Friday, January 29, 2021

सर कुइता

सर कुइता

आज चिसो छ। बाहिर खोलाको स्याँठ चलिराखेको छ। आकाश बादलले ढाकेको छ। माछाको काम सकेर म माथी घरमा जान्छु। हजुरआमा, ममी, काकी आगो ताप्दै गफ गर्दै बसिरहनुभएको छ। म पुग्छु। कुइता खाटमा टुक्रुक्क बसिराको छ। मलाई पुलुक्क हेर्छ। मुसुक्क हाँस्छ। म पनि मुसुक्क हाँस्दिन्छु। मन नलागी नलागी हाँसेको प्रस्ट बुझिन्छ। कुइतालाई सुरुवाती दिनमा कसैले सोध्दा मैले अगाडि सर थप्दै सर कुइता बोलाउन थालेको थिएँ, यस्तै सिको गर्दै अरुले नि बोलाउन थाले। कोइ कोइ सर किन भनेको भनेर मलाई सोध्थे, अनि मचाहीँ उहाँ इतिहासको शिक्षक हुनुहुन्थ्यो पैले भन्थेँ। यतिमै कुरा टुङ्गिन्थे। नमानुन् पनि कसरी? झुत्रे देख्ने बित्तिकै ऊ शिक्षक नहुने भन्ने पनि त होइन नि। कुइता यता हाम्रो घरतिर आएको पनि दशकौँ भैसकेछ। सुरुवाती दिनमा काम पनि धेरै गर्ने, बलियो थिए। भुइँचालो अघि बस्ने हाम्रो गजबको घर थियो, त्यहाँ प्रयोग भएको दलिन, झ्याल-ढोकाको काठ सबैले उसैले बोकेको थियो। अब त त्यो इतिहासमै रह्यो तर पनि उसले गरेका कामहरु सम्झनामा भए पनि बेला मौकामा स्मरण गर्ने गरिन्छ। उ नुवाकोट देखि आएको मान्छे, उ त्यहीँ जन्म्यो, यौवन बितायो तर जब उसले हामीले खेलेको माटोमा टेक्यो अनि फर्केर कैले पनि पछाडी फर्केन, उसको कर्मको ठाउँ नै यहिँ भयो। कुइतालाई देख्ने बित्तिकै मलाई कवि दिनेश अधिकारीले लेख्नुभएको कविता हर्क बहादुरको याद आउँछ। कुइताको कतिपय चरित्र हर्क बहादुरसँग मेल खान्छन्। कुइतालाई राष्ट्रियता के हो सँग कुनै साइनो छ, उसलाई नागरिकता सिर्फ कागज लाग्दछ। उसलाई राजनीति, धर्म, परम्परा, रितितिथी, चालचलनसँग कुनै साइनो छैन। उसको जीवनको एउटा लोभलाग्दो पाटो छ। ऊ सधैं काम गरेर खान्छ। इमान्दारीतामा विश्वास गर्ने एउटा कर्मयात्री हो। उसलाई भविष्यको कुनै चिन्ता छैन, वर्तमानमा खुशी हुनबाट पन्छिएको छैन। मैले च्यामा देखेको शक्ति उसले कोदोको झोलमा देख्छ। मेरो नशामा रगत होइन च्या बग्छ भन्ने कुरो जस्तै ऊ सामाजिक सञ्जालमा भएको भए मेरो नशामा रगत होइन कोदोको झोल बग्छ भन्थ्यो होला। उ स्वदेशीलाई मन पराउँछ भनेर भन्न सकिन्छ्। ह्विक्सी, वा विदेशी ब्रान्डको रक्सीसँग कुनै लोभ छैन। राष्ट्र नै विदेशी ब्रान्डले बिकेको बेला कोदोको झोललाई गलत देखाउन प्रयत्न नभएको पनि होइन, स्वदेशी उत्पादनलाई हेला गर्नु हाम्रो बानी नै भैसको। रक्सीलाई किन यत्रो महत्व भन्ने प्रश्न नतेर्सेला भन्न सकिन्न। यसो भन्दै गर्दा मैले रक्सी अमृत हो भन्न खोजेको होइन। कुइतालाई जोड्न रक्सीको कुरो गर्नै पर्नेहुन्छ। कुइता र रक्सी पर्यायवाची हुन् भन्न सकिन्छ। कुइताको रक्सी प्रेमलाई नकार्न सकिन्न, उसले त्यहाँ शिवजीको सत्यम्, शिवम्, सुन्दरम् को अनुभूति पाउँछ। आजको उसको खिन्न अनुहारमा मैले रक्सीको कमी देखेँ। बा आएर जा कुइता रक्सी ल्या होइ भन्ने बित्तिकै उसको अनुहारमा आएको चमकता लोभलाग्दो थ्यो। मलाइ माया गरेर थेबा भन्छ। अनि अस्ति उसले र मैले दाउरा चिर्दा मेरो फोनमा भएका ४/५ वटा तामाङ्ग सेलोका गीत बजाइदिएँ, ऊ सार्है खुशी भयो। एउटा स्वतन्त्र मान्छेको बिम्ब हो कुइता। कुइता एउटा प्रिय् नाम हो, एउटा प्रिय् मानिस हो। देवकोटाको साहित्यमा भेटिएका पात्रहरु जस्तै कुइता पनि एयउटा विशेष पात्र हो। उसलाई दाउरा कसरी काट्ने, भारी कसरी बोक्ने, गर्‍हुङा गर्‍हुङ्गा मुढाहरु कसरी बोक्ने भनेर सिकाउनु पर्दैन। आइन्स्टाइनको आँखाबाट हेर्ने हो भने ऊ प्रतिभा हो। समाजले चिन्न नसकेको प्रतिभा। ऊ तुलनाको तराजुमा पिछडिएको प्रतिभा हो कुइता !


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...