Sunday, January 3, 2021

आमा याङ्री


आमा याङ्रीको काखैमा !





यात्रामा निसक्ने कुरो निक्कै अघि देखिको। तर घरमा हुने कामले फुत्त छाडेर हिँड्न पनि नमिल्ने। फेरि त्यैही दिन ट्राउट माछा ब्रीडिङका काम पनि थिए। ती सारा काम सघाउँदा १२ बज्यो नै। खाना खाइवरी निस्कँदा झन्डै १ बज्यो। चनौटेबजार पुगेर हामे गाडी पर्खिरह्यौँ।  झन्डै २ बजे गाडी आइपुग्यो र हामी तिम्बु पुगेर झर्यौ। तिम्बुबाट हिँडेर तार्केघ्याङ्ग पुग्नु छ। हामी नअलमली उकालो उक्लिरह्यौँ। सुन्तला वारि भएका ठाउँतिर सुन्तला किन्यौँ। सार्है रसिला रैछन्। 





झन्डै २ घन्टा उकालो हिँडाईपछी हामी ककनी पुग्यौं। त्यहाँ मानिसहरु जम्मा भएका थिए। घेवा रैछ। सयौं मानिसहरु गुम्बा छेउ जम्मा भएका थिए। मैले देखेसम्म पैलेपैले शेर्पा समुदायमा गरिने घेवामा गाउँभरिका सबैले घरायसी उत्पादन अन्न (कोदो), रक्सी लगायतका जिनिस लिएर जान्थे । बजार विस्तार भएपश्चात चाउचाउ, कोकोकोला, चकलेट, वनस्पति घ्युजस्ता सामग्रीले ती स्थानीय सामग्रीलाई विस्थापित गरिदिएको हो कि भन्ने भान पर्‍यो। खैर यो प्रभावले कुनै जाति मात्र प्रभाव भने होइन, तर सकिन्छ भने स्थानीय स्तरमै उत्पादन हुने खाद्यान्न लगायतका सामानलाई महत्त्व दिन पाए कति गज्जब हुन्थ्यो होला भन्ने प्रश्न त्यहाँ केहि क्षण उभिँदा लाग्यो।





अञ्जन भाई सोध्दै थियो, "तेर्सो बाटो आउँछ भन्या होइन खोइ सुरु भएन अझै?"
"अब ककनीबाट फादुङ्ग खोलोको हाइड्रोपावर छेउ सम्म सबै बाटो तेर्सो नै छ।" भनेँ।
अनि हिँडियो। तल तिम्बुमाथी गाउँमा किनेको सुन्तला बाँडेर खाइयो। रसिलो सुन्तला, दाजुभाइको गफ र तेर्सो बाटो त्यहाँ माथी डाँडाकाँडाको सुन्दर दृश्यले हामीलाई यात्राको दौरान थकानको कुनै अनुभूति भएन। सेपिलो पहाडका सडक हुँदै हामी लम्किरह्यौं। पछाडि बाट मालवाहक ट्रक आइरहेको आएपछि भाईहरू ट्रक रोक्न सल्लाह दिन्छन्। तर म ट्रेकिङ गर्दा ताका गाडीमा यात्रा गर्ने काम कुनै पनि हालतमा गराउन चाहन्नथेँ। ट्रक पनि आइपुग्यो, मात्रै हामी सब ट्वाल्ल हेरिरह्यौँ। उनीहरुले नि केही भनेनन्। रोडको मुन्तिरबाट एउटा सानो गोरेटो बाटो थियो। मैले त्यहाँ सोझा खालका केही लठ्ठी भाँचे। लठ्ठी टेक्दै केही बेर हिँडेपछि केहि समय अघिको यात्रामा चिनापर्ची भएका मेमेकै घरमा पुगियो। घर छेउ बाँधिएका कुकुरहरु भुक्न थाले। ती मेमे र इभि लाई कतै देखिन। बाहिर एकजना दाइ देखिए, सोध्दा उनी कान्छा छोरा रैछन्। हामीले बा आमा बोलाईदिन भन्यौं। इभि चाहिँ रक्सी पार्दै रैछिन्, मेमे चाहिँ गारो लगाएर हात धुन गएका रहेछन्। हामीलाई घर भित्र बस्न आग्रह गरे। घरभित्र काठका फल्याक ओछ्याएर बनाइएको बस्ने ठाउँ, फलामको चुल्हो र सफा तरिकाले सजाएर राखेको भाँडाहरू देखेर भाईहरु दङ्ग परे। अनि केही बेर आगतमा टेकेर विगततिर चियाइयो। बाहिर घाम अस्ताउँदैछ, भित्र चिसो भएको अनुभूति हुँदैछ। यसै मेसोमा चिया पाक्दैछ। मेमे जुरुक्क उठ्छन् र दराजतिर तेर्सिन्छन्, "लु यो चाहिँ सिल्टिमुरको रक्सी, सबैले चाखौँ त"। यति भन्दै सबैलाई अलिअलि जल जसरी बाँड्छन्। चिया पाक्छ। इभिले सबैलाइ चिया बाँड्छिन्। चिया खाइसकेपछी मेमे हामीलाई दुधे मकैबाट बनाइएको निगार चाख्न भन्छन्। गज्जबको छ भन्ने वहाँबाट नै आइसकेपछी हामीले नकारेनौँ। हाँसी मजाक गफ चल्छ। "धेरै पछि मेमेलाई भेट्न पाइयो। म मनदेखी नै खुशी छु। यस्ता आत्मीय मनहरुलाई हिमालका यी निर्जन बाटोहरूमा भेट हुनु भनेको हाम्रो सौभाग्य हो।" मैले यति भन्दै गर्दा सबै एकटक सुनिरहेका थिए। मेमेको गालाहरु चाउरी परिसके तर पनि मैले यी वाक्य बोलिरहँदा उनी धपक्क बलेका थिए, मेमेको त्यो निश्चल हाँसोले मलाई साँच्चै बडो आनन्द अनुभूति गरायो। एकातिर हातमा निगार छ, अर्को तिर गफिँदै छु र कतै म मेमेसङ्ग जीवन्त संवादले हौसिएको छु। शहर र भीडहरु भन्दा धेरै टाढा, जङ्गल तलको निर्जन बस्तीमा उनको परिवार एक्लो बसेको छ। "लोभ, घृणा गर्नुहुँदैन बाबू, आफूसङ्ग जे छ बाँडेर खान मज्जा छ। मरेर के लाने हो र?" मैले चिया र निगारको पैसा मेमेले लिन नमान्दा यसो भन्दै थिए। पैसा लिन नमानेपछि इभीलाई मनाएर छाडेँ। केही बेर बसेर हामी बिदा भयौँ। भाइहरु मलाई ट्रक नचढेकाले ठिक गरिएछ भनेर बाटोमा गफिन्छन्। जङ्गलको बाटो हुँदै हामी उकालो चढिरह्यौं। गोधुली साँझमा अस्ताउँदो सुर्यको रङ्ग हेर्दै निगारको जोसमा हामी तार्केघ्याङ्ग लमक लमक लम्किरह्यौँ। मेमेले भनेजस्तै हिमालमा खाने कुरोमा हिमाली दम हुन्छ भन्ने कुरो सम्झना आइरह्यो। तार्केघ्याङ्ग पुग्दा झमक्क साँझ परिसकेको थियो। यसपल्ट तार्केघ्याङ्ग पुगेको ५ औं पल्ट भैसकेको छ। होटेलमा कुराकानी गरेर बस्यौं। " म त खान पकाइसकेको। खाएर सुत्न लागेको। फोन गरेको भए बसालेर राख्थेँ नि।" होटेलवाला दाईले यसो भने। "एउटै दाइको घरमा आइरहनेलाई नि के फोन गरिरहनु भनेर नगरेको नि दाइ।" मैले यति भनिसकेपछी दाइले हामीलाई लु ठिकै छ भनेर हामीलाई हामी बस्ने रूम देखाईदिन्छन्। हामी आफ्ना ब्यागहरू राखेर आगो ताप्न दाइ भएकै तिर लाग्छौँ। दाइ खाना पकाउन तिर लाग्छन्। गोव्रे सल्लाको सुकेको दाउरामा बसालिएको कित्लीको पानी उम्लिरहेछ, हामी वरिपरि बसेर गफिँदै छौँ। दाइ पनि बेला मौकामा बाहिर आउँछन्।
"दाइले टुङ्ना बजएको भिडियो युट्युबमा रैछ नि, कति राम्रो बजाएको?" भनेर भन्दा दाइ खुशी मुद्रामा " ए ए त्यता रैछ, बेला मौकामा बजाउँछु।" भन्छन्।
"यत्रोपटक तार्केघ्याङ्ग आइयो, हजुर सधैं व्यस्त कैले गफ गर्ने मेसो जुरेन, हेलम्बुको बारेमा बताउनु पर्यो।" भनेँ।
तातोपानी सुरुप्प तान्दैछन्, दाइ डेस्कमा बसेका छन्, "वास्तविक हेलम्बु भन्नु नै तार्केघ्याङ्ग हो। सबैभन्दा पुरानो वस्ती नै हेलम्बु हो। धेरै पैले काठमाडौमा महामारी फैलियो, केही गर्दा पनि निको भएन।त्यतिबेला शासन गर्ने चाहिँ राजा मेवाङ्ग थिए। काठमाडौवासी महामारीले गर्दा त्राहीत्राही मच्चियो। अनि दरबारका पण्डितलाई जोखना हेर्न लगाइयो। उनको सल्लाह अनुसार केरुङ्गमा एकजना लामा मेमे सुर्यसिङ्गी भन्ने बस्छन् तिनले चाहिँ यो रोगव्याधी हटाउन सक्छ्न् भनेर भने। उनको चर्चा निकै टाढा सम्म रैछ। त्यसपछि केरुङ्ग देखि ती लामालाई ल्याएर हप्तादिन पूजा लगाइयो। र दुई हप्तामा महामारी पनि हरायो। यसपछी लामाले आफू केरुङ्ग फर्किने कुरो बताए। लामाले लगाएको गुनको पैंचो त तिर्नैपर्छ भनेर राजाले यत्तिकै त जान मिल्दैन भनेर भनेछन्। बक्सिस स्वरूप राजाले घोडा दिएछन्, शेर्पा भाषामा ता भनेको घोडा पनि हो। म त पढ्ने, जङ्गलमा तपस्या गर्ने मान्छे घोडाबाट ओहोरदोहोर गरेर रासनपानी ल्याउन त हुने रैछ तर घोडालाई पनि बस्ने ठाउँ त चाहिएला नै भनेर लामाले भनेछन्। राजाले रोजेको ठाउँ दिने वचन दिएछन्। लामाले जोखना हेर्दा उत्तरतिर तार्केगोठी भेटेछन् र तलतिर तार्केफाल। तार्केफाल तिर चामलहरु यताउति लगाउन जग्गा पनि भयो, घोडा बाँध्न गोठ पनि भयो तर पनि लामाले त काम ध्यान, पढाइ गर्ने हो भनेर तल लेकाली जङ्गलमा घ्याङ बनाउने जग्गा पनि मागेछन्। राजाले दिएको गाउँ नै तार्केघ्याङ हो ऐले पनि त्यहाँ लामा मेमे सुर्यसिङ्गी झाङ्गी तिर्की गुम्बा भन्ने नाममै छ। पैलेपैले सिन्धुपाल्चोकको भक्तपुर भनेर चिनिने ठाउँ, गाउँ ठूलो भएकै कारन वडा पनि २ वटा पाएको थियो। झन्डै ८००/९०० वर्षको पुरानो इतिहास भएको देखिन्छ।" दाईले यति भनिरहँदा हामी चारै भाइ मग्न सुनिरहेका थियौँ।
"आमा याङ्रीको माने बन्यो त दाइ?" म फेरि सोध्छु।
"चार तलाको बन्यो। ऐले नयाँ शैलीमा बनेको छ।"
"भनेपछि तार्केघ्याङ यति पवित्र ठाउँ रैछ हगी दाइ?" सकेसम्म अझै धेरै खोतल्ने प्रयासमा हुन्छु।
"ऐले मेलम्चीघ्याङ ठूलो भयो। ४०/५० वर्ष अघि सम्म सानो बस्ती भएको ठाउँ ठूलो देखियो। तार्केघ्याङ बारे नसुनेकाले मेलम्चीघ्याङ ठूलो देख्छन्। तार्केघ्याङ्ग पुरानो बस्ती पनि हो, इतिहास पनि पुरानो छ।" दाइ यति भन्दै गरेर भित्र पस्छन्। हामी केही बेर आफ्नै गफमा रूमल्लिन्छौँ। दाइले खाना पाकेको जनाउ दिइसकेपछी हामी हात धुन बाहिर जान्छौं। जून लागेको रात छ, बाहिर चिसो हावा बहिरहेको छ, ठिह्र्याउने पानीको के कुरा गर्ने र?
लेकाली दाउरको आगोमा पाकेको तार्केको साग, दाल र तार्केथालको चामलको भात, साँच्चै त्यो भन्दा विशेष संयोजन के होला? साग खासै मन नपराउने अञ्जन भाइले साग बारे गाएको बखान त्यस्तै मीठो थियो। खाना खाइसकेर हामी सुत्न तिर लाग्यौं।





बिहान पौने छ बजेर उठेर फ्रेस हुन थाल्यौं। म होटेल वाला दाईलाई बोलाउन गएँ। दाइ सुतिरहेका रहेछन्। चिया बनाउन लगायौँ। चिया बिस्कुट खाएर हाम्रो गन्तब्य तिर बाटो लम्कायौँ। मौसम खासै खुलेको देखिएन यद्यपि होटेल वाला दाइको घरबाट आमा याङ्री प्रष्ट देखियो।
"दाई कति घन्टा लाग्छ यहाँबाट आमा याङ्री पुग्न?" इमेश भाइ मलाइ सोध्छ।
"साँढे ३ घन्टा लाग्छ।" अंकित ले भन्छ।
"त्यस्तै अंकितले भनेजती नै।" भनेर केटाहरुलाई अब ढिला नगर्न भन्छु। अंकित बाहेक हामी सबैको हातमा लठ्ठी छ। अब भने ठाडो उकालोहरु सुरु भयो। २५६० मि को तार्केघ्याङबाट उक्लेर ३,७९१ मि को आमा याङ्री पुगेर २५९२ मिमा रहेको शेर्मथाङ्ग पुग्नुछ।
बाटाभरी गफिँदै गयौँ। अंकित यसअघि पनि आइसकेको थियो। उदाउँदो सुर्यले थाडेपाटी र सोलिका पहाडहरूमा छरेको लाली रङ्गले सौन्दर्य बढाएको थियो। बादल फाटे फाटे जस्तो देखिँदै थियो। आकाश खुल्नेछ भन्ने मनमा आशा थियो नै। उकालो सिँढीको बाटो, गोब्रे सल्ला, गुराँसहरु बीच लम्किएको बाटो हुँदै हामी हिँडीरह्यौँ। आमा याङ्री मुन्तिर गाउँका २ जना दाइ बाटोमा भेटिए। खानेपानी भएको ठाउँ देखाइदिए, धन्यवाद भन्यौं। झन्डै २ घन्टाको उकालो पछि एउटा गोरेटो बाट तेर्सो लाग्यौँ। खानेपानीको मुहान रैछ। पानी खायौं। बोटलहरु भर्यौ। ५ मिनेटको उकालो पछि चौंरीखर्क पुग्यौं, जसलाई झुमोथाङ पनि भनिन्छ। दुइटा याकहरु चरिरहेका थिए। समतल भाग कतैकतै आमा याङ्री बेस क्याम्प भनेर भनिएको पनि सुनेथेँ। केही बेर त्यहाँ बसेर थकाई मार्यौँ। भाइहरुले बिस्कुट हरु खाए, मैले पानी मात्रै पिएँ। ठाउँ बडा सुन्दर थियो तर बसिरहँदा यात्राले गन्तव्य नचुम्ला भन्ने पीर। अंकित अरु बेला यात्रामा पछि पर्थ्यो तर आज ऊ अरु भन्दा ५/७ मिनेटको ग्याप राखेर हिँडीरहेको छ। अञ्जन र एमेश भाइ म सङ्गै गफिँदै हिँडीरहेछ। गुराँसे वनको भित्रीबाटोबाट हामी सिँढीहरु चढ्दै छौँ।
"दीपक दाइ तपाईंलाई एउटा कुरा भनुम्?" एमेश भाइ भन्छ।
"भन न, भन्नलाई नि सोध्नै पर्छ र?"
" दीपक दाइ मैले निक्कै पहिले देखि याद गरेको है, तपाईं छिटो बोल्दा मम्मीलाई मोइँ मोइँ भन्नुहुँदो रैछ।"
ऊसले हाँस्दै मलाई भन्यो।
"हुनसक्छ भाइ। मैले बोल्न ढिलो सुरु गरेँ, ३ वर्षको छँदा बल्ल बोली फुट्यो। ४/५ वर्ष भैसकेपछि शब्दहरू निस्किए अरे। मेरा आफ्नै शब्द थिए अरे, हबा, घुक्को (हजुरबुवा, खुकुरी)। अचेल मेरो बोल्ने शैली पनि अलिक परिवर्तन देख्छु। अरुहरु घरमा भन्छन् म बोल्दा घराँ, मोबाइलाँ, यसरी बोल्दोरैछु। कताबाट सम्झायौ ए, हँ?" म मेरा कुरा थपेर, प्रश्न गर्छु। पछि ट्विटर तिर यहि कुरो लेख्दा चाल पाएँ मगर भाषामा मोइँ भनेको आमा नै रैछ, उता फिनिसमा चाहिँ मोइँ भनेको बाइबाइ रैछ।
बिस्तारै सिँढी उक्लिँदै लठ्ठी टेक्दै "बोलिन्न पो धेरै दाइ, धेरै कुरो याद गरिन्छ नि।" ऊ भन्छ।
अब केटाहरूले हिँड्न अलिक ढिला गरेपछि म अघि लागेर सरासर हिँड्छु। बाटोबाट देखिने टाढा टाढा पहाडहरुको दृश्यले मनलाइ लोभ्याउँछ। अंकित आधा घन्टा अघि नै माथीको चौंरीगोठ पुगिसकेछ। हामीले फोटो खिच्यौँ, अञ्जन र एमेशलाइ पर्खियौं। पहाडहरु अङ्कमाल हालेर बसेका दृश्य, नीलो आकाश, पारी अटल उभिएका हिमाल, हिमाली कागको आवाज, चिसो हावाले माहोल आनन्दीत बनाइरहेको थियो। उनीहरु आए। केही बेर ढुङ्गमा अडेस लगाएर बसे। माथी उक्लिँदै गर्दा एक ग्रुप यात्रीहरु भेटिए। मनमनै कति चाँडो आएछन् त यहाँ भनेर सोच्छु। एक भाईसङ्ग बसेर केही बेर गफ हुन्छ। उनीहरु हिजै राती आएर क्याम्पिङ गरेको कुरो बताए। १०/११ जना रैछन्। ती भाइ र मैले एक तस्बिर पनि लियौँ। अनि त्यहाँबाट फेरि पिक् तिर तेर्सियौँ। झन्डै १५ मिनेट साँघुरो र भिरालो बाटो हिँडेर हामी आमा याङ्री पुग्यौं। ३ घन्टा १५ मिनेट, सम्भवत निक्कै छोटो समयमा नै हामीले आमा याङ्री पिकमा पाइला राखेछौँ। मैले पूजा गरेँ। जलहरु छर्किएँ। पाल्चोकबाट ल्याएको अक्षताले सबैको राम्रो होओस् भनेर प्रार्थना गरेँ। त्यहाँबाट १८०° मा हिमालहरु चियाइयो। हिमालमा हिउँ छैन। जुगल, दोर्जेलाक्पा र फुर्वीध्याचु मा मात्रै हिउँ देखियो। गाङ्जाला पिक देखि अरु नाम नजानेको पिकमा हिउँ देखिन। पोहोरको जाडोमा जाँदा हिउँले सेत्याम्मे देखिएका हिमालहरू कालापत्थर भएको देख्दा कताकता खल्लो लाग्यो। हो, हिमालमा हिउँ छैन। दशकौं पैले हिउँले भरिने हिमालहरु ऐले कालापत्थर भैसक्यो भन्दै थिए तल तार्केघ्याङका दाइले। झन्डै आधा घन्टा हिमाली हावा खाइयो। लुङ्दार र ध्वाजाहरु आफ्नै शैलीमा हावाको वेगसङ्गै हल्लिरहेका थिए। बसुँ बसुँ र बसिराखुँको भावले तानिरह्यो। तर कहाँ पाइन्थ्यो र त्यसरी? भाइहरु भोक लाग्यो भन्दै थिए। सुन्तला र जुनारहरु र अरु खाने कुरो सकिएछ। पानी पनि थोरै थियो। यद्यपि यी सारा बीच पनि गन्तव्यसम्म आउन पाएकोमा सबै खुसी भयौँ। ओराओ झरेर झुमोथाङ्कै चौंरीगोठ आएर केही बेर बस्यौं। थकाई मारेर अब शेर्माथाङ्ग जाने बाटो हुँदै हामी हिँड्यौँ। सड्क पुगेको रैछ झुमोथाङसम्म। तेर्सोबाट हिँडेर मोड नीर पुगेपछि एउटा सानो गोरेटो बाटो देख्यौँ। त्यहाँबाट शेर्माथाङ पुगिन्छ भन्ने थाहा थियो तर हिँडिएको थिएन। त्यो बाटो हिँड्न उत्साहित थिएँ म, किनकी यी लेकाली पहाडहरु मेरा घरबाट पनि देखिन्थे। यो बाटो ठ्याक्कै पहाडको शीरबाट हिँडेको रैछ। बायाँपट्टी इन्द्रावती पारीका गाउँहरू देखिन्थे, दायाँपट्टी मेलम्ची ले बनाएका उपत्यकाहरु !
हिँडदै मैले सम्झिएँ एउटा सम्झना योग्य वाणी,
"हरेक अग्लो पहाडमाथी एउटा गोरेटो हुन्छ, यद्यपि त्यो फेदीबाट नदेखिएको पनि हुनसक्छ।"
यो वाणी सिद्ध गर्ने त्यो लेकाली जङ्गलको बाटो लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ। ठाउँठाउँमा खर्कहरु देखिए। पुराना मानेहरु भेटिए। बाटो निर्जन थियो। तर दुई नदीहरुले बनाइएको पहाडी परिवेश बाटो हिँडीरहँदा मनले उँचो अनुभूति गरिरहेको थियो।
झन्डै साँढे १ घन्टा हिँडेपछि हामी शेर्माथाङको आर्मी चेकपोस्टमा पुग्यौं। आर्मीहरु भलिबल खेल्दै थिए। बाटो २/३ वटा भएकाले शेर्माथाङ गाउँ पुग्ने बाटो सोध्यौँ। अंकितले आर्मी क्याम्पबाट पानी ल्यायो।
"अब १५/२० मिनेटमा शेर्माथाङ पुगिन्छ केटा हो। आर्मी क्याम्प भएको दुरी नजिकै हुन्छ बस्ती।" मैले यसो भनेपछि केटाहरु अलिक आशावादी भए। नभन्दै केही बेर हिँडेपछि हाम्रो दोस्रो दिनको गन्तव्य पनि आइपुग्यो। झपक्क परेको बस्ती र दुई नदीहरु बीच उभिएको अग्लो लेकाली पहाडमा बसेको बस्ती सुन्दर त उसै पनि भयो। फेरि गुरु पध्मसम्भवले ३ वर्ष ३ महिना ३ दिन तपस्या गरेको ऐतिहासिक ठाँउ पनि, विश्व शान्तिका लागि घोडा चढेर राजा लिङ घेसर, देवकोटाको प्रिय् पहाडी भूगोल देखि राहुल सांकृत्यानले बखान गरेको माटोमा एक रात बस्ने सङ्कल्प पनि नयाँ होइन, निक्कै पुरानो, मात्रै रात बस्नको लागि यो समय पर्खन पर्यो। ऐले ३ तारे होटेल देखि सुविधासम्पन्न होटेलहरु बनिसकेछन्।
"दाइ हामी कहाँ बस्ने हो?" भोकले लखतरान परेको अञ्जन मलिन स्वरम सोध्छन्।
"एकैछी हिँड उ त्यहाँ गुम्बा भएको ठाउँसम्म है।"
हिँड्दै पुरानो गुम्बा भएको भञ्ज्याङ् सम्म पुगियो। झुमोथाङ तलतिर पानी खाने दोबाटोमा भेटिएक दाईहरु पनि भेटिए। उनीहरुले खाजा खाने भए तल होटेल छ अलिक छिटो जानु भनेर सल्लाह दिए। हामी पनि ती दाइले भनेकै होटेल तिर गयौं। होटेलका दाइ पसल बन्द गरेर तल गुम्बाको पूजामा जान ठिक्क परेका रहेछन्। हतार छ कि दाइलाइ भनेर सोधेँ। छैन भन्ने उत्तर आएपछि खाजा बनाइदिन भन्यौं। चिया बिस्कुट र चाउचाउ खाइयो। ती दाइ हेर्दा हँसिला थिए।
"यतातिर बस्न कता राम्रो होला दाइ?" खाजा खाइसकेर पैसा दिने बित्तिकै सोध्छु।
"सामान्य, वाइफाइ लगायतको सुविधा नभए त हाम्रो पनि छ।" उनी भन्छन्।
"हिमाल यात्राको आएको मान्छेलाई नि के सुविस्ता चाहिन्छ र दाइ। सफा र राम्रो रैछ हजुरको होटेल। हामीलाई भैजान्छ।" भनेर मैले भन्दै गर्दा भाइहर पनि सहमति जनाउँछन्। यति गरेर रूममा जान्छौं। केही बेर थकान मार्छौँ। होटेलवाला दाइ गुम्बा गैइ वरि आइसकेछन्। खाना पकाउन लागेको भन्दै थिए। हामी पनि आगो ताप्न तिर लाग्यौं। गोधुली साँझको सुन्दर दृश्य हेरेर भान्सामा छिर्यौँ। टिल्लिक टल्काएर सजाई राखिएका भाँडाहरु, सरसफाइ देखेर दङ्ग परियो। ती दाईका भाइ र बुहारी पनि आइसकेछन्।
"गुम्बामा के पूजा हो अङ्कल, घेवा त होइन होला है?" जिज्ञासा् लाग्छ।
"पहिरो गएको ठाउँमा माने, छोर्तेन हरु बनाउने चलन छ, त्यसैको पूजा हो। तपाईंहरुले पहिरो लडेको ठाउँ वरपर बनाएका मानेहरु देख्नुभयो होला नि ल?" ती दाइले भने।
भाईहरुलाई जिउ दुखेको भनेपछि होटेलवाला दाईले, "झ्याईँखट्टे चाख्ने हो त?" भनेर सोध्छन्। मसङ्ग अलिक अप्ठ्यारो मानेजस्तो गरेको भेउ पाएपछि, "खाने भए खाओ न त, तर धेरै होइन अलिअलि मात्रै।" अनि होटेलवाला दाईले झ्याईँखट्टे बनाइदिन्छन्, अञ्जन र म चाहिँ चिया खान्छौँ। होटेलवाला दाईको कान्छा भाइ चाहिँ खाना बनाउँदै हुन्छन्। अनि आन्टी बेला मौकामा हाम्रै कुराकानीसङ्ग मौकामा बुढासङ्ग ह्योल्मो भाषामा कुरा गर्छिन्।
"आन्टीको माइत चाहिँ कता हो त?" आन्टीले पनि हामीसङ्ग बोल्न इच्छुक भएको अनुभूति पाएपछि मेसोमा सोध्छु।
"घ्याङ्युल हो बाबू।" राता राता गाला, सेता हिमाल जस्ता टम्म मिलेक दाँतहरु देखाएर हाँस्दै भन्छिन्।
"अनि शेर्माथाङ्ग मात्रै बस्नुहुन्छ कि काठमाडौ तिर पनि बसाइँ छ?" भनेर सोध्छु।
"काठमाडौ त जाडो छल्न जान्छु कैलेकैले। नत्र काम नै पर्दैन, त्यहाँ माथी काठमाडौ गहिरोमा छ, निस्सासिएको झैं लाग्छ। गर्मीमा त बस्न नै सक्दैन, यतै आनन्द लाग्छ।" उनीले भनेकै कुरो मेरो मम्मीले काठमाडौ जाँदा यस्तै भन्नुहुन्थ्यो भनेर सुनाएँ।
"भाइहरुको घर चाहिँ कता हो त?"होटेलका जेठो अङ्कल सोध्छन्।
"हाम्रो यही तल पाल्चोक हो, चनौटे।"
"ए हाम्रै गामका मान्छे पो रैछ्न् त। मेरो नि जग्गा छ पाल्चोकको गैरीबिसीमा। पाल्चोकको भए पैलेको गाविस अध्यक्ष राम बाहदुर चिन्छ त भाइहरूले?"
"ओह्हो, वहाँ त मेरो बा पो!"
"तपाईंको घरमा मुद्दा  लिएर जान्थे, फुपूहरुले खाना पकाएर खुवाउँथ्यो। तपाईंहरु जन्मेकै थिएन होला।" उनी आश्चर्यचकित मुद्रामा मलाई भन्छन्।
"आज झुमोथाङमा भेटिएका दाइहरुलाई अघि तपाईंको होटेल आउँदा पनि भेटेको थिएँ, तिनै दाइहरुले यहाँ जान भनी सल्लाह दिएका थिए। आखिर यसरी जोडिन र भेटिन पो जुर्नलाई रैछ त अङ्कल।" म पनि अचम्मित पर्छु। अन्य होटेल तिर नगई यतै आइपुग्नु, भरे बाको चिन्जान त्यै पनि आज होइन झन्डै ३० वर्ष अगाडिको चिनाजान। म मनमनै सार्है खुशी भएको थिएँ।
"अनि तपाईंको चाहिँ बुढी खै त?" जेठा अङ्कलको कोहि नदेखेपछी प्रश्न गर्छु।
"मैले बिहे नै गरेको छैन। बा आमा बिरामी हुँदा उनीहरुको स्याहार गर्दागर्दै उमेर पनि गयो। अब ऐले ब्या गर्ने खासै रहर पनि छैन।" हँसिलो मुद्रा यति भन्दै गर्दा म उनले मेसो मिलाएर बिस्तारै भन्दै गर्दा आनन्द मानेर सुनिरहन्छु। धेरै कुराहरु सोधियो। त्यसै मेसोमा पब्जीको कुरो निस्कियो।
"भाइहरूलाई थाहा छ, यहाँको ग्याल्जेन भन्ने भाइ त पब्जी खेल्न कतार गएको छ। कति पैसा कमायो रे गेम खेलेर।"
"ए ग्याल्जेन को घर यहिँ हो? मज्जाले चिन्छौ आन्टी। हो नि पब्जीको वर्ल्डकपमा गएको।" अञ्जन हौसिएर भन्छ।
कुरा चल्दै खाना पाकिसक्छ। खाना खाइवरी हामी सुत्न तिर लाग्छौँ।
बिहान उठेर चिया खाइवरी भ्यु हेर्न भनेर हेलम्बु भ्युटावर बन्न लागेको ठाउँ तिर चार भाइ लम्किन्छौं। निगाले र सल्लाहरुको रूख भएर हिँडेको बाटो सुन्दर छ, झन् मौसम उस्तै सुन्दर थियो। भ्यु टावर छेउ स्कुल पनि रैछ सन् १९८९ बनेको। विदेशी सहयोग र स्वदेशीको हातहरुले चलेको रैछ। अङ्ग्रेजीमा पढाइ हुँदो रहेछ। स्कूलकै अलिकति माथी भ्युटावर बन्ने कुरो रैछ। भ्यु टावर बन्ने भन्ने बित्तिकै म उति सकारात्मक भैहाल्दिन। पहाडी टाकुराहरू आफैमा प्राकृतिक भ्यु टावर हुन् भन्ने ठम्याई छ, आवश्यक हेरेर बनाउँदा हुन्छ भन्ने लाग्छ। नत्र ती प्राकृतिक अवस्थामै सुन्दर छन् भने त्यहाँ गुराँसको वन फाँडेर गुराँस पार्क बनाएजस्तो ढोंग गर्नुको के अर्थ? तार्केघ्याङका ती होटेल दाइले भनेको समझ्न्छु, "अचेल हिमालतिर मान्छे नभएको ठाउँमा बजेट खन्याउने चलन बढेको छ, यसरी त्यो खर्च मान्छे भएकै बस्तीमा राम्रो कुरोको लागि खर्च गरे हुन्न र? सिमेन्टका बाटोहरु किन बनाउनु पर्यो? स्थानीय सामाग्रीबाट नै बनेका पदमार्ग हरु पनि त सुन्दर छन्, टिकाउ छन्।" उनले यसो भनिरहँदा मैले हेलम्बुलाई पर्यटकिय गाउँ बनाउने क्रममा मैले सुनेका तथ्य सुनाएको थिएँ, "हेलम्बु आजका पर्यटक वा यहाँको स्थानीयको बलबुतोले चर्चित बनेको होइन, ६०~९० का दशकहरु आएक पर्यटक, यहाँको धार्मिक महत्व, प्राकृतिक सुन्दरता र ह्योल्मो संस्कृतिले चिनाएको हो। आज जुन ढङ्गले हेलम्बुलाई पर्यटकीय ठाउँ बनाउने नाममा मानवीय संरचना बनाउने नाममा विकास गरिँदैछ यस्ले पैलेको पुरानो पहिचानलाई मास्ने छ, भ्यु टावर बनाउने नाममा प्राकृतिक अवस्थालाई सिध्याउने छ। बरु भएका बाटोहरुलाई मर्मत गरौं। स्थानिय सम्पदाको खोजी गरौँ। यो भन्दा अर्को पहिचान हेलम्बुलाई चाहिएला र?" मैले यसो भन्दै गर्दा ती दाइले सहमति जनाएको सम्झन्छु। मस्तिष्कमा अनेक कुरा खेल्ने नै भए। त्यहाँबाट हिमालहरु, पहाडहरु र उपत्यकाहरू चियाइएर हामी फेरि शेर्माथाङ्ग फर्कियौँ। आन्टी खाना पकाएर बस्नुभएको रहेछ। खाना खायौं हामीले अनि बिदा हुनु अघि सम्झनाका लागि तस्बिर खिच्ने भन्यौं। तस्बिर खिचेर पैसा हिसाब गर्न भन्यौं।
"भाइहरु रमाइलो हुनुहुँदो रहेछ। खुशी पनि लाग्यो। मैले अलिअलि मिलाइदिएको छु है।" होटेलवाला दाइले यति भनेपछि खुशी भैयो।
"लागेको पैसा लिनुस्, हिमाल हो कठिन छ बसाइँ, बरू होटेल सामान्य होइन उत्कृष्ट रैछ। मौकामा मेरो घरसम्म झर्नुस् है। यो आत्मीयताको लागि धन्यवाद।" भनेँ। खुशी साथ त्यहाँबाट बिदावरी भैयो। अर्को जेठा दाईसङ्ग पनि बिदावरी भयौं।
हामी हिँड्दै जन्थेला रहेको कुरो पद्यमसम्भवको मुर्ति भएको ठाउँमा पुग्यो। त्यहाँको सरसफाइ देखेर हामी ट्वाँ पर्यौँ।
"हाम्रो मन्दीरहरु किन फोहोर है फोहोरले भरिएका होलान् है दाइ?" अञ्जन त्यहाँको सरसफाइ देखेर दङ्ग पर्छ।
"हाम्रो पनि प्लास्टिकजन्य फोहोर लाई एकठाउँमा तह लगाउने हो भने हुन्थ्यो होला। तँ/हामी जस्तै पढेलेखेकाले नै फोहोर निश्चित ठाउँमा फाल्नुपर्छ भन्ने कुरो जानेरै पनि पालन गर्दैनौं अनि मन्दिर फोहोर हुने नै भयो नि?" म यसो भन्दै गर्छु। त्यहाँ केही बेर बसेर हामी ककनी तिर लम्कियौँ। रैथानेमा बनेको विश्व शान्ति स्तूप हुँदै ककनी झर्यौँ। तल ककनी भञ्ज्याङमा ऊ बेला हजुरबुवाहरुले बनाएको भैंसी डुब्ने आहालहरु हेर्यौँ। अचेल ती पनि अतिक्रमणमा परेछन्। भाईहरुलाई बाबुबाजेले यसो गर्थे भने इतिहासमा थोरै डुलाएर आहाल पनि देखाएँ। सम्झिएँ देश त अतिक्रमणमा परेको छ नै देश भित्रका ऐतिहासिक महत्वका यस्ता चीजहरु पनि अन्य मान्छेहरुको गिद्दे दृस्टी परिसकेको रैछ। ती झन्डै १२० वर्ष भन्दा बढी पुराना भैसकेछन्। झन्डै १०० भैंसी अट्ने आहाल हेर्दा तराईमा मात्रै होइन पहाडमा पनि गर्मी ताका भैंसीहरुलाई आहालमा राख्ने चलन रैछ भन्ने देखिन्छ। भैंसीहरु बर्खामा ब्याउने भएकाले वाटर बफेलो भन्ने नेपथ्यका अमृत गुरुङ्गको तर्कसङ्गै मैले चाहिँ आहालमै बस्ने हुनाले पनि भैंसीलाई अङ्ग्रेजीमा वाटर बफेलो भनिन्छ भनेर अनुमान लगाएँ। ऐले चाहिँ स्थान अभावले नहुनु फरक कुरो भयो। झन्डै १ घन्टा हिँडेर हाम्रा बाहरू बसेको अर्को बस्ती पाल्चोकको मन्दिर माथीको गाउँमा पुग्यौं। पैलोपल्ट ककनीको बाटो हुँदै त्यहाँ टेकियो। बाबाजे बसेको ठाउँ पनि कम्ता सुन्दर थिएन। नजिक्कै कलकल बगिरहेको पुरानो धारो। यो धारोको महत्त्व बा बाजेले पानी खाएकोले मात्रै होइन, दशैंको नवमी ताका कोटपूजामा राङ्गो बलि दिँदा पर्साउन पनि प्रयोग गरिँदो रैछ। खुलाल खड्काले नवमी पूजाकै दिन राङ्गो छिनाल्नै पर्ने परम्परा छ। पश्चिमबाट आएका पूर्खाहरुले बसालेको थिती ऐलेसम्म कायम नै छ। माथी बाबाजेको थातथलोमा ऐले बस्ने कोहि छैन। सबै बेसी झरे ४०/५० वर्ष पहिले नै। अनि हामी पाल्चोकी माईको मन्दिरमा आइपुग्छौँ। मन्दिरमा देविको दर्शन गरेर हामी बजारमा खाजा खाएर तल घर तिर लम्किन्छौँ। बाटाभरी यति धेरै बाटो पो हिँडिएछ है भन्दै गफिँदै ओरालो झरियो। र यो जीवन्को एउटा अविस्मरणीय यात्रा रहिरहनेछ, आखिर जिन्दगी सम्झना नै सम्झनाले बुनेको माला त हो नि भन्छन् भन्नेहरु !





-दीपकिरण खड्का
(एमबीबीएस अध्ययनरत)




No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...