Tuesday, January 24, 2023

बादलको लुकामारी

प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै बहिरहेको बादल ! नदी मात्रै होइन बादल पनि "अनुगच्छतू प्रवाह:।।" मा बहेको छ- आखिर फरक पनि के छ र? एउटा उत्तर देखि यात्रा गर्छ, अर्को उत्तर हिँड्छ, दुवैले भेट्ने आकाश एउटै छ, एउटा बग्छ अर्को बहन्छ, एउटा वजनदार देखिन्छ अर्को हल्का (!), एउटा सुसाउँछ अर्को शून्य छ ! आकाशमाथी बादल बनेर हिँड्न आफैं हल्का कहाँ होला, भुइँमा नदी नै बनेर दौडन पनि हल्का कहाँ? तर कर्मको कुरो, कोहिलाई बहनु छ, कोहिलाई बग्नु छ, त्यहाँ गुनासो होइन, लालित्यका आफ्नै रङ्गहरु भरिएका छन् ! नदीले उड्न पाइन भनेन, बादलले बग्न पाइन भनेन ! भनेको भए सम्भावित के हुनसक्थ्यो; बादल बग्थ्यो, नदी उड्थ्यो; नदी उडेर समुन्द्र पुग्थ्यो, बादल बगेर हिमाल पुग्थ्यो (?) सभ्यातहरू बादलले बन्थे, खेती बादलले गरिन्थें, अनि म बादलमा पौडिन्थे, बादल तरेर पल्लो गाउँ पुगिन्थ्यो, बादलमाथी पुल हुन्थ्यो; यता म नदी हेर्न कैले मेरो आँगन कैले युनान आउँथे- र त्यो संसारी हो ! सोच्न त पाइयो, बादल बगेको, नदी उडेको- सत्य के छ र ब्रह्म बाहेक वा त्यो सापेक्ष एक मानक न हो ! सम्भावनाको कुरो गरें, सम्भावनाको संसारमा हुन्छ र हुँदैनको विभाजनरेखा म कोरुँ पो किन? बगेका र बहेका सब सम्भावना, सत्य र असत्य सब सम्भावना ! सापेक्ष र निरपेक्ष सब सम्भावना ! संसारी नै एक सम्भावना ! कैले नेपथ्यको कैले केन्द्रको ! केन्द्र र नेपथ्यको सिंगौरीको खेल- नियतिको खेल ! संसारी कैले वनचरो हो, कैले साइबेरियन चरो हो ! तर साइबेरियन चरोजस्तै बादलसङ्ग नक्सा हुन्छ कि हुन्न होला हगी? बादलको आफ्नै संसार छ, आफ्नै रूप छ, आफ्नै रङ्ग छ, आफ्नै ताल र चाल छ ! सागरले बिसौनी वा चौतारीको भुमिका खेल्ने न हो, आखिर बादलले बोकेको त्यै बिसौनीको भारी न हो, त्यै नदीको पानी न हो, यहि सांसरिक चक्र न हो?

No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...