामी पाँचौ दिनमा धुञ्चे यात्रा गर्दै थियौं। चन्दनबारीको सिंगगुम्बामा भेटिएका जर्मन नागरिक र गाइडले हामीलाई अलमल नगरी धुञ्चे पुग्न भनेर सल्लाह गरे। खोलोले पुरानो पूल छुन आँटीसकेकोले झरी झर्नु अगावै उता पुग्नु भन्ने कुरो आइसकेपछी हामी बाटोमा अलमल नगरी, सरासर ठाडो ओरालो ओर्लियौं। मनभरी तर्क र प्रश्न गर्दै ओरालो ओर्लिंदै गर्दा एउटा जिर्ण पूल आइपुगियो। ठाडो खोलाको वेगले हुनुपर्छ, पूल भत्किन आंटीसकेको रहेछ। त्यसपछी देउराली डांडा मुन्तिर २४०० मि. को हाराहारीमा एक घर भेटियो। तल लाग्दै गर्दा एकजना दौरा-सुरुवाल लगाएका खैरेले मलाई रोकिन इसारा दिए। म पनि रोकिए, अनि मेरा साथीहरुलाई रोकाए। ती खैरे २०३३ साल देखि नेपालमा रहेछन्। क्याम्बेल थर भएका ती विदेशी प्रस्ट तामाङ बोल्दा रहेछन्। नेपालीमै हामीसंग कुराकानी गरे। तल ठूलो पहिरो लडेको र बिहान देखि नै ढुङ्गा झरिरहेको कुरा उनले गरे, र हामीलाई फर्केर अर्को बाटो बाट यात्रा गर्न सुझाव दिए। हामी त्यो अप्रत्याशित र अकल्पनीय खबर सुनेर आश्चर्यचकित भयौं। अब हामी बांडिन थाल्यौं, मैले बरु फर्केर माथी बाट जाऔं, कि त खोलो तरेर जङ्गल हुँदै पारी गाउँबाट धुञ्चे यात्रा गरौं भने। साथीहरुले बरु तल सम्म जाउं परे यतै बसौंला भने। हामी रित्तो खल्ती र खाली पेट लिएर यात्रामा थियौं। लौरीबिना बाट हाम्रो खल्ती रित्तिसकेको थियो। त्यसपछि १० मिनेट लगाएर हामी तल पहिरो छेव पुग्यौं। ओहो पहिरो त डरलाग्दो पो रहेछ। मन आत्तियो। सब मौन भए। घर पनि भेटियो। मान्छे होलान् र सोधखोज गरौंला भन्ने मनाशय बुनें। तर घरमा ताल्चा लागेको रैछ। अनि भेटियो पहिरो पार गरेर आएका आर्मी दाइ। ती दाइले पहिरो बाट आफू कसरी जोगिएर आए भनेर केही क्षण आफ्ना कुरा राखे, अनि हामीलाई पनि नआत्तिई पार गर्न भने। हिंड्दै गर्दा पहिरो माथीको पहराबाट फेरि गुटुङ्टुङ्ग ढुङ्गा झर्यो। मुटु कांप्यो। अलिक तल पुगेपछी पहिरोबाट छरिएका ठूला ठूला ढुङ्गाहरु भेटिए। ती ढुङ्गाले वेगले ढलेक रुख, किचिएका अरु साना बिरुवाहरु र मडारिएका अग्ला घांसहरु प्रस्ट देखिए। मैले सबैलाई रोकें। अनि त्यसपछी गोसाइँकुण्डबाट ल्याएको पवित्र जल निकालेर सम्झदैं चढाए। अच्युतले पशुपतिनाथ सम्झिए। अनि साथीहरूलाइ पनि जल बांडे। त्यसपछी को पहिला जाने भन्ने भयो। म पथप्रदर्शकको रुपमा उता गएपछी, मैले आंटे। हामी सबैले सल्लाह गर्यौं। बाटो मैले चाहिँ पहराबाट देखेछु तर हाम्रा साथी सुजनले तल बाट देखेछन्। अनि बब्लुले तलबाट छ भनेर भन्दा हामी सबै लड्दै-पड्दै तल गएको त गोसाइँकुण्ड र सुर्यकुण्ड बाट बनेको त्रिशुली खोलो मात्र पो छ। अब झन् मुटु धड्किन थाल्यो। त्यसपछि सबै माथी उक्लियौं। अनि मैले देखेकै बाटो बाट जाने कुरो भयो। म ढुङ्गा समात्दै, लठ्ठी टेक्दै, माथी अजङ्गको पहरो हेर्दै पहिरो कटाएं। त्यो विशाल पहिरोको बीच भाग कस्तो हुन सक्छ कल्पना गर्नुस् त? त्यति कटाएर चट्टानी बाटो, सायद त्यो पुरानो रुटमा पुगिएछ। सिस्नोको झाडी, वनमाराको घारीले बाटो नै देखिएन। फांड्दै अघि बढियो। सबैलाई काँप्दै काँप्दै थर्केको बोलीमा बोलाए। म पछि बब्लु, एलेक्स अनि आवरण भाइ आएपुगे। थुरुरु शरीर कांपीरहेकै थियो। सुजन र अभिषेकलाई देखिन। अनि त, मेरो झन् सातो उड्यो। पछि आवरण भाइले आउँदै छन् भनेसी त्यो चट्टानी बाटोबाट तल ओर्लियौ। ओहो लामो सास फेरे। शरीर पसिनाले पानी पानी भएर निथ्रुक्क भएछ। शरीर भतभती पोल्ने तातो भएछ। सुजन र अभिषेकलाई माथी बाटो नदेखेपछी नयां मार्गबाट खोज्न गएँ, देखिन। अनि नामले बोलाएं, धन्न आवरण भाइले देखे आउंदै गरेको। ओहो त्यसपछि त मृत्युु जितेको अनुभूति भयो। यी सारा कुराको पहिरोको आधा सम्म सुजनले भिडियो खिच्न पनि भ्याएछन्। सम्झंदा मुटु काँप्छ। बाटोमा १५/१६ जनाको टोली रहेछ गोसाइँकुण्ड जानेको। तिनीहरूलाई हामीले हाम्रा अनुभूति साट्यौं। राम्रोसंग जान भनेर सल्लाह दियौं। मैले माथी गोसाइँकुण्ड बाट ल्याएको जल खान भने तर मानेनन्। २ बजेको आसपास हामी धुञ्चे पुग्यौ। बब्लु र एलेक्सले एटिएमबाट पैसा निकाले। अब खाना खाइन्छ र काठमाडौ पुगिन्छ भनेर मन फुरुङ्ग भयो..। जिम्बू भन्ने ठाउंबाट बुढाबुढी चढे। कुराकानी गर्दै जांदा हाम्रो गोसाइँकुण्ड यात्रा बारे ती बुढाबुढीलाई पनि सुनायौं। उनीहरुले ३ बजे पहिरो तिर केही मानिस परेर मरेको कुरो सुनाए, सेना पनि खटिसकेको रहेछ। हामी झन् अत्तालियौं...गर्न पनि के सकिन्थ्यो र?
२ बजेको आसपास धुञ्चे बजार पुगियो। रोडै रोड हिंड्दा पनि गाडीहरु देखिएनन्। बरु केरुङ बाट धुञ्चे आउंदै गरेका डब्बा देखिए। डब्बा भनेको पहिले पहिलो तातोपानी भन्सार नाका बाट सामान ओसार्न प्रयोग हुने मालवाहक ट्रकलाई भनिंदो रहेछ। टिकट काउन्टर गएर गाडी सोधेको गाडी जति पहिरोमा रोकिएको छ रे। अनि सुमो वाला काउन्टर गएको, चिनियांहरुले भरिएर आउँछ रे। अब सोच्न भन्दा केही सकिएन। पछि एउटा डब्बा आयो। डब्बाको दाइलाई सुजन र बब्लु मनाउंदै थिए। म पनि जोडिन पुगें। बब्लु निक्कै भावुक भएर मनाउंदै थियो। त्यसपछि ड्राइभर दाइले माने। हामी खुशीले उमंगीत भयौं। डिब्बामा कोचिएर जम्मा ९ जनाको संख्या पुगेछ। कच्याक कुचुक गर्दै सामेल भयौं। अब यात्रा सुरु हुन थाल्यो। ड्राइभर दाइ, एक यात्रु र हेल्पर बाहेक हाम्रो त्यो रूट बाट पहिलो यात्रा थियो। गाडीमा गफ गर्दै जांदा सुजनको आत्तिदै थियो। एलेक्स ड्राइभर दाइको छेवैमा बसेर गफ गर्दै थ्यो। ड्राइभर दाइ आफूलाई घरबाट नजा भन्दा पनि आएको कुरो सुन्दा लाग्थ्यो, हामीलाई साथ दिन नै आइपुगेको अनुभूति हुन्थ्यो। ड्राइभर दाईलाई गोसाइँकुण्डको जल दिएं, अझ आशावादी भए। बब्लु एकजना चाइनिज गाडी चलाएर उसैगरी मरेको कुरो सुनाउथ्यो। अनि म बेला बेला यस्ता नचाहिदो कुरो अहिले नगर भन्दै कराउंथे। अभिषेक मेरा पछाडी हंसाई मार्दै, आवरण र बब्लु आफ्नै सुरमा थिए। तर जब गाडी खाल्डाखुल्डीमा पर्थ्यो, जोडजोड्ले त्रिशुली तिर तानिएको डरलाग्दो अनुभव हुन्थ्यो। गाडी खसे सिधै खोलामा भन्दै ड्राइभर दाई हामीलाई भन्थे। त्यति सानो रोड मैले मेरै गाउँमा पनि देखेको थिइन तर त्यो डब्बा त्यहि बाटोमा हिंडाइदो रहेछ। बाटो यति सांघुरो कि एउटा लामो गाडी पनि मुस्किलले छिर्दो रहेछ। काटिएका पहाड बाट डब्बा छिर्ला र (?) भन्ने लाग्थ्यो। घुम्ती घुम्तीमा हाम्रो सातो उड्थ्यो, केहि साथीहरु त मौन थिए डरले। हुस्सु त्यति बाक्लो पनि कहिले देखिएको थिएन जति त्यहां देखियो। ड्राइभर दाइले हामीलाइ नआत्तिइ बस्न भनेर हौसाइरहे। मैले पनि ड्राइभर दाइको बोलीमा लोली मिलाउंदै, के ड्राइभर दाइको चाहिँ ज्यान, ज्यान नै होइन भने(?)। ड्राइभर दाइले मन्द मुस्कान छरे। हंसिला, हामी जस्तै जोसिला युवा अनि हातमा टाटु र अङ्ग्रेजी गीत सुन्दा मैले ठट्टा गर्दै ड्राइभर दाइ त `मोर्ड्न ड्राइभर´ पो रहेछन् भन्दा लजाए। गाडी घुमाउंदा एकपटक गाडीको चक्कालाई ड्राइभर दाइको कलाले बचाए। हामी जोगियौं। केही दिन अघि मात्र पनि ड्ब्बा दुर्घटना भएर केही मानिसहरु मरेका रहेछन्। यस कुराले त हामीलाई पटक पटक झस्कायो। कालिकास्थान नआउंदासम्म यस्तै हो भन्दा हामी तर्सिरहन्थ्यौं। सानो रोड, हुस्सुले छेकिएको रोडमा कसरी चलाउनुहुन्छ त दाइ भन्दा उन्ले आफूलाइ बाटो कण्ठ भैसकेको कुरो सुनाए। अनि यस्ता रोड्मा चलाउन डर लाग्दैन भन्दा भाग्यको खेला हो भन्दै आशावादी देखिन्थे। हुस्सुले छेकिएका रोडलाई मैले कति घुरेर र ध्यान लगाएर हेरे, सम्झंदा पनि अचम्म लाग्छ। हामी त झन् चुप। यसरी ठूल्ठूला पहिरो, साँघुरो रोड अनि हुस्सुले छेकिएको रोडबाट हामीलाइ ड्राइभर दाइले हामीलाई गुम्बा डांडामा ओराले। अनि पछि अर्का एक ड्राइभरले सुमो रोकाइदिए। हामीले हाम्रो भाडा दिंदा, लिनै मानेनन्। ओर्लिएर दिंदा पनि मानेनन्। हामीले काठमाडौ आएर भेट्ने कुरा राख्यौं। नम्बर लियौं। बाटो भरी उनैको चर्चा गरिरह्यौं। ड्राइभरको जिन्दगी कति कठिन छ भनेर बुझ्न त्यतिले हामीलाई प्रस्ट बनायो।
इतिहासमा दोहोरिन पनि सक्छ भन्ने कुरो पढिएकै हो। जब माङ्गिन गोठमा दोस्रो दिन राती ९ बजे पुगियो, तब त्यहांका होटेलवाला दाइसंग पुराना कुराहरु स्मरण गराउन पुगियो। यसैगरी रातमा ठूलो झरीमा हिंडदा ६ वर्ष अगाडी तीन जना ट्रेक जांदाको कुरो सम्झना गराउनुभयो। त्यतिबेला म्यापमा हेर्दा फेदी र घोप्टे बीचमा हेलिप्याड र होटेल देखाएको कारण ती तीनजना साथीहरुले यात्रा गरेका रहेछन्। तीनै जना राती घन्टौं हिंड्दा पनि रहेछन् पनि कतै घर नदेख्दा अत्तालिएका रहेछन्। फेदी पुगीसकेर पनि त्यहां होटेल छ भन्ने थाहा नपाउँदा उनीहरु फेरि घोप्टे फर्किन लागेछन्। तर मुसलधारे पानीले एकजना यादव थरका साथीलाई ठाडो पानीले उछिट्याएछ.....। यहि कुराले हामीलाई पिरोल्न थाल्यो जब हामी थारेपाटी बाट फेदी यात्रा गर्न थाल्यौं। पानी कडा पर्यो। एकैछिन लजमा च्या खाएर हामी उता लाग्यौं। घोप्टे पुग्दा ५ बज्न लागिसकेको थियो। पानी रोकिने कुनै छांटकांट देखिएन। निक्कै सचेत हुँदै अघि बढियो। आफू पथप्रदर्शक हुंदाको जिम्मेवारी निभाउनै पर्ने, उनीहरुको आसलाई कायम राखिराख्न हौसला दिइ राख्नै पर्ने। अब बिस्तारै सांझ पर्न थाल्यो। मोबाइलमा चार्ज सकिएको, टर्चलाइट एउटा निक्कै मधुरो भैसकेको भन्दै मैले सबैलाई सचे बनाउन प्रयत्न गरें। घोप्टे सम्म बब्लु जसो तसो पुग्यो। अनि च्या र बिस्कुट खाएसी उमा अलिक उर्जा आयो। उ र अभिषेक निकै कम्जोर भैसकेका थिए हिंड्ने सवालमा। घोप्टेबाट सांढे १ घन्टाको हिंडाइपछी सांझ छिप्पिन थाल्यो। अब डरले पनि सांझसंगै ठाउँ लिन थाल्यो। बाटोमा अनगिन्ती झरनाहरु आए, ६ वर्ष अगाडी छांगोले लिएको कथ्यले मनलाई झस्काइरह्यो। तलतिर जोड्तोडले बगेका ठाडो खोलाको बर्खे वेग तिब्र छ। सुन्दा कहालीलाग्दो। अनि अन्तिम छांगालाई पार गर्नु अघि आयो एउटा विशाल पहरा। मनमा अनेकन तर्कना खेलाउंदै गर्दा, त्यो पहरा माथी नै पुगियो। रात पर्न नै लाग्नु, त्यो भीर पनि पुग्नु अनि बाटो नदेख्दा त्यो भीरबाट तल झन्डै खसिएनछ। माथीबाट मैले भीरमा सचेत हुनुभन्दै धेरै बेर कराएं। अभिषेक त्यसैगरी अड्किएछन्। अनि त्यसपछी म, एलिक्स, आवरण र अभिषेकले काठको फड्के पनि तर्यौं। बब्लु र सुजनलाई कुर्यौं, आउंदै आउंदैनन्, संगसंगै आइ नपुग्दा मन मनै अती रिस पनि उठ्यो। पछि सुजनलाई देख्दा आस जाग्यो तर बब्लु फेरि देखिएन। बाक्लो हुस्सुले एकसाथ छोप्यो। ती डा यादवको याद आयो। बब्लु सम्झिएं। सुजन फेरि खोज्न फर्किए। धन्न बब्लु पनि बिस्तारै आइपुगे। त्यो अँध्यारो हुस्सु रातमा कुनै अप्रिय घट्ना घट्न पुगेन। हामी भित्र मडारिएका काला बादलहरु फेदीको होटेलमा विश्राम गरेसंगै बिट मारे।
गोसाइँकुण्ड यात्रामा, फेदी देखि सुर्यकुण्डसम्मका पदमार्गमा फालिएका चाउचाउ, बिस्कुट, चक्लेट्का प्लास्टिकहरु टिपें, बोतलमा खांदेर टिप्दै हिंडे। पानीमा रुझ्दै टिपिरहें, बोतल भरियो, तर फोहोर के सकिन्थ्यो र? एक त यी फोहोर गर्ने अरु कोहि विदेशी थिएनन् न त त्यहांका स्थानीय नै। थिए र हुन् त केवल पढेलेखेका पदयात्री, तपाईं हामी जस्तै `बुज्रुक´ हरु! राष्ट्रिय निकुञ्जबारे हामी बेखबर नै हौं त? पढेर ज्ञान् बटुल्दैमा के हुन्छ जब के गर्ने, के नगर्ने भन्ने नै विवेक नै छैन।
`काठमाडौ´लाई नदुख्ने `हिमाल´हरु !
यात्रामा मानिसहरुको उत्तिकै खोजी हुंदोरहेछ। शहरमा कमिला जस्ता मानिसहरुसंग ठोकिन्नु परिरहंदा केही टाढा जान मन हुने। तर यात्रामा एक्लो हिंडीरहनुपर्दा कोहि भेटिए पनि हुने, गफ गर्न पाइन्थ्यो नि भन्ने लाग्ने। विशेषत मान्छेहरु भएर नै हाम्रा यात्राहरु यात्रा भएका रहेछन्। नत्र रुख, बिरुवा, जनावर हेर्न त धेरै निकुञ्ज थिए नै। वास्तवमा मानिसहरुको जीवनशैली, आनीबानी, बोलीचाली, हेर्न पनि हामी लम्किएका हाउं। यात्रा विशुद्ध हिमाल र कुण्ड हेर्न मात्रै पनि थिएन।यात्रामा भेटिएका मानिसहरूसंग गफ त भै नै हाल्थ्यो। कतै आफैले सुरुवात गरियो, कतै ती विदेशी का स्थानियले नै। यात्रामा थकानको अनुभूति कम गराउन संवादले पनि उत्तिकै भुमिका खेल्यो। विशेषत इरानका पर्यटकहरुसंग चाहीं लामै कुराकानी गरियो। अरुसंग चाहीं नमस्ते आदानप्रदान, अनि ५/७ मिनेट विभिन्न विषयलाई सतही टेकिन्थ्यो। मलाई छक्क पार्ने पर्यटक।चाहि यी स्विस नागरिक थिइन्, जो काठमाडौ-धुन्छे-गोसाइँकुण्ड-कुटुम्साङ्ग-चिसापानी एक्लै यात्रा गरिरहेकि रहिछिन्।अनि किन एक्लै, जङ्गली जनावर देखि डर लाग्दैन भन्ने मेरो प्रश्नपछी, उनीले भनिन्, `म पनि तिमीहरु जस्तै स्विजरल्यान्डकोपहाडमा हुर्किएकी केटी हुं...!´ अब केही बुझ्नुपर्ला र? हामीलाई यहि उत्तर काफी। कतै स्थानीयसंग ३०/४५ मिनेट संवाद गरियो। विशेषत स्वास्थय सेवा र केटाकेटीलाई विद्यालयको निक्कै समस्या देखियो। सबै ठाउँको साझा समस्या चाहिँ स्वास्थ्य सम्बन्धित कुराहरु नै रहेछन्। काठमाडौबाट यति नजीक कै ठाउँमा पनि स्वास्थय सुविधा पाउन ३/४ घन्टा तल हिंडेर आउनु पर्ने रहेछ। गर्भवती महिलाहरु अकालमा मरेको सुन्नु कुनै नौलो होइन रहेछ। यो सुन्दा मन अत्यन्तै दु:खी भयो। निकट भविस्यमा हामी के गर्न सक्छौ भनेर कुरा गर्यौ। १००'ज ग्रुपका संस्थापक अध्यक्ष बब्लु गुप्ताले स्वास्थ्य अभियान गर्ने वचन दिएको छ। मेरा पनि सपनाहरु जोडिनेछन् बिस्तारै।
बाटो नबिराउन अहम् भुमिका खेलेको त्यो पात्र !
एउटा यात्रा सफल हुन, मानिन ससना कुराहरुको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ। हाम्रो गोसाइँकुण्ड यात्राको अभिन्न मित्र बन्न पुगेको एउटा सहयात्री मोबाइल एप पनि हो। तलको तस्बिरमा मोबाइल हेरेको देख्दा अरु केही नभएर विशुद्ध एप बाट उचाई र पुग्नुपर्ने गन्तव्यको मार्ग खोजिएको मात्र हो।
हिमाली पदयात्रा गर्दा जिपिएस अल्टिच्युड नाप्ने एपहरु पहिले पनि प्रयोग गर्ने गर्थे। पुग्ने ठाउंको समुन्द्र बाट पर्ने उचाई सम्झियो अनि यस्तै जीपिएस बाट चल्ने एप बाट उचाई नाप्यो अनि उचाई नाप्दै जाँदा यतिमा पुगियो, अब यतिमा पुगिन्छ भनेर कल्पना गर्दै हिंड्दा आस आइरहने। पदयात्राको एउटा अभिन्न मित्र पनि।
अहिले त झन् सजिलो खालको अफलाईन चल्ने एप आएको रहेछ म्याप्स.मी कुनै त्यस्तो एप जसले सांच्चै मन जित्यो हाम्रो। थान्कुनी भञ्ज्याङ्बाट उक्लिएको दिन हामी ५ बजे कुटुमसाङ्ग पुगेका थ्यौं। त्यो रात माङ्गिन गोठ पुग्न सके, अर्को दिन फेदी पुग्न सकिन्छ र गोसाइँकुण्ड आरामैले पुगिन्छ भन्ने मनमा थ्यो। पानी यसरी पर्यो कि रोकिने छांट छैन। स्थानियलाई गन्तव्य पुग्न समय सोध्दा कहिले निश्चित नहुने, त्यसो भएसी यो याप्सले मजैले काम गर्यो।
कसरी काम गर्यो म्याप्स.मी ले?
हामी कुटुमसाङ्ग बाट साँझको ५ बजे हिंड्यौं, सबैले त्यतै बास बस्न भने तर हामी त्यहां बसे, हाम्रो यात्रा लम्बिने र बजेटले नभ्याउने डर थियो। तपाईंहरुलाई ४/५ घन्टा लाग्छ भन्दै थिए होटेलका दाईभाउजुहरु, लगत्तै हामी हिंड्यौं। पानी झमझम परिरहेकोछ। आर्मी ब्यारेकसम्म तेर्सै हिडेपछी अग्ला-अग्ला रुख बीच ठाडो उकालो, हुस्सुले लुकामारी खेलिरहेको माहोल, कतै कतै आइपुग्ने पाटन बीच हामी उकालो चढिरह्यौं। साथीहरु मलाई उचाई र समय सोधिराख्थे। तर म्याप्स.मी ले समय उत्तिकै देखाइरहन्थ्यो, विशेषगरि बब्लु, यत्रो १ घन्टा चढ्दा मात्र १० मिनेट टाइम घटेको भनेर मलाई बारम्बार प्रश्न गरिरहन्थ्यो? म पनि यो Apps ले देखाएको समय सहि हो भन्थे। रातमा निक्कै माथी पुगेसी बाटो बिराइएलाझैं भयो। दुई वटा बाटो छ, अन्धकार छ, झमझम् परिरहेको पानीको आवाज मात्र छ। उपाय केही भएन, अनि मैले मोबाइल निकालेर उचाई नापे, अनि म्याप्स.मी बाट बाटो पत्ता लगाएं, सबैलाई संगै हिंड्न लगाएं। म्याप्स.मी लाई जुम गरेर संगै हिंड्दा तपाईं हिंडेको बाटोको यात्रालाई एरोले गन्तव्य तिर तेर्साउंदै हिंड्छ। आखिर सहि बाटो पनि देखायो। हामी अन्ततः माङ्गिन गोठमा रहेको होटेलमा पुग्यौं। त्यहां पुग्ने बित्तिकै होटेलका दाईलाई आजको धन्यवादको पात्र म्याप्स.मी भनेर भनिरहे। यात्राको ४ घन्टे विवरण सुनाएं।
तपाईंहरु पनि हिमाली या अन्य कतै पदयात्रामा निस्कंदा यो म्याप्स.मी नछुटाउनुहोला। अफलाईन चल्ने यो म्याप असाध्यै उपयोगी छ भनेर तपाईंले अनुभूति गर्नुहुनेछ। त्यो रात हामीलाई सहि गन्तब्यमा पुर्याउन अहम भुमिका खेल्ने म्याप पनि हो। अघिल्लो यात्रामा हराउदा हामीले खोलाको छङ्छङको आवाज सुन्दै दिशा पत्ता लगाएको ताजै स्मरण छ।
यात्रामा के के बोक्ने?
पानीको बोतल, रेन्कोट, टाउको दुखाइ कम गर्ने औसधि, लसुन, चप्पल लगायत आफूलाई भारी कम हुने कुरा बोक्दा ठिक हुन्छ। होटेलहरु ३/४ घन्टाको दुरीमा मात्र छन्। जति माथी गयो, होटेल उति नै अलि महङ्गो छन्। हुन पनि लाने साधन छैन, महङ्गो पर्नु स्वाभाविक हो। ६०००/७००० पैसा बोके सुन्दरीजल, चिसापानी हुँदै, गोसाइँकुण्ड बाट काठमाडौ आइपुग्दा सम्म पुग्छ। एक्लै वा दुइजना भन्दा ४-६ जनाको संख्या ठिक हुन्छ।
दीपकिरण खड्का
नयाँ बानेश्वर, काठमाडौ