Saturday, May 9, 2020

तारा खसेको रात !

'भोलि मावलमा देवाली रैछ, थाहा थिएन। ब्यान कान्छा मामाको फोन आयो। भाञ्जा देवालीमा आउनुपरो भन्नुभारैछ् मैले फोनमा र्‍याली सुनेँ र्‍याली? भनेर भनेँ, होइन देवाली भन्दा दङ्ग परियो। यता दिउँसो जेठो मामाले फोन गर्नुभयो। भाञ्जा देवाली छ आउनु है भन्दा त्याँ गाडी छ आउनु भन्या सुनेछु!' फोनवार्ता यस्तै भएको थियो जसलाई मैले ट्विटरमा लेख्न भ्याएको थिएँ। अब मलाई अरु चिन्ता थिएन मावल कसरी पुग्ने भन्ने मात्रै थियो। चीनबाट फर्किएकै पनि ४ महिना बितिसक्यो, पाइला टेक्न पाएको होइन। घरमा थोरै थोरै केइ सघाउन पाए हुन्थ्यो भन्ने अभिलाषाले पनि हुनुपर्छ घरबाट फुत्त निस्केर कतै हिँड्न मन लागिहाल्दैन। बरु घरमा काम होलो भएसी सल्लाह गरेर निस्किँदा मज्जा लाग्छ। नत्र यात्राभरी प्रश्न मात्रै मनमा आइदिन्छन्।

बेलुका सेरा पुग्छु। घरमा सिकर्मी दाइहरु छन्। उनीहरुलाई भनेर कुखुरो लिन पुग्छु। त्यही बेला सानी बैनी आउँछिन्। जिस्किँदा जिस्किँदै म ती सानी बैनीलाई नाम के तिम्रो भनेर सोध्छु। गज्जपको कुरो यो रह्यो कि उनको अगाडी नाम नै थिएन। मैले सोध्दा नाम फुत्त आएछ क्यार। उसको ममीलाई नि अब बाबू भन्ने नामजस्तै नानी नै राख्दिनु है भन्या थिएँ। यो मीठो प्रसङ्ग पछि म नारायण अङ्कलकोमा पुगेको थिएँ। भोलि मेलम्ची जानुहुन्छ कि नाई भनेर सोधेँ। अङ्कलले जाने भनेसी मनमा एकखाले तरङ्ग आइपुगेको थियो। यो खुशी स्वाभाविक किन पनि थियो भन्दा हामी दशकौं पैले मावलको देवाली मनाउन पुगेका थियौं। मलाई यो पालीको देवालीमा फेरि मावल जानुथियो, त्यो सल्लाघारीमा एकैछिन बालापन स्मरण गर्नुथियो। अङ्कलसँग जाने भैयो। बेलुका जेठो मामाले ड्याडीलाई फोन गर्नुभयो, वहाँहरु नजाने भएसी हामी जाने भयौँ।


भोलिपल्ट कूलपुजा (देवाली), चण्डी पुर्णिमा, बुद्ध जयन्ती, उभौली पर्व, चण्डेश्वरी जात्रा, कुर्म जयन्ती, गोरखनाथ जयन्ती सबै एकैदिन थियो। एउटै पूर्णिमामा सबैको आआफ्नै चालचलन हगि? सुन्दर छैन त? म चाहन्छु हामीलाई बुद्धको आशिष लागिरहोस्, गोरखनाथले राष्ट्र बचाइरहुन्! घरमा रोटी च्या खाएर निस्किएँ। ८ बज्न १० मिनेट हुँदा नारायण अङ्कल पारी आइपुग्नुभयो। ३० मिनेटमा मेलम्ची पुगियो। 'म खाडीचौर जान नपरेको भए माथी नै पुर्‍याइदिन्थेँ।' भन्नुभयो। मेरो लागि यती पनि ठूलो हो अङ्कल भन्दै अङकललाई धन्यवाद दिएँ। एक त लकडाउन अर्को अङ्कलले त्याँ सम्म पुर्‍याइदिनु नै अहोभाग्य भैदियो। मेलम्चीको झोलुङ्गे पूलबाट दीपेशलाई फोन गरे। ऊ कुरेर बसेको रैछ। म सरासर उकालो चढेँ। ४० मिनेटमा मावल नै पुगियो। ढिलो नगरी बाइक चढेर हामी कूल पूजा गर्ने ठाउँ पुग्यौँ। मामाहरु पूजा गर्दै हुनुहुँदो रैछ। हजुरबुवाहरु, मामाहरु, माइजुहरु, दाइहरुलाई एकैठाउँमा भेट्दा खुशी लाग्यो। कोरोना अघि नेपाल आइपुगेछौ भाग्यमानी रैछौ भनेर मलाई भन्नुभयो। मसँग त्यसको उत्तर थिएन, संयोग जो थियो।

सल्लाघारी उसैपनि प्रिय् लाग्छ मलाई। सल्लाका अग्ला रूखहरु, खोटोको बास्ना, पाटनजस्ता ठाउँहरुले मन तान्यो। सानोमा आउँदा चिलाउनेको हाँगामा बसेर सल्लाका पातमा चिप्लेटी खेल्नुलाई मैले सम्झिन मात्रै सकेँ। धेरै कुरो बिर्सेको रैनछु। चिलाउने कै बोटमुनी देवाली चाहिँ किन भएको होला भन्ने जिज्ञासा् रहिरह्यो। वातावरण मस्त थियो, पूजाको धुप बास्ना आइरहेको थियो। मलाई एक्लो नहुन सञ्जीव भाइ साथी गर्दै थियो, दीपेश थियो। राम-लक्ष्मण मामा, रजिन दाइहरु, कान्छा मामाहरु देखि आफूले नचिनेका सबैसँग गफिन पनि भ्याएँ। उता मिलन पनि आउँदै रैछ। झन् खुशी लाग्यो। ऊ राम्रो तस्बिर लिन खप्पिस पनि छ। मेरो मित्र पनि हो। दीपेश लिन गयो। म र सञ्जीव केइ बेर माथी  सम्म परेको सल्लाको बनम गयौं। घुम्यौँ। अब भने बादलहरु मडारिन थाले। मिलन आइपुग्यो। खाजा खायौँ। खिर र पुरी मीठो थियो। मसलदार दूध चिया उस्तै। पूजा सकिन आँट्दा पानी पर्न थाल्यो। हामी रूझ्दै-भिज्दै फर्कियौँ। पुगेसी लुगा फेर्यौँ। दीप्ती र माइजुले भिजेका लुगाहरु धोइदिनुभएछ। निशब्द भैयो, न नधुनु भन्न सकियो न धन्यवाद नै दिन सकियो। आगो ताप्दै ठूली हजुरामा, दीप्ती, दीपा, मिलन, मनिषा, सुस्मिता बैनी र म गफियौँ। माहोल रमाइलो थियो। खाना खाइसकेर केइ बेर म आराम गर्न तिर लागेँ।


रातमा जेठा मामाकोमा खाना खाने भैयो। भाञ्जाहरु सम्झनु हुन्न। भाञ्जाहरु त झोलिको देवता हुन् भन्छन् भनेर जेठी माइजुले भन्नुभयो। फोन मात्रै नगरेको माइजू सम्झिन्छौ हामी भनेँ। मामालाई त गरेकै हुँ माइजू सम्म पुगेन कि? खैर रातमा खाना खाइयो। अनि खाएर डाँडासम्म हिँडियो। गफिँदै बैनीहरुसँग हिँडियो। सम्भवत पैलोपल्ट तारा(?) खसेको देखियो उनीहरुले नि पैलोपल्ट देखेछन्। मलाई चाहिँ कमेट्स लाग्छ हो चाहिँ के हो पत्तो पाइन। जुनेली रातमा जुगल पनि मुसुक्क मुस्कुराइरहेको थियो। फर्केर हामी एकैछिन गफियौँ। नवीन दाइ पनि चीन गएका रैछन। धेरै प्रसङ्गमा रहेर गफियौँ। तास खेल्यौँ। अनि सञ्जिव र म सुत्न पल्लो घर गयौं। म भुसुक्क भएको पत्तो पाइन।

बिहान गुफा जाने कुरो थियो। कारणवश मिलन र म सामेल हुन नसक्ने भयौँ भन्दा सबै निराश भए। भाइ बैनी बोल्दिन भन्न थाले, मामा माइजुहरु नि गए हुन्छ, आज यतै बसौँ भन्न थाल्नुभयो। मैले सबै कुरा भनेसी सबैले बुझेझैँ गरे। एकैछिन बसेर घर फर्कने कुरो गरियो। दुबै हजुरामाहरु बस नै किन आजै जाने भन्न थाल्नुभयो। मन छुट्टिने छँदै थिएन। तर पनि मान्छेको नियती है? ठूलीहजुरमाको एक प्रश्नमा मैले, 'हाम्लाई दुबै हजुरामा प्यारा, दुबै हजुरामा हाम्रै' भन्दा भावुक हुनुभएको थियो। २ वर्ष पछि पुग्दा पनि मलाई चिन्दा म दङ्ग परेको थिएँ, 'कति हँसिला छन्!' भनिरहनुहुन्छ हजुरामा। अनि केइ बेर जेठी माइजुसँग दर्शन गफ गर्दै हामी निस्क्यौँ। हजुरामा बाहिर घाममा हुनुहुन्थ्यो। आउँदा खुशी देखिने मान्छे, जाँदा दु:खी देखिन्थिन्। जानेसँग कस्को के लाग्दो रैछ र?


हामी दाजुभाई गफिँदै ओरालो झरिरह्यौँ। छाडी जान मन थिएन। परिबन्द हुँदोरैछ। मान्छे कतै च्यापिएको हुँदोरैछ। हामी निरन्तर हिँडीरह्यौँ। न्वारमा माइली फूपू हजुरामाको घर पस्यौँ। ठूल्बा-ठूल्यामा, दिदीहरु सबैलाई भेट्दा औधी खुशी भए। दीर्घ बहादुर जो मेरो कुप्रो हजुरबुवा हुनुहुन्छ वहाँको इतिहास सुन्दा छाती धक्क फुल्यो। हामी कती महान पुर्खाको सन्तान रैछौँ त? मेरो न्वारनको नाम दीर्घ बहादुर आउँदा नाम हजुरबुबाको पैले आइसकेको कुरोले अर्कै राखिएको, फूपू हजुरामाले मलाई दीर्घबहादुर देखेको प्रसङ्ग र एमबीबीएस पढ्नुअघी गोसाइँकुण्ड जाँदा हजुरबुवाको श्राद्द कै दिन सुखद खबर पाउनु सौभाग्य थियो। त्याँबाट सबैसँग बिदा भैवरी हामी टार आइपुग्यौँ। लक्ष्मी दिदी, दाइ भाउजुहरु सबैलाई भेट्यौं। खुशी हुनुभयो। यता पनि पल्लो घर तिर कोपिला दिदी, भिनाजु, भतिजी, नाति नातिना,हरुलाई भेट्यौँ। काफल र चिया खाँदै कोरोना, पढाइ धेरै संवाद गर्यौँ। अनि उता सुनिता भाउजुले बस, बस खाजा बनाउँछु भन्दा पनि हामी हतारिएको वेगलाई रोक्न सक्नुभएन। माथी प्रवीण दाइ पनि भेट्यौं। अनि तालामाराङ पुगेर काली दिदी, गनेश दाइ, भाउजू, जीवन, प्रकृतिसँग पनि भेट्यौँ। च्या खाँदै गफियौँ। सबैलाइ घरतिर आउने निमन्त्रणा पनि दियौं। अनि हामी बतासियौँ।

घर आउँदा वीच्याट र तिङ् तिङ् म्यासेजले भरिएका रहेछन्। लिपुलेक बाट मानसरोवर जाने सडक खोलिएको कुरो ट्विट पढियो। मनमा आक्रोश थियो। धन्न, भाग्यवश आएर चाइनिज परीक्षा दिन भ्याएँ। यो अविस्मरणीय दिन बनेको अनुभूति गरेँ। सबैलाई यतैबाट धन्यवाद ! यात्रा चलिरहेछ!

Wednesday, May 6, 2020

प्रिय् काली !
न्यानो माया अनि धेरै सम्झना !

खोइ के भनुँ, तिम्रो मस्तिष्कको कलम अनि मनको मसीले लेखेको पत्र पढेर म नि:शब्द भएँ, शून्यमा शून्य बिलाए सरी, तिम्रो भावसागरमा डुबेछु। मैले त तिम्रो यति असिम प्रेमको कल्पना सायदै गरेथेँ, हुन त उतीबेला हाम्ले प्रीति गाँस्दा भनेका थ्यौँ, यो जुनीमा आफ्नो हुन पाइएन भने कि के भो त, हाम्रो पवित्र प्रेम त जुग जुग बाँच्नेछन्। मैले तिम्रो पत्रको आशा गरिन भनेर प्रेममा मरेको नभन्नु ! यो लोकमा तिम्रा प्रेमायामको गहिराईमा कुनै कमी पाएको त छैन। प्रिय्, मैले पनि कहाँ बिर्से हुँला र? ती हाँसो, ठट्टासँगै एकअर्कासँग जिस्किएका क्षणहरु ! हामीले छाँटेका दर्शन, मैले दिएको धाराप्रवाह प्रवचनमा तिमीले दिएको तप, अनि तिम्रो सुरिलो स्वरले कवितामा थपेको मधुरता मेरा मस्तिष्कमा पाएका तरङ्ग मैले बिर्सुलाँ र? ती दिनका संवादहरु सम्झ त, कति जिवन्त थिए, ती बोलाईमा कस्तो निश्चल प्रेमका सागर उर्लीएका थिए ! 

सम्झना छ हामीले गरेको त्यो पदयात्रा? तिम्बुङपोखरी सम्म पुग्दा हामीले सङ्गालेका अनुभूति बिर्सेको छैनौ है? अझै बेला बेला तिमीसँगै गरेका पदयात्राको स्मृतिमा डुबुल्की मार्दै शुन्यमा डुब्नुको आनन्द बेग्लै छ, मनौँ म चाहन्न म फेरि तौरिएर उत्रुँ।केइ हिमाली पदयात्रा त्यसअघि पनि मेरा साथीभाइहरुसँग पनि गरिसकेको थिएँ, ती यात्रामा कल्पेका कुराहरु तिमीसँग यात्रा गर्दाको वर्णन यी शब्दले कसरी गरुँ? लामो हिँडाई तर कष्टकर यात्रामा तिमीले गाह्रो भन्ने शब्दको उच्चारण पनि गरिनौँ, मैले यात्रा प्रारम्भ गर्नु अघि प्राथर्ना गरेको थेँ, `हे ईश्वर हाम्रो यो पहिलो यात्रा जिवन्त बनाइदेउ, खाली माग्यौ नभन्नु है, मैले उसँगको यात्राकै आधारले सम्झना बुन्नुछ..!´ आखिर ती यात्रामा तिमी बस्दा मैले हातमा हात दिएर तिमीलाई ती ढुङ्गे सिँढीहरु बाट उठाउँदा खोइ जीउ कसरी सिरिङ्ग हुन पुग्दा तिमीले त्यसलाई गुजबम्प भन्न पुगेको थ्यौ। हुन त मेरो मन र तिम्रो मनमा खेलेका असंख्य कुराहरुले एकसाथ सहमति जनाएर पो तरङ्गको घन्टी दिए?


त्यो रात हामी सबैभन्दा अग्लो उचाईंमा थियौँ नि याद छ है, रातमा हामीले च्या'एको आकाशको शुन्यतामा हामी बिलिन भएथ्यौँ केही क्षण, हिमाली चिसो सिरोटेले हान्दा मनमा एकखाले उर्जा आइपुग्थ्यो। हामीलाई मनमा के लाग्यो कुन्नी, हामीले बाहिर आगो ताप्यौँ। ओहो त्यो चिसो र तातोको मिलन क्या गजबको 
थियो है, हाम्रो जीवन जस्तै, एकैसाथ दुई कुराको अनुभूति नहुने ! चारैतिर अन्धकार रात, शान्त टाकुरोमा हामी दुई, भित्र चुल्होमा शेर्पीनि आन्टीले पकाएको त्यो मीठो चौंरीगाइको दुधको बासना, हामी दुइका मनमा खेलेका कुराहरु बाहिर पोखिएका क्षण, मानौं जीवन यात्राको त्यो रात हामी मानिस भन्दा निक्कै माथी तौरिएका थियौँ, हामीले गरेका कुरा कुनै दर्शन र साहित्य भन्दा कम थिएन, हाम्रा प्रेमील संवाद मुनामदनको प्रेम भन्दा कम भएन, मानौं त्यो रात हामी एकैलहरमा उभिएका हिमाली शृङ्खला बनेछौँ, शान्त, अटल अनि सौम्य, शून्यमा बिलाउने शून्य जस्तै। हामी दुबै एक मन भएको रात ! अब त्यस्तै यात्रा सँगै यो जुनी त उस्तै रह्यो प्रिय् ! सम्झनामा भन्दा ती क्षण हामीसँग कहाँ नै रहलान् र? धन्न त्यो यात्राले गति पायो र पो मान्छेहरूले भन्ने, `सत्यम्, शिवम्, सुन्दरम्´ त्यो अलौकिक परमानन्दमा लिन भयौँ..।

तिम्ले भनेजस्तै म रिसाएको पनि होइन काली ! त्यो मिठो नाम बोलाउँदा मैले एउटा जिवन्त आत्मीयता भेटेको छु। जीवन फुलै फुलको थुङ्गो मात्रै नि होइन नि हगी, तिमी नबुझ्ने पनि त होइनौं, नबुझे नबुझे जस्तै गर्नु तिम्रो बानी जो थियो नै, रहला नै। तिम्रो रिसमा मैले हाँसी, हाँसी जिस्काइदिँदा तिम्रो अनुहारमा देखिने त्यो रिसको राँको मलाई त्यसै त्यसै मन पर्थ्यो, त्यस्तो रिस जुन रिसमा ईख, द्वेस र रागको कुनै छिटा पनि मैले कहिले अनुभूति गरिँन। हुन त हामीमध्ये कोहि एक कम बोल्ने हुन्थ्यौँ वा, मेरो भनाईको भाषा तिमीले नबुझ्ने वा अझै तिम्रो भनाईको तात्पर्य मैले बुझ्दैनथेँ भने त हाम्रा यी सारा लोलीमा लोली मिलाएर फकाएका क्षण, हासोँमा मिसाएर दिइने तर्कयुक्त विचारहरुको अस्तित्व नै हुन्नथ्यो होला।

म तिमीले भनेजस्तै धेरै ज्ञानी थिएँ, थिइन त्यो सदा सापेक्षित कुरो रह्यो। तिम्रो लागि निरपेक्ष ज्ञानी हुनु स्वाभाविक कुरो हो नि होइन र, भलै सबैको लागि ज्ञानी हुनु नहुने सदा निरपेक्ष भन्दा टाढाको कुरो हो, कसैको मुल्यांकनमा मापन हुने कुरो। लामो सम्बन्धमा तिमीले मलाई चिन्दाको क्षणमा मापन कैले झुट्टो हुन्न नि? आखिर तिमी पनि त उत्तिकै ज्ञानी भएर न मलाई पनि ज्ञानीको त्यो सुचीमा राख्यौं। 

हो प्रिय् जसरी तिमीलाई तिम्रा बाबाले अप्सराका कथाहरुले कल्पनाको डोबहरु भरेका थिए, त्यसैगरी मलाई अँगेनाका वरिपरि बसेर बाआमैले स्वर्ग नर्क भनेर सुनाएका अनेकौं राजकुमार र परीका कुराहरु कल्पनामा पनि घुम्छन्। तर त्यो मर्त्यलोकबाट कल्पिएको सपना र यताको यथार्थ बिपनीमा कुनै तादम्यता पाइन मैले, बरु अझै कट्मेरो छ। मनै त हो भन्दैमा यो सबैसँग बाँडिन्न रहेछ। भाव उर्लन्छन् भ,ने शान्त पनि हुन्छन्, सबै उर्लेका भावहरु शान्त हुन सहारा खोज्दैनन्। सुनामीमा उर्लने भाव होइनन् जो शान्त हुन सहारा खोज्छन्, म तिमीले चिन्नु भन्दा अगाडीकै सागर हुँ जो सदा आफै उर्लेका छाललाई आफैमा निस्तेज गर्न खप्पिस थियो, जुन तिमीले पनि देखेकौ छौ, र यहि जुग जुग रहनेछ प्रिय् काली! सायद तिमी छँदा तिम्रो सहारा खोजे हुँला, ऐले त म मेरै सहारमा लिन् छु। मेरो नियतमा शङ्का नगर्नु प्रिय्, तिम्रो रूप र विद्वतामा लठ्ठिएको अणु हुँ, वासनामा भुलेको मानिस होइन म।

प्रिय् मेरो विगत सुखद रहेनन् ! दु:खदका ती भागैमा तिमीसँग लामो समय बितानु नपाउनु पनि थियो। मलाई प्रेमको सुरुवाती बिन्दू के थियो भनेर पनि थाहा छैन, तिमीले प्रवेश पाएको क्षणले प्रेमको हाँगा लच्किएलान् भन्नेमा त मनमा भाव नै थिएन, तर कर्मको खेलाईले हामीलाई एउटा सुन्दर प्रेमील जोडि त् बनाइदियो एउटा अधुरो धर्को जस्तै, अन्त्य नदेखिएको! थाहा थियो प्रेम मर्दैन भनेर, प्रेम अझ अजर भएको छ नै रूप सर्वस्व हुन्थे भने हामी प्रेममा के लिन हुनथ्यौँ होला र जति हामी वासनाले सताइन्थ्यौँ होइन र? प्रेम र वासना बारे ती दिनमा हामीले भोगेका, गफिएका नि ताजै छैनन् र?

प्रिय् काली प्रेम साच्चै प्राप्ति मात्रै पनि होइन रहेछ, खुशी खोज्नु मात्रै पनि होइन रहेछ, प्रेम त एकाअर्काको त्याग अनि समर्पणले पनि जिवन्त बन्दोरहेछ। आज तिमी त्यो लोकबाट, म अनन्त यात्री बन्दा पनि तिम्रो पवित्र मनको मसिले कोरिएको सन्देश पाएको छु। प्रेममा प्राप्ति खोजिन्थ्यो भने तिमीले मलाई यत्तिका दिनसम्म `समयले सबै घाउ पुर्छ´ भन्दै सम्हालिसक्थ्यौ होला, तर प्रेम त्यागले जो बनेछ, र हाम्रो कर्मले जुनी जुनी मोक्ष नपाउञ्जेल स्मरण गराउनेछ। सायद यो पवित्र प्रेमको शक्ति हो कि काली?

त्यो प्रिय् नाम काली भनेर मैले बोलाउँदाको पहिलो क्षण सम्झेकी छौ? तिम्रो अप्ठ्यारो नामले मलाई बोलाउँदा कति गाह्रो भएको थियो, मैले नाम खोज्दा कैले पाइन। उसै पनि तिम्रो नाम आफैले जुराउने रहर नै जागेन। फुली थियो बहिनीको, झुम्कि अर्कैले राख्दिसकेछ अनि सोचें त्यो प्रियत्मालाई बोलाउने त्यो मीठो नाम के होला, झट्ट मस्तिष्कमा आइपुग्छ म्याउ जुन नाम लिँदा, त्यो कालो बिरालो पालेको याद आउँछ हजुरामाले। सबैले कालो बिरालोले बाटो काटे साइत बिग्रीन्छ भन्थे, तर हजुरामाले माया गरेर काली भन्दाको त्यो प्यारो नाम  मेरो मस्तिष्कमा ठोक्किएको क्षण सम्झन्छौ नि है। अनि तिमीले घुर्किएर सोधेकि थ्यौ नि, `काली नै किन, गोरी किन नभन्या, के म त्यो बिराली हो र?´ अनि मेरो त्यो सानो उत्तर, `नाममा के छ र प्रिय्, गुलाफलाई गु भन्दैमा उसको बास्नामा कहिले कमी आउँछ र?´ यो उत्तरले तिमीमा ल्याएको लज्जायुक्त हाँसो अनि मौन समर्थन, सायद तिमीले पछि सम्मै सम्झ्यौ कि?

प्रिय् काली मेरो ठेगाना अरु कहाँ होला र यहि अनन्त ब्रह्माण्डको कुनै कुनो त हो। माया नमारे प्रिय् ! यो जुनीमा सबै माया दिन सकिन, अर्को जुनीमा तिम्रै हुने वाचा ! लेखिएको टरेर नै छाड्छ भन्थे, सायद यहि भयो प्रिय् ! सागरको गहिराई जस्तो असिम अनि क्षितिज जस्तै विशाल परिधीको ?प्रेम सदा फैलिरहनेछ प्रिय् काली, सम्हाली राखे! कसैकि भएछौ भने पनि यो श्रद्धा र सद्भावको प्रेमलाई सानो नसम्झनु है।

उही तिम्रो प्रिय्
ब्रह्माण्डको कुनै कुनोबाट

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...