सम्झनामा बा !
(२०२२ वैशाख १४-२०७८ जेठ ८)
जीवनमा पीडा के होला? सायद मान्छेले व्योहोर्ने शोक भन्दा अर्को ठूलो पीडा के होला र? तर शोक जती नै पीडादायी नै भएपनी त्यो अवश्यम्भावी छ, त्यो टरेर टर्दैन ! हामीले जीवन यात्राका आगतसम्म पनि अभाव, दु:ख हरुसङ्ग सधैं लडिरह्यौं, तर बा को अप्रत्याशित मृत्युको खबरले हर कोहिलाई स्तब्ध बनायो ! यसैगरी आजबाट बाको गतियुक्त यात्रा सहित प्रेतात्माको वैकुण्ठ बास् होओस् भन्ने कामना र सम्झना सङ्गै वैदिक परम्परा अन्तर्गत १३ दिने संस्कार पनि रितपूर्वक समापन गरियो।
हामीलाई हामीसङ्गै हामीलाई साथ दिने अरु हामी पनि छौं है भनेर अनुभूति गराउने हाम्रा कूल परिवारका परिवारजनहरु, मावलीहरु, आफन्तजन र शुभचिन्तकहरु, १३ दिन नै हामीललाई एक्लो महशुस नगराइ काम धन्दा गर्ने हाम्रा हजुरबा/हजुरामाहरु, काकाकाकीहरु, दिदीहरु लगायत गाउँका आफन्तजनहरू सङ्गै शोकमा शब्द र भाव मार्फत हाम्रा बालाई श्रद्धा र हामीलाई हौसला, सद्भाव दिनुहुने सम्पूर्ण प्रति हृदयाभार र कृतज्ञ छौं।
बा बारे मैले धेरै भनिरहन पर्ला जस्तो लाग्दैन। हामीले बा अनुभूति गरेको भनेकै द्वन्द्वकालमा हो, त्यो बेला अभाव मात्रै साथ थियो- त्यो तत् समय चराचुरुङ्गीले बचेरालाई आहारा खोजेर हुर्काएर, बढाएर, उड्न सिकाएर उन्मुक्त छोडे जस्तै बाले यस्तै गरे। बाको कडा अनुशासनमा बाँचियोय त्यो बेला नरमाइलो लागे पनि अलिक हुर्केपछी हाम्रै लागि अनुशासन, नैतिकता र इमानदारीता सिकाएका रहेछन् भनेर अनुभूति हुन्छ ! बालापनमा बाआमा माउ चराहरु थिए, हामी बचेराहरु थियौं- यसरी अभाव नै अभाव बीच हामी यहाँसम्म आइपुग्यौं। बा पछिल्लो समय हाम्रा साथी जस्तै थिए, एक असल पिता थिए तर एक असल पति चाहिँ बा बन्न नसकेको हो कि भन्ने अझै लाइरहन्छ। बा मेरा प्रयोगात्मक राजनीतिका गुरु थिए, बा सङ्ग घरैमा वाद र संवादहरु भैरहे, बाले प्रशिक्षण दिइरहे ! तर बा मलाई एक असल चिकित्सक पछि मात्रै राजनीतिमा देख्न चाहेको कुरो बारम्बार भनिरहनुहुन्थ्यो।
०४९ र ०५४ मा दुईपटक गाविस अध्यक्षमा निर्वाचित भएर बाले हेलम्बु क्षेत्रमा कम्युनिस्टको एउटा दरो खम्बा गाडेको कुरो कतै छिप्दैन। बाले हेलम्बु भेगमा ल्याएको सिँचाइका कुलोहरु, देश भित्र नदी बचाउ अभियानहरुमा खेलेको सक्रियतापूर्वक भुमिका, गाउँमा बिजुली बत्तिका अवधारणा, ग्रामिण सडकका योजनाहरु, ट्राउट माछा सङ्गै अरु कृषी योजना सङ्गै बाले निर्भीकता पूर्वक सत्यको पक्षमा वकलात गरेको मुद्दा हरुलाई लिएर बालाई यसभेगमा जनताहरुले स्मरण गरिरहनेछन्। मृत्युुका अन्तिम दिनहरूमा पनि यस भेगमा अर्ग्यानिक खेती गरेर कृषकको जीवनशैली सुधार्न सङ्गै पार्टी एक हुनुपर्छ भनेर दिनरात हिँडीरहनुभयो। बा बारे अरु धेरै प्रसङ्गहरु म समयक्रममा लेख्दै जाम्ला पनि !
बाको मृत्युको खबर हामी लगायत हर कोहिलाई अप्रत्याशित खबर थियो। एउटा कारण कोभिड थियो, चाहेर पनि फेसबुकमा पोस्ट गर्ने चाहना भए, घरमा केटाकेटी र बुढाबुढी भएका परिवारहरु देख्दादेख्दै यसो कसरी गर्न सकिएला र? फेरि बा अस्पतालमा हुँदा खाना दिदी भिनाजु, खर्चको जिम्मा काकाले, कुर्न सहयोग हामी दुइ भाईलाई मिलनका साथी जेनसिङ र धरम थिए। ४ औं दिनमा बाको अवस्था सुधार भैसकेको छनक पाइसकेपछी मृत्युुको कल्पना कसले गर्ला र? ICU का लागी जेठ बिहिवार ६ गते ७ बजेबाट ७ गते शुक्रबार बिहान १ बजेसम्म सयौं कल हरु गर्यौ, हाम्रा सोभित अङ्कल, कोमल अङ्कल, विजय दाइ, आविष्कार दाइसङ्गै अन्य सबैले गरेको जोडबलले ढिलै भए पाइयो ! अब भने आशा जागेको थियो, तर अपसोच शनिबार ८ गते ८ बजे म इक्जाम दिन बस्दा बाको मृत्युले झस्कायो....! हुन त मानिसको जन्म, मृत्यु र जीवन कर्म हाम्रो वशमा कहाँ छ र?
हामीलाइ सद्भाव दिने ठूल्बा, ठूल्यामा, मितबा/मितआमा, काका काकी, आफन्तहरु, साथी र शुभचिन्तकहरु सङ्गै हामीलाई साथ सहयोग गर्ने कोरियन आमा, अग्रजहरु, क्षेत्री समाज, र बा का मित्रहरूप्रति आभारी छौं।
बाको सपना र सम्झनाहरु लिएर अघि बढ्नुछ, बाको आशीर्वादहरुको आकाश हाम्रो शिरमाथी सदा रहिरहनेछ। मृत्युबोध अझै गराएर बा जानुभएको छ, अझै असल, अनुशाशीत र कर्मशील भएर अघि बढ्नुछ !
बा तिमीले खोजे जस्तै यो राष्ट्रका असल छोराहरु बन्ने अभ्यास सधैं रहनेछ, त्यो टाढाको ब्रह्माण्डबाट भए पनि चियाउन नछाड्नु है ! आउने अभावहरुसङ्ग संघर्ष गर्न बाँकी नै छ, बा तिमी अभावको सबैभन्दा ठूलो देउता हौ, संघर्षको अर्को नाम हौ, आँटको हिमाल हौ, आत्मविश्वासको पर्याय हौ !
बा ! तिमीले अदृश्य बनेरै पनि हामीलाई सिकाउनुछ ! बा धेरै सम्झना !
रातको ९:२७, २०७८ जेठ १९
Wednesday, June 2, 2021
बाको सम्झना
Subscribe to:
Post Comments (Atom)
ने, कर्म र यात्रा
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...
No comments:
Post a Comment