`वारीयर्स इन दी हिमालयज´
'Warriors in the Himalayas'
(१,०२५ मि बाट ४,६१० मि सम्मको कठिन हिमाली यात्रालाई हामीले निक्कै छोटो समयमा सकेर फर्कदा विदेशी पदयात्रीले दिएको उपनाम)
यात्रा:
घुमाई गरेर गन्तब्यमा मात्र पुग्ने उद्देश्य भएका धेरै हुन्छ तर यात्रालाई जीवन मानेर जीवनको सार्थकता खोज्नेहरु निक्कै कम हुन्छन्, भेटिन्छन्। धेरै साथीहरु ट्राभल या टूरमा जाने भन्छन् यर यथार्थमा धेरैले यात्रा गर्दैनन्,
घुम्छन् मात्र! यात्रा गर्दा हिमाल,डांडा-कांडा, कन्दरा, फांट मात्र हेरिन्न त्यहांको परिवेशमा हुर्केका मानिसहरुको जीवनशैली,सुख-दु:ख, चालचलन पनि नद्जिकबाट नियालिन्छ, महशुस गर्ने प्रयत्न गरिन्छ। घुम्नेहरुको उद्देश्य रमाइलो गर्ने भन्ने मात्र हुन्छ, बस् कहां पुग्ने हो अन्तिम गन्तब्य त्यहां पुग्छन्, आउंछन्, फर्कन्छन, बाटाका कठिनाई, सजिलापन कुनै तीता-मिठा फल बन्दैनन् तर जो यात्रा गर्दछन् ती क्षण-क्षण बांच्दछन्, तिनका लागि ती जीवन भोगाइका सङ्गालो बनिदिन्छन्, जीवन सार्थकताको मोड बनिदिन्छन् अनि
यात्राको ४८ घण्टा:

हामीले हाम्रो यात्रा चनौटे
(१,०२५ मि) बाट कुटुमसाङ्ग ( हुँदै थारेपाटीमा (३,६९० मि) गएर रात बितायौं। माङ्गेन गोठ (२,९८५ मि) बाट उकालो चढ्दा अंध्यारोले आफ्नो प्रभाव पार्न थालिसकेको थियो। कुटुमसाङ्गको यात्रामा अघि बढ्दै गर्दा हामीले बंदेललाई पनि आफ्नै अगाडि देख्यौं, हामी अत्तालिएर भाग्यौं तर पछि धेरै बेरसम्म त्यत्तिकै ढलेको देखेर मनमा दया आउंदा आउंदै पनि छोडेर हिंड्न विवश भयौं। यात्राको क्रममा सांझ पर्दै जांदा, पानी पनि छिटाउन थाल्यो, निक्कै चिसो अनुभव भएसी हामीले बाटैमा साना साना सुकेका दाउरा बटुलेर आगो ताप्यौं। पानी रहेसंगै उकालो लाग्यौं। उकालो चढदा रातले ढपक्क छोप्यो, हामी पनि रातमा आधा घण्टा जङ्गलमा बाटो भुलिंदा जङ्गलसंगै प्रीति सांध्न पुगेछौं। धन्न दैव दाहिना भएछन् क्यार हाम्रो पांच जना टोली सकुशल जङबाट थारेपाटी पुग्यौं, ओहो हामीलाई अहिले सम्झंदा कहाली लाग्छ, मन कुटुक्क खान्छ। अनि बिहानै जुगल, रोल्वालिङ हिमालहरुको दर्शनसंगै गोसाइँकुण्डको बाटो ततायौं। उकाली ओराली गर्दै सानो घोप्टे, फेदी हुँदै लौरी बिना भञ्ज्याङ कट्नु अगावै हामीलाई सुर्यले प्रत्यक्ष दर्शन छाडछन्, बादल अनि कुहिराहरु वेगले आएर हाम्रा बाटाहरु चिसा अनि अंध्यारा बनाइदिन्छन्, लेकाली हावाले बल्ल आफ्नो ठाउँ लिन थालेको महशुस हुन्छ। ४,४०० मि पुगेसी प्रत्येक मि चढन यस्तो गार्हो भयो कि मानौं हामी यो यात्रा हाम्रा लागि गर्दैछौं या अरु कसैको लागि? सोच्न बाध्य बनायो। निक्कै कठिनाईको साथ हामी सुर्य हिमालको काखसंगै रहेको सुर्य कुण्ड(४,६१० मि) बाट लौरीबिना पास हुँदै गोसाइँकुण्डको (४,३८० मि) यात्रा गर्न सफल भयौं, हाम्रो खुशीले सिमा भनेन। अनि रात लेक्साइडमा बिताएपछी बिहान झिसमिसेमै हामीले मेलम्चीघ्याङ (२५६० मि) पुग्ने अठोटको साथ यात्राको सुरसार थाल्यौं। फर्कदां हामी रमाइलो गर्दै, नीला नीला अनि छ्याङ्ग खुलेको आकाश हेर्दै फेदीसम्मको यात्रा गर्यौं। फेदीभन्दा पारीको डांडालाई घोप्टे डांडा भनिदोरैछ जहाँ प्लेन दुर्घटनाबाट १०० भन्दा बढी यात्रुको दु:खद निधन भएकी कुरा फ्रेन्च पर्यटक गाइड दाइए सुनाउनु भयो। हामीले प्लेनका केही टुक्रा पनि हेर्यौँ, अझै पनि प्लेनका अवशेष भेट्न सकिने रैछ।लामो यात्रा पछि पुनः थारेपाटी हुँदै मेलम्चीघ्याङ्ग ( २,६०० मि) मा आएर रातमा विश्राम लियौं। मेलम्चीघ्याङ्ग बाट बिहानै ओरालो झरेर मिलारेपाको दर्शन गर्दै मेलम्ची सुरुङ्गको अवलोकन संगै हामी हाम्रो घरमा आएर यात्रालाई विश्राम दिने प्रयत्न गर्छौं, तर ती विश्राम कहाँ लिन्थे र? ती त हाम्रा मन मस्तिष्कमा सागरका तरङ्गझैं लहर लहर ल्याएर जीवन्त बनिदिन्छन्, विश्राम होइन गतिशीलताको प्रखर नमुना बनिदिन्छन्।

विदेशीसंग हाम्रो भलाकुसारी:
बाटोमा नेपाली यात्री कोहि भेटिएनन् बरु इजरायली, अमेरिकिन, बृटिश, अस्ट्रीयन, इटालियन, भारतका पर्यटकहरुसंग बाटोको भेटमा केही पलहरु गफमा बितायौं। ती सबैलाई हिमाली परिवेशले लगाएको पिरती सम्झनयोग्य थिए, ती भन्दा पनि नेपालीको मुस्कान, सरलता र आतिथ्य सत्कारको मौलिक शैलीको प्रभावले होला उनिहरुको शब्दमा मुक्तकण्ठले प्रशंसा गर्थे। यात्रामा हामीले रतन लाल विश्वास जस्ता विश्व कीर्तिमानी हिमाल यात्रा गर्ने व्यक्तिलाई पनि भेटघाट गर्ने सुवसर पनि पायौं। हिमालका कुना कन्दरामा अधिकांश समय बिताएका रतन सर उमेरले ७८ टेकेका रैछन् भने हिमाल यात्रा २५ औं पटक रैछ, हामी चकित पर्यौं, हिमाललाई माया गर्ने मानिसहरु त हिमालसंग मित नै पो लगाइसकेका रैछन्। भेटिएका धेरै मध्येले नेपाल भ्रमण ३/४ औं पटक गरेर पनि तृष्णा नमेटिएको प्रसङ्ग धक खोलेर भन्थे, हामी पनि चाख मानी मानी सुन्थेयौं।
निष्कर्ष:

गोसाइँकुण्ड सम्मको यात्रा धेरै गरे, आफ्नै तीता मीठा अनुभवहरु संग्रहित गरे होलान्, तर हामी त्यस ४८ घन्टे हिंडाइ यात्रामा बिताएका हिमाली परिवेश, नीला आकाश, सेता हिमाल, वेगका कुहिरा, चिसो अनि कठ्याङ्रीदो हावा, सुगन्धयुक्त वनस्पती, अग्ला अग्ला धुपिका रुख, चट्टानी पहाडबाट निस्किएका झरना, अनगिन्ती पहाडहरु, पहाडका तरेलीहरु, उकाली ओराली बाटाहरु, कुण्ड कुण्ड भरिएका पानीहरु लगायत आंखाले देखेर मन-मस्तिष्कले लेख्न नभ्याएका हजारौं कुराहरुले हामीलाई हाम्रो यात्रा सबैभन्दा अविस्मरणीय बनाउन पुग्यो। यो यात्रा हिंडाइमा मात्र सिमित भएन, हाम्रो जीवन भोगाइका तरेलीहरुसंग मेल पनि खायो भलै यो संयोग नै किन नहोस्।
`वारीयर्स इन दी हिमालयज´
अन्तिममा हामीलाई `वारीयर्स इन दी हिमालयज´ भन्ने नाम दिएर हाम्रो यात्रालाई अझै उत्साहीत गर्ने सम्पुर्ण विदेशी साथीहरुलाई आभ्य नमन। ५ औं पटक भन्दा बढी नेपाली हिमाल चहारेका क्यानडाका पर्यटकले हामीलाई यस्तो उपनाम दिए। अरु पदयात्रीहरुसंग पनि साक्षत्कार भेट गर्दा हामीलाई हाम्रो यात्रा छोटो समयमा गन्तब्यमा पुगेर फर्कदा धेरैले लख काटे, ओहो भन्दै यात्राको मुक्तकण्ठले हाम्रो यात्राको कथा गाए।
No comments:
Post a Comment