Monday, November 29, 2021

बा अनन्त यात्रामा निस्किनुभएको पनि ६ महिना पूरा भएछ। मानिसको कर्म, समयको गति, सबै सबैको आफ्नै लय ! त्यो लयबीच प्रारब्धकै कर्ममा रपिएको बिऊ, टरेर कहाँ टर्ने रैछ र? मृत्युको मिठो यात्रामा लम्किएको मानिसले जीवनको जरो बिर्सने बिऊ कहाँ छर्दो होला हगी? बा, तिमीले पकाएको त्यो मकैको ढिंडोमा दूध हालेर मस्त मुसेर सुरुप्प सुरुप्प पार्दै खाएका यादहरु यी मस्तिष्कबाट कहाँ हराएका छन् र? हर मेलाका थकानका कामहरु पश्चात् सपरिवार बसेर ‘चिनियाँ भेटघाट’झैंको उत्सव मनाएको पल, जीवन यात्राका तिम्रा अन्तिम दुई जन्मदिनमा रमाएका पलहरू आज केवल मस्तिष्कमा मात्रै बाँचेका छन्। बा तिम्रो अभावमा पनि हामीलाई साथ दिने र माया गर्ने मनहरु पाएको छु; ती पवित्र मनहरूले दिएको सप्रेमको म सदा ऋणी हुनेवाला छु। तिम्रा स्मरणले मलाई सदा ऊर्जाशील बनाईरहनेछन् ! तिमी जस्तै यात्री बनेर अनन्तको हिमाल चढ़नुछ बा ! जहाँ छौ, मृत्युको थकान मेटनु बा ! यसो मेसोमा गम खान्छु, “त्यो मृत्यु कति प्रिय साथी होला हगी जसले अंगालेपछी अर्कों साथी रोज्न नपर्ने?” जीवन यात्रामा जीवन साथीको महत्त्व बल्ल बोध भएको छ बा मलाई ! मेरा जीवनसाथी त छैनन्, आमाको अनुहार चियाउँदा कता कता तिम्रो अभावका चित्रहरु प्रष्ट देख्छु। आमाको ‘सानो भूगोल’मा बाँचेको त केवल तिमी र हामी मात्रै पो रहेछौं ! देवकोटाको ‘के नेपाल सानो छ?’ जस्तै सिंगो परिवार अट्ने मन के सानो होला? सोध्न मन छ ‘के आमाको मन सानो छ?’ प्रत्येक बा शब्दको उच्चारणमा भक्कानिने आमा, हर रात सपनीका ऐंठेनमा आऊने बाको यादले भिजेका आँख़ाका गहहरू, म चीन बस्दा मेरो यादले तड़पिएकी आमा, तिम्रो अनन्त यात्राले कुन गहिराइको जीवनमा कुन पीडा दिएको होला? खुशीले उचाई दिएझैं पीडाले गहिराई दिंदा हुन्? बा जीवन साथी जत्तिकै प्रिय साथी को रहेछ र? त्यो भियतनामीले खिचिदिएको तिम्रो र आमाको हँसिलो, रसिलो तस्बिर हेर्दा त्यो तस्बिरको मान्छे जुरुक्क उठेर आऊँछ झैं हुन्छ ! मैले आमालाई हामी सदा असल हुन्छौं, तिमी एक्लो हुन्नौ भनेर प्रतिज्ञा गरेको छु बा ! हामी दुईभाई हेरेर हामीले थोरै राहत मानेकी छिन् ! प्रत्येक दिन तिम्रो नाममा पानी चढ़ाऊने सहयात्री, तिम्रो यादमा रूने यी सप्रेमीलाई सपनामा भए पनि दर्शन दिनु बा ! २५ वर्षे जोसिलो उमेरमा राजनीतिको चमकता र नैतिकता को उदाहरण देखाएर हेलम्बु भेगका हज़ारौं जनताको ढुकढुकीमा आज पनि उस्तै बाँचेको छौ बा ! ती प्रिय मानिसहरू भेटमा तिम्रो चर्चा गाऊँछन्। हुन त ती हर मानिसले तिमी ज्यूँदा छँदा कटी माया दिए, बाँडे त्यो ऊनीहरूले नै जानुन् तर बा हिजो आज मलाई मरिसकेपछी गाइने आदर्शहरुभन्दा बाँच्दा पाइने गाली-ताली धेरै ठीक लाग्छ, तिम्रो मृत्युपछी तिम्रो नाममा गाइएका सम्मानहरुभन्दा तिमीलाई ज्यूँदो छँदा सम्झीने र सम्मान दिने मानिसहरु प्रिय लाग्छ ! बा, तिमी हामीलाई नै हेर न? घरका धेरै विषयमा सहमत हुँदा सहिलाई सहि भन्थ्यौं, मन परेन भने हुन्न, मन परेन भनेर तर्क गरिन्थें ! यो थिएन कि त्यहाँ प्रेम नै प्रेमको फूल मात्रै फूलेथे, त्यहाँ प्रेम थियो, त्यहाँ विद्रोह थियो, सद्भाव थियो, आक्रोश थियो अर्थात् त्यो एक ककटेल जिन्दगी थियो ! हामी हाम्रा आफ्नै सुखदुःखहरूले ‘झ्याप’ थियौं ! हाक्का हाक्की को जीवन पो जीवन हगी? आँटको अर्कों नाम, धैर्यताको अर्कों नाम, सहयोगीको अर्कों नाम र Unconditional शब्दहरूको गतिलो उदाहरण थियौ तिमी भन्ने अझ बोध हुनछ अचेल ! राष्ट्रका अनगिन्ती मुद्दाहरुका साक्षी, भोगी र अभियन्ता तिमी यो देशको असल र देशभक्त छोरा हौ। “देशको निमित्त तिमेरूले केही गरेर मर्नपर्छ !” यो सल्लाह र सद्भाव यत्तिकै कहाँ आए र? तिम्रा नामले नै हामीलाई हर समय प्रेरित गरून्, बा हाम्रो सदा प्रेम, हामीलाई जहाँ छौं त्यहीबाट चियाऊनु ल ! विश्वप्रसिद्द पर्वातोरोही वान्डा रुट्किविचले भनेझैं जीवन हिमाल यात्रा रहेछ, हामी सबैभित्र चढ़नका निमित्त आफ्नै सगरमाथा छन् रे बा ! संसारका हिमाल नापेको मानिसको कुरो करैले पनि पत्याऊन कर लाग्ने ! फेरी बुद्ध भन्नुहुन्छ जब सम्म विश्वास लाग्दैन तबसम्म मैले भनेको कुरोलाई नि सत्य नमान्नु ! तर वान्डाले भनेका कुरा आफ्नै भोगाइ बनिसकेसी नमानु कसरी हगी? नेल्सन मंडेलाले पनि कतै भनेछन् ‘एउटा पहाड चढिसकेपछि थाहा हुन्छ यस्तै पहाड त अझै चढ़नुछ भनेर !” जब जब हामीलाई चियाइरहने आमा यांग्री पुग्छु, अनि दृश्यावोलोकन गर्छु यस्तै देख़्छु ! अनि जब मनखण्डको सग़रबाट सागर यात्रामा निस्किन्छु तब बोध गर्छु, मानिसको जीवन पहाड़ पनि हो ! तिम्रो बारेमा म हजारौं कुराहरु लेख्न सक्छु तर प्रेम अव्यक्त छ ! मेरा यी शब्दहरु भन्दा धेरै माथी छौ ! अर्कों यात्रामा हामी कहीं भेटिनेछौं, प्रतिक्षामा रहनु बा ! यस्तै रसिलो र हँसिलो अनन्त यात्री बन्नु ! तिम्रो पराक्रम र तिम्रो कर्मले म पक्का भन्न सक्छु तिमी यो अन्नत यात्रामा पनि एक्लो छैनौं ! “जीवन मिल्नु भाग्यको कुरा हो मृत्यु हुनु समयको कुरा हो तर मृत्यपश्चात पनि अरुको मनमा जिउँदो रहनु यो कर्मको कुरो हो !”

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...