Saturday, May 9, 2020

तारा खसेको रात !

'भोलि मावलमा देवाली रैछ, थाहा थिएन। ब्यान कान्छा मामाको फोन आयो। भाञ्जा देवालीमा आउनुपरो भन्नुभारैछ् मैले फोनमा र्‍याली सुनेँ र्‍याली? भनेर भनेँ, होइन देवाली भन्दा दङ्ग परियो। यता दिउँसो जेठो मामाले फोन गर्नुभयो। भाञ्जा देवाली छ आउनु है भन्दा त्याँ गाडी छ आउनु भन्या सुनेछु!' फोनवार्ता यस्तै भएको थियो जसलाई मैले ट्विटरमा लेख्न भ्याएको थिएँ। अब मलाई अरु चिन्ता थिएन मावल कसरी पुग्ने भन्ने मात्रै थियो। चीनबाट फर्किएकै पनि ४ महिना बितिसक्यो, पाइला टेक्न पाएको होइन। घरमा थोरै थोरै केइ सघाउन पाए हुन्थ्यो भन्ने अभिलाषाले पनि हुनुपर्छ घरबाट फुत्त निस्केर कतै हिँड्न मन लागिहाल्दैन। बरु घरमा काम होलो भएसी सल्लाह गरेर निस्किँदा मज्जा लाग्छ। नत्र यात्राभरी प्रश्न मात्रै मनमा आइदिन्छन्।

बेलुका सेरा पुग्छु। घरमा सिकर्मी दाइहरु छन्। उनीहरुलाई भनेर कुखुरो लिन पुग्छु। त्यही बेला सानी बैनी आउँछिन्। जिस्किँदा जिस्किँदै म ती सानी बैनीलाई नाम के तिम्रो भनेर सोध्छु। गज्जपको कुरो यो रह्यो कि उनको अगाडी नाम नै थिएन। मैले सोध्दा नाम फुत्त आएछ क्यार। उसको ममीलाई नि अब बाबू भन्ने नामजस्तै नानी नै राख्दिनु है भन्या थिएँ। यो मीठो प्रसङ्ग पछि म नारायण अङ्कलकोमा पुगेको थिएँ। भोलि मेलम्ची जानुहुन्छ कि नाई भनेर सोधेँ। अङ्कलले जाने भनेसी मनमा एकखाले तरङ्ग आइपुगेको थियो। यो खुशी स्वाभाविक किन पनि थियो भन्दा हामी दशकौं पैले मावलको देवाली मनाउन पुगेका थियौं। मलाई यो पालीको देवालीमा फेरि मावल जानुथियो, त्यो सल्लाघारीमा एकैछिन बालापन स्मरण गर्नुथियो। अङ्कलसँग जाने भैयो। बेलुका जेठो मामाले ड्याडीलाई फोन गर्नुभयो, वहाँहरु नजाने भएसी हामी जाने भयौँ।


भोलिपल्ट कूलपुजा (देवाली), चण्डी पुर्णिमा, बुद्ध जयन्ती, उभौली पर्व, चण्डेश्वरी जात्रा, कुर्म जयन्ती, गोरखनाथ जयन्ती सबै एकैदिन थियो। एउटै पूर्णिमामा सबैको आआफ्नै चालचलन हगि? सुन्दर छैन त? म चाहन्छु हामीलाई बुद्धको आशिष लागिरहोस्, गोरखनाथले राष्ट्र बचाइरहुन्! घरमा रोटी च्या खाएर निस्किएँ। ८ बज्न १० मिनेट हुँदा नारायण अङ्कल पारी आइपुग्नुभयो। ३० मिनेटमा मेलम्ची पुगियो। 'म खाडीचौर जान नपरेको भए माथी नै पुर्‍याइदिन्थेँ।' भन्नुभयो। मेरो लागि यती पनि ठूलो हो अङ्कल भन्दै अङकललाई धन्यवाद दिएँ। एक त लकडाउन अर्को अङ्कलले त्याँ सम्म पुर्‍याइदिनु नै अहोभाग्य भैदियो। मेलम्चीको झोलुङ्गे पूलबाट दीपेशलाई फोन गरे। ऊ कुरेर बसेको रैछ। म सरासर उकालो चढेँ। ४० मिनेटमा मावल नै पुगियो। ढिलो नगरी बाइक चढेर हामी कूल पूजा गर्ने ठाउँ पुग्यौँ। मामाहरु पूजा गर्दै हुनुहुँदो रैछ। हजुरबुवाहरु, मामाहरु, माइजुहरु, दाइहरुलाई एकैठाउँमा भेट्दा खुशी लाग्यो। कोरोना अघि नेपाल आइपुगेछौ भाग्यमानी रैछौ भनेर मलाई भन्नुभयो। मसँग त्यसको उत्तर थिएन, संयोग जो थियो।

सल्लाघारी उसैपनि प्रिय् लाग्छ मलाई। सल्लाका अग्ला रूखहरु, खोटोको बास्ना, पाटनजस्ता ठाउँहरुले मन तान्यो। सानोमा आउँदा चिलाउनेको हाँगामा बसेर सल्लाका पातमा चिप्लेटी खेल्नुलाई मैले सम्झिन मात्रै सकेँ। धेरै कुरो बिर्सेको रैनछु। चिलाउने कै बोटमुनी देवाली चाहिँ किन भएको होला भन्ने जिज्ञासा् रहिरह्यो। वातावरण मस्त थियो, पूजाको धुप बास्ना आइरहेको थियो। मलाई एक्लो नहुन सञ्जीव भाइ साथी गर्दै थियो, दीपेश थियो। राम-लक्ष्मण मामा, रजिन दाइहरु, कान्छा मामाहरु देखि आफूले नचिनेका सबैसँग गफिन पनि भ्याएँ। उता मिलन पनि आउँदै रैछ। झन् खुशी लाग्यो। ऊ राम्रो तस्बिर लिन खप्पिस पनि छ। मेरो मित्र पनि हो। दीपेश लिन गयो। म र सञ्जीव केइ बेर माथी  सम्म परेको सल्लाको बनम गयौं। घुम्यौँ। अब भने बादलहरु मडारिन थाले। मिलन आइपुग्यो। खाजा खायौँ। खिर र पुरी मीठो थियो। मसलदार दूध चिया उस्तै। पूजा सकिन आँट्दा पानी पर्न थाल्यो। हामी रूझ्दै-भिज्दै फर्कियौँ। पुगेसी लुगा फेर्यौँ। दीप्ती र माइजुले भिजेका लुगाहरु धोइदिनुभएछ। निशब्द भैयो, न नधुनु भन्न सकियो न धन्यवाद नै दिन सकियो। आगो ताप्दै ठूली हजुरामा, दीप्ती, दीपा, मिलन, मनिषा, सुस्मिता बैनी र म गफियौँ। माहोल रमाइलो थियो। खाना खाइसकेर केइ बेर म आराम गर्न तिर लागेँ।


रातमा जेठा मामाकोमा खाना खाने भैयो। भाञ्जाहरु सम्झनु हुन्न। भाञ्जाहरु त झोलिको देवता हुन् भन्छन् भनेर जेठी माइजुले भन्नुभयो। फोन मात्रै नगरेको माइजू सम्झिन्छौ हामी भनेँ। मामालाई त गरेकै हुँ माइजू सम्म पुगेन कि? खैर रातमा खाना खाइयो। अनि खाएर डाँडासम्म हिँडियो। गफिँदै बैनीहरुसँग हिँडियो। सम्भवत पैलोपल्ट तारा(?) खसेको देखियो उनीहरुले नि पैलोपल्ट देखेछन्। मलाई चाहिँ कमेट्स लाग्छ हो चाहिँ के हो पत्तो पाइन। जुनेली रातमा जुगल पनि मुसुक्क मुस्कुराइरहेको थियो। फर्केर हामी एकैछिन गफियौँ। नवीन दाइ पनि चीन गएका रैछन। धेरै प्रसङ्गमा रहेर गफियौँ। तास खेल्यौँ। अनि सञ्जिव र म सुत्न पल्लो घर गयौं। म भुसुक्क भएको पत्तो पाइन।

बिहान गुफा जाने कुरो थियो। कारणवश मिलन र म सामेल हुन नसक्ने भयौँ भन्दा सबै निराश भए। भाइ बैनी बोल्दिन भन्न थाले, मामा माइजुहरु नि गए हुन्छ, आज यतै बसौँ भन्न थाल्नुभयो। मैले सबै कुरा भनेसी सबैले बुझेझैँ गरे। एकैछिन बसेर घर फर्कने कुरो गरियो। दुबै हजुरामाहरु बस नै किन आजै जाने भन्न थाल्नुभयो। मन छुट्टिने छँदै थिएन। तर पनि मान्छेको नियती है? ठूलीहजुरमाको एक प्रश्नमा मैले, 'हाम्लाई दुबै हजुरामा प्यारा, दुबै हजुरामा हाम्रै' भन्दा भावुक हुनुभएको थियो। २ वर्ष पछि पुग्दा पनि मलाई चिन्दा म दङ्ग परेको थिएँ, 'कति हँसिला छन्!' भनिरहनुहुन्छ हजुरामा। अनि केइ बेर जेठी माइजुसँग दर्शन गफ गर्दै हामी निस्क्यौँ। हजुरामा बाहिर घाममा हुनुहुन्थ्यो। आउँदा खुशी देखिने मान्छे, जाँदा दु:खी देखिन्थिन्। जानेसँग कस्को के लाग्दो रैछ र?


हामी दाजुभाई गफिँदै ओरालो झरिरह्यौँ। छाडी जान मन थिएन। परिबन्द हुँदोरैछ। मान्छे कतै च्यापिएको हुँदोरैछ। हामी निरन्तर हिँडीरह्यौँ। न्वारमा माइली फूपू हजुरामाको घर पस्यौँ। ठूल्बा-ठूल्यामा, दिदीहरु सबैलाई भेट्दा औधी खुशी भए। दीर्घ बहादुर जो मेरो कुप्रो हजुरबुवा हुनुहुन्छ वहाँको इतिहास सुन्दा छाती धक्क फुल्यो। हामी कती महान पुर्खाको सन्तान रैछौँ त? मेरो न्वारनको नाम दीर्घ बहादुर आउँदा नाम हजुरबुबाको पैले आइसकेको कुरोले अर्कै राखिएको, फूपू हजुरामाले मलाई दीर्घबहादुर देखेको प्रसङ्ग र एमबीबीएस पढ्नुअघी गोसाइँकुण्ड जाँदा हजुरबुवाको श्राद्द कै दिन सुखद खबर पाउनु सौभाग्य थियो। त्याँबाट सबैसँग बिदा भैवरी हामी टार आइपुग्यौँ। लक्ष्मी दिदी, दाइ भाउजुहरु सबैलाई भेट्यौं। खुशी हुनुभयो। यता पनि पल्लो घर तिर कोपिला दिदी, भिनाजु, भतिजी, नाति नातिना,हरुलाई भेट्यौँ। काफल र चिया खाँदै कोरोना, पढाइ धेरै संवाद गर्यौँ। अनि उता सुनिता भाउजुले बस, बस खाजा बनाउँछु भन्दा पनि हामी हतारिएको वेगलाई रोक्न सक्नुभएन। माथी प्रवीण दाइ पनि भेट्यौं। अनि तालामाराङ पुगेर काली दिदी, गनेश दाइ, भाउजू, जीवन, प्रकृतिसँग पनि भेट्यौँ। च्या खाँदै गफियौँ। सबैलाइ घरतिर आउने निमन्त्रणा पनि दियौं। अनि हामी बतासियौँ।

घर आउँदा वीच्याट र तिङ् तिङ् म्यासेजले भरिएका रहेछन्। लिपुलेक बाट मानसरोवर जाने सडक खोलिएको कुरो ट्विट पढियो। मनमा आक्रोश थियो। धन्न, भाग्यवश आएर चाइनिज परीक्षा दिन भ्याएँ। यो अविस्मरणीय दिन बनेको अनुभूति गरेँ। सबैलाई यतैबाट धन्यवाद ! यात्रा चलिरहेछ!

No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...