Tuesday, January 24, 2023

आमाको मन

"बाउ नभएको छोराको बाउ मात्रै हुँदैन तर आमा नभएको छोरो टुहुरो हुन्छ। जब जब त्यो तल काम गर्ने अङ्कलको छोरालाई देख्छु, मन नै कुँडिन्छ। जब म यस्तै गरिबी, टुहुरा, विपत लगायत दु:खको पनि चरम कष्टमा बाँचेको अनगिन्ती मान्छेहरु देख्छु तब मलाई भगवान छ्न् रे भन्ने कुरो मिथ सिवाय केही लाग्दैन।" दुई साल अघि यसै लेखेको रैछु। मैले लेखेका कति कुराहरू लेखाईमा मात्रै सिमित भएनन्, कालान्तरमा ती मै आफैंमा आइपरे ! तर स्वयम् मेरो जीवनमा ती 'सत्य' नै देखिए। म वरपरका पात्रहरूलाई पनि चियाउँछु। जीवन संसारका दु:खका आहालहरूमा आमाहरूले गर्ने त्याग, तपस्या र प्रेमका कुराबारे शब्दहरूले के व्याख्या गर्लान् र? मैले युनानी लेखिकासङ्ग पनि संयोगका प्रसङ्गहरूमा कुरा कोट्टाएँ। बडो गहन संवाद गरिएछ। बा आकाश हुन्, आमा धर्ती; आमाको चर्चा गर्नुको अर्थ बाकै चर्चा गर्नु हो। दुवैको अस्तित्व बारे मैले भनिरहन पर्दैन ! तर मैले आफ्नै आमा देखि अन्य आमाहरू पनि चियाएको छु, तिनको विशालतालाई देखेको छु। सन्तानका लागि बा आमाहरू रित्तिन्छ्न्, ती आफ्नै गच्छेले रित्तिन्छन्। रित्ताई विविध र बहुआयामिक हुन्छ तर समग्रतामा हर किसिमले रित्तिन्छन्। यस्तो लाग्छ नदी बग्नु, बादल बहनु जस्तै रित्तिनु पनि बाआमाको धर्म हो, यो 'धर्म'को रिलिजनसङ्ग सम्बन्ध खास छैन तर नभएको होइन। तर यी बीच पनि सन्तानको निमित्त एउटा आमा भएर उभिन सानो त्याग र तपस्या छैन। ९ महिने कथा त जता पनि चर्चा हुन्छ, तर त्यसपछि बच्चा हुर्काउँदाको अवधि त नेपथ्यको कथा हो। एक्लै बच्चा हुर्काउने आमाहरूको कथाले भावुक बनाउँछ, त्यो बेला आमा नै आमा र आमा नै बा भएको हुन्छिन् र यस अर्थमा उइले मैले ती वाक्यहरू लेखेको थिएँ। त्यो कल्पना थिए, कल्पनामा डुबेर लेख्ने म साहित्यकार होइन। देखे, भोगेका घटनाहरूले मन र मस्तिष्कलाई चसक्क बनाइसकेपछी म केवल शब्दको सहारा लिन्छु। सन्तान जोडिएको देखिरहने, हर काममा सन्तानको सम्झना र याद, हर 'मीठो' खानलाई मुखमा हाल्नु अघिको याद, 'सन्तानले कति सम्झियो होला !' भनेर भावुक हुने, हर बखत सन्तानको सुखद यात्राको कामना गर्ने आमाहरूको कथा, र भोगाईले भावुक बनाउँछ। र सम्झन्छु, मै बूढो त आमाको यादमा हुन्छु ल, ती साना केटाकेटीको कुरो के गरुँ र? ती साना केटाकेटीको आमाको कुरो के गरुँ? छुट्टिएर टाढिँदा कुँडिएको मनको कुरो के गरुँ? हर आमाहरूलाई सत् सत् नमन ! (पात्र- फङ थाङ)

No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...