Friday, November 27, 2020

गोधुली साँझ

गोधुली साँझमा मनको चञ्चलताले उग्र ठाउँ पाउँदो छ। मेरो मन टाढा टाढाका गजधम्म परेर बसेका नीला नीला पहाड हेर्दै कल्पनामा डुब्दो छ, क्षितिजमा पहाड र आकशको प्रीत लोभ्याउँदो छ। कति सुन्दर प्रीति छ है, बादल पनि बेला बेला लजाउँदो हो, गम्मक छोपिदिन्छ। त्यो सिङ्गो आकाशमा कहिँ बादलहरु मडारिएका छन्, कहिँ टुक्रिएका छन् कहिँ छरिएका छन्, कहिँ रात्तिएका छन्, अनि कहिँ कालिएका छन् अनि कतै धर्तीमा पाइला टेक्न अन्तिम सास फेर्दै छन्, दृश्य बडो रोचक छ। तिनका अङ्कमालले सायद उपत्यकालाइ आत्मीय लाग्दो हो, आफू सुरक्षीत भएको अनुभूति गर्दो हो या अग्लिन नपाएर थिचिएको अनुभव गर्दो हो? चिसो चिसो हावाको वेग अर्कै छ। हरिया पहाडहरु मेरा उपस्थिति भन्दा कयौं कोस भएर हुन् कि, निला-निला देखिन्छन्, अग्ला पहाडमा उभिएका रुखहरु बगैँचामा सजाइएका बुट्यानझैं देखिन्छन्। प्रत्येक यात्रा नौलो अनि अविदित लाग्छ, कयौं कुराहरु यस अघि भएर पनि देखिएन या देखिएर पनि हेरिएन?


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...