"उत्थानको लागि इच्छा र साधना चाहिन्छ; पतनका लागि इच्छा मात्रै भए पुग्छ रे। तर म मान्दिन। विदेश आउँदा नाल्मा डाँडाबाट जब आफ्नो गाउँघरको अन्तिम झलक हेर्छु त कति इच्छा गर्छु म त्यहीँको आङमा अटाऊँ, त्यस पहाडी समाजको ठूलो पखेटाले मलाई बिरानो देशमा नबिलाउँदै छपक्क छोपिदियोस्। तर चिताउँदैमा यति वर्षको साधनाले सङ्गालेको शिक्षा-सभ्यता मिल्काएर म सङ्लो लेकाली बन्न सक्तिनँ। त्यसैले मलाई लाग्छ मात्तिएको देश र उछिट्टिएको मानिस एकै हुन्, एउटा टापुमा एक्लो। अझ टाकुराको फेद हुन्छ, द्वीपको प्रतिबिम्ब हुन्छ, तर मेरो पृष्ठभुमि नै छैन। पर्वतेले पढ्यौ भन्दैमा प्रवासी ठानिनुमा के अतियुक्ती?" डा. हर्क गुरुङको यो वाणीलाई मैले बारम्बार पढेको छु, यता पाइला टेक्नु अघि मैले केही ठाउउँहरु र मावल-घर यात्रा गर्दै यसैगरी देउरालीहरुलाई भाकेको थिएँ, डाँडाहरुबाट फाँटहरु नियालेको थिएँ, पहाडहरुको प्रतिबिम्बमा आफूलाई पाएको थिएँ, नदीहरुको गतिशीलतामा आफूलाई बगाएको थिएँ, खैर ती अनुभूतिहरु भन्दा अरु के होलान् र? जस्को स्मरणमा एउटै अर्कै स्वर्गानुभूती छ।
"कर्मको बिरुवा जहाँ उम्रीन्छ, त्यहाँ लालित्यले झाङ्गिनुपर्छ…" भन्ने वाणी सरल छ तर गहिरो अभिव्यक्त राखेको छ, मेरो जीवन-व्याख्यामा। तीजको दिन मैले एमबीबीएस अध्ययनको लागी मेरो माटोलाई केहि समयलाई बिदा मागेको थिएँ, आज चीनको च्यामुस् आइपुगेको ट्याक्कै ६ महिना पुगेको छ। आजै फुसफुसे हिउँहरुले स्वागत गर्नु, पढाइ उस्तै शिर्षकको हुनु, सपनीमा लाओशिर् सँग चाइनिजमा गफ हुनु संयोग नै हो। आइन्स्टाइनले भने जस्तै, हामीले अनुभव गर्न सक्ने संसारको सबैभन्दा सुन्दर कुरा रहस्यमय छ। त्यो मानिस; जो रहस्यका भावनाहरूसँग अपरिचित छ, जो एकछिन रोकिएर रहस्यप्रति छक्क पर्न सक्दैन, त्यस्तो मानिस मरेतुल्य हुन्। उसका आँखा खुलेर पनि बन्द छन्। सायद यी जीवन संयोगहरु जुर्नुलाइ मैले रहस्यमय पो माने या? आफैमा ती रहस्यमय नै पो हुन् कि?
समय गतिशील छ भनेर हामी आज बाँच्नेहरुले मात्रै होइन हिजो यहि धर्तीमा जन्म लिइसकेकाहरुले पनि समय र समुन्द्रको छालसंग तुलना गर्दै अनेकन् साहित्य सिर्जना गरिसके, अनेकन वाणीहरु भनिसके। समय आफ्नै गतिशील यात्रामा छ। समुन्द्रमा त छाल आइरहन्छ यसलाई पनि पर्खिने हो र भन्दै मैले अफ्रिकाकै एउटा सुन्दर द्वीपबाट आएका अफ़्रिकन डा. रसिद हसन अलि खानलाई प्रश्न सोधेको थेँ। उनी भन्थे, "म सानै हुँदा प्रत्येक दिन बिहान आउने समुन्द्री छालहरु हेर्न जान्जिबारको त्यो समुन्द्री किनारामा पुग्थें। आज पनि त्यो उत्तिकै सम्झना छ।´ आखिर समयलाई मैले यति धेरै व्याख्या किन गरिरहनु पर्दो हो र? तैपनी प्रसङ्गहरुलाई छुट्याउनु पनि त भएन।
सुरुका दिनहरूमा कुनै पनि ठाउँ नौलो हुन्छ भन्थे भन्नेहरु। तर आफूले नै नभोगेसम्म त्यो अन्तर्मनमा गएर नठोकिने रहेछ। अरुका भोगाई, अनुभूति पढ्दा, सुन्दा गहिराईमा पुगेर आफूलाई त्यही पात्रमा राखेर हेरिए पनि `ऊ´ नै बन्न भोग्नु नै पर्नेरहेछ। घरभन्दा धेरै टाढा, क्षितिज भन्दा धेरै पर, नौलो ठाउँ, नौलो भाषा अनि नौलो हावापानीमा आफूलाई बानी लगाउनु ढुङ्गा चपाउनु सरह हो। आफ्नै देशमा जन्मेर, हुर्केर, बढेर राम्रा कुरा सिक्न त वर्षौं लाग्छ तर लगभग सबै वातावरण नै फरक भएको ठाउँमा पुगेर आफूलाई अभ्यस्त बनाउन प्रयास गर्नु जीवनको एउटा सिकाईकै पाटो होला, सायद। ती बाटामा हिँड्दा चाइनिज खानाको बास्नाले के तान्थ्यो, अर्कै के हो के हो लाग्थ्यो। भित्ता र फ्लेक्समा लेखिएका अक्षर देख्दा डा. सन्तोष दाईलाई बारम्बार सोध्थेँ, अनि तिमीहरुले पनि जान्ने दिन आउँछ भन्दै ढाडस दिनुहुन्थ्यो। सुरुका दिन बजार लैजाने, त्यताको जीवनशैलीलाई सजिलो कसरी बनाउने, के कता गर्ने लगायत सबै कुराहरुमा उहाँले भन्न, सिकाउन नाइँनास्ती कैले गर्नुभएन। उताबाट आउँदा कसरी के गर्ने हो भन्ने चिन्ता केही गर्नु परेन। राम्रा कर्म गरे राम्रा मान्छेको सायद नपाउने कुरो अपवाद मै पर्ला। बाहिर निस्कँदा देखिने चाइनिज अक्षर, शब्दहरुमा आँखा परिहाल्थे, ती अक्षर न अङ्ग्रेजी जस्ता न हाम्रा देवनागरी लिपि नै जस्ता न हाम्रा आँखाले कैले भेउ पाएको लिपि नै? कैले पढेर जान्ने होला हुटहुटीले मलाइ सधैं अघि बढ्नुपर्छ भन्ने हेतुले जगाइरहन्छ, हुन त सिकेका, जानेका कुरा भन्दा व्यक्तिको जीवनमा अरू के नै सम्पत्ति छ र? जाने मेरो भाषा हुन्छ, नत्र मैले नजानेको कुरा मेरै भए पनि हुनुले के अर्थ राख्ला र?
सुरुका दिनहरु सजिला कहाँ हुन्छन् र? विशेषत: मलाई घर, परिवार, आफन्तको यादले झस्काइरहन्थ्यो। मन अमिलो भएर आउँथ्यो ती दिनहरुका सम्झना स्मरण हुँदा। घर भन्ने चीज वस्तु मात्रै होइन रहेछ भावनाहरु रहेछ। नत्र सुन्दर हुने वस्तुले मात्रै तान्ने हो भने त च्यामुस् मा हिउँ परेको समय र यताको शरद् वा अरु कुनै सुन्दरताले तान्नु पर्ने हुँदो रहेछ। यात्राको सुन्दरता व्याख्या र अब यतै बस्नु पर्न भनेर मनोभावनाले गर्ने व्याख्याहरु फरक हुँदो रहेछ। सुन्दरतालाई यसो भन्दै गर्दा सापेक्षताबाट तौलिएको होइन किनकि यहाँ ती साथीहरु छन् हामीले मरुभूमि भन्ने ठाउँहरुबाट आएका मित्रहरू पनि भेट्छौँ, जो ती जन्मेको भूमिलाई अपार प्रेम गर्छन्, सायद यसैले घरहरु ढुङ्गा र माटोको थुप्रो मात्रै होइन यो त भावनाहरुको संग्रहालय पनि हो कि?
आज भाषा कक्षामा (时间过真快的- समयको गतिशील छ) शिर्षक पनि पढ्ने संयोग जुर्यो अनि सम्झिएँ त्यो ६ महिना अगाडि। आफ्ना सपना पूरा गर्न नै मैले गरेका हरप्रयासहरु जसको प्रतिफल स्थितिले सम्भव/असम्भव दुबै कुरालाई उत्तिकै बोकेको थियो। आखिर सम्भावना तिनै असम्भव हुन सक्ने स्थितिहरुको बुइँ नचढी नहुन पनि त सक्छ। संसारका कुनै भाषा पनि दोस्रो भाषाको रूपमा सिकेर बोल्नेलाई उत्तिकै गार्हो कुरो हो। चाइनिजको लेखाई हान्ज र ध्वनीले गर्दा गाह्रो भनिएको हुँदो हो तर पनि विश्वकै कठिन भाषा भनेर चाइनिज भनिन्छ पनि, स्वाभाविक कुरो नै हो। तर निरन्तर अध्ययन, सिकाई र मिहेनतमा आफ्ना इच्छाहरुको फ्युजन गरे कुनै पनि कुराहरुलाई वा भाषा लाई आफ्नो सम्पत्ति बनाउन सकिन्छ भन्ने निर्क्योल निकाल्न सकिन्छ। भाषा नजानी त्यो देश के जानिएला होइन र? चीनले भाषालाई दिएको प्राथमिकतालाई हाम्रो देशका उत्तराधिकारीहरुले स्मरण गर्नुपर्छ।
"जब म विदेशमा हुन्छु तब बोलचित्र र नाटक हेरिरहेको हुन्छु; जब म स्वदेशमा हुन्छु, म जीवन अनुभव गरिरहन्छु...तर ठाकुरबाबाको देखासिकी गर्ने सबै सिकारु विश्वप्रेमी र विश्वसिद्धान्ती लेखक र कविहरु भुल्दछन् कि विश्वप्रेम भनेको चीज स्वदेशमै विकासिन्छ; र जसले आफ्नो जाति, आफ्नो राष्ट्रको प्रेम राख्न सक्दैन, त्यसले विश्वप्रेम राख्छ भन्नू ताती गर्न सिक्नुअगाडी दर्गनु जान्ने हुनु मात्रै हो।" देवकोटाको यो लेखाइले मलाई उर्जाशील अनुभूती गराउँछ, उताबाट आउँदा केही अध्यात्मिक र साहित्यीक पुस्तकहरु पनि साथमा थिएँ। मलाइ देशप्रेम मेरै माटोमा विकास भएको थियो, विदेश आएर होइन। बरु यताबाट चियाउन पाउनु सौभा रहेछ। देशमा के गर्दा कस्तो हुन्छ भन्ने सानो रेखाचित्र यहाँबाट बनाउन्स सकिन्छ। विदेशमा आएर मात्रै स्वदेश प्रेम गर्नु भनेको चाहिँ बैमौसमी तरकारी फलाउनु मात्रै हो, देशलाई जहाँ गए पनि सदाबाहार माया गर्ने मन स्वदेशमै उम्रीनुपर्छ।
यो बीचमा संवादहरु निक्कै पातलियो। बाआमा, परिवार, दिदी भिनाजुहरु र केही साथीहरुसंग बाहेक मेरो संवाद ऐले लगभग छैन। सबैले बुझेर पनि होला, यता वीच्याट भन्दा बाहेक अरु बाट कुरा गर्न अलिक गार्हो नै छ। बा/आमा, काका काकीहरु संग बोल्न पनि कैले त महिनौं कुर्नुपर्छ। मूलतः आमासंग बोल्दा उहाँ अझै पनि मलाई अति सम्झनुहुन्छ, फोनका प्रत्येक संवादमा उहाँको आँखा रसाइहाल्छन्, सम्हालिनुहुन्छ। बा त रामको बनवास यात्रा सुनाएर प्रेरित गर्नुहुन्छ। अनि आमालाई भन्छु, पढ्न मात्रै आको त हुँ, राम्रो पढेर फेरि उतै आइहाल्छु नि। मेरो यहाँ राम्रो छ, कैले चिन्ता नमान्नु है भन्छु तर माया सधैं उँधो हुन्छ भन्छन् नि बा/आमाले गर्ने माया हामीले महसुस गर्न हरप्रयास गरे पनि उहाँहरुले गर्ने त्यो अगाध प्रेम कस्तो छ भनेर म व्याख्या गर्न सक्दिनँ। म उहाँहरुप्रती सदा नतमस्तक छु। जीवनका ईश्वरहरुप्रति!
मूलतः चीनमा फेसबुक प्रतिबन्ध छ। म सधै चलाउन्न, भिपीएन बाट बेला मौकामा चलाउँछु। प्रतिबन्ध लागेकोले होला फेसबुक म्यासेन्जर बाट भिडियो कलहरु हुन्न। संवाद पनि पातलिएको छ। समय उस्तै सधैं कहाँ हुदो रहेछ र? ऐले पढ्ने समय पनि हो, र यो समय पैले जस्तै अरुसंग बोल्न, संवाद गर्न, भेटघाट गर्न नभए पनि आफूलाई एउटा अनुशाशीत मार्गबाट सपनामा दृढ हुनुछ। मलाई यहाँ सम्म आइपुग्न प्रेरित गर्ने मेरा हजुराबा/आमाहरु, बाआमा, काका काकीहरु, दिदी, भिनाजुहरु, दाइहरु, भाइहरु, साथीहरु, आफन्त, शुभचिन्तक र सामाजिक सञ्जालमा गाँसिनुभएर मलाई सदा हौसला दिने मनहरुप्रती म आभारी छु। सिर्जना कसले गरे भन्ने नखुले पनि विजयकुमारले ट्विट गरेको एउटा कविता तल प्रस्तुत गर्दै सबैको आउने दिनहरू शुभ रहोस्, मेरो यहि कामना।
"पछाडी साथी थियो
अगाडी थियो लक्ष्य
रोकिएको भए शिखर छुट्ने
हिँडे साथी छुट्ने
शिखरको चाहना पनि
साथीको माया पनि
रोकिएको भए म अतृप्त मर्थेँ
हिँडेको भए वियोगले मर्थेँ
तिर्खा थियो भयानक
तर पानीमा विष थियो
पिएको भए विषले मर्थेँ
नपिएको भए तिर्खाले
तिमी नै भन म के गर्थे?"