Friday, January 29, 2021

च्यामुसीको कथा

च्यामुसीमा आफ्नै कथा

कैलेकैले जिन्दगीमा यस्तो समयले ठाउँ लिन्छ जुन कल्पिएको पनि हुँदैन र त्यो नतिजा नजिक आइपुगे फेरि कथाले फरक मोड लिइदिन्छ। यस्तै रह्यो सेमेस्टरका अन्तिम समयका केही दिनहरु। मैले २ दिने बिदाका लागी पनि १५/१७ दिन दुःख पनि पाएँ, खुशी पनि पाएँ। साँच्चै अविस्मरणीय रह्यो, सम्झन र बिर्सनलायक।

अनुशासित विद्यार्थीको एउटा सिलसिलालाई अझै कायम गर्ने एउटा अभिलाषा सधैं रहिरह्यो, र यसलाई यता पनि निरन्तरता दिइयो भन्नुपर्छ। अनुशासित, इमानदारी भएर अन्तिममा नतिजा आफू तिर नहुँदा पनि कुनै ग्लानी हुन्न रैछ, कर्म गर्न फलको आशा नगर भनेर मन बुझाउने बाटो पनि हुन्छ नै।

डिसेम्बर २० मा चिठी कार्यलयमा बुझाइसक्नुपर्ने हुन्छ। मैले राती नै लेखेर तयार गरिसकेको थिएँ, भएका कुरालाई प्रस्ट लेखेको थिएँ, दायाँबायाँ सोचिन। अघिल्लो दिन केमेस्ट्रीको परीक्षा थियो। परीक्षा केमिस्ट्री त्यहाँ माथी चिनियाँ भाषामा केही चाहिएला र? त्यहाँ माथी हाम्रा केइ विदेशी साथी अलि जान्ने बढी भैदिए। तिमीहरुलाई म छुट्टै प्रश्नपत्र बनाउँछु, चिनियाँ विद्यार्थीहरुलाई भन्दा सजिलो भनेर लाओशिरले भनेका थिए। यसलाई हर्ष मान्नु या विस्मात्, बरु विचार बाँडिए। मैले त उतिबेला नै विदेशी साथीहरुलाई भनेको थिएँ, हामीलाई उत्तम चाहिँ चिनियाँ विद्यार्थीहरुलाई तयार गरिने प्रश्नपत्रमा नै परिक्षामा बस्दा हुन्छ। यसो हुँदा फेल नै हुँदा पनि प्रयास जारी गरिएको थियो भन्ने हुन्थ्यो, इज्जतसँग फेल हुइन्थ्यो। पास हुने सम्भावना कम छ। तर यता चिनियाँमा हामीलाई के सजिलो, प्रश्न बुझिने, उत्तर चिनियाँमा कसरी लेख्ने? यो गन्थनमन्थन गर्दागर्दै परीक्षा आइपुगियो। परिक्षा पनि दिइयो। प्रश्न पनि बुझियो, तर उत्तर अङ्ग्रेजीमा लेखियो। न्युमेरिकल गरियो तर उत्तर अङ्ग्रेजीमा लेखिएकाले पास पो गर्ने हुन् या नहुन् ले चाहिँ मन द्विविधामा भयो। तर यता चीट चोर्न तरिका लगाउनेले चिनियाँ मै लेखे। यसरी केमिस्ट्री परीक्षा आफैंमा गजब माहोल भैदियो।

कुरो गर्दै थिएँ २० तारिखको। अनि म गएँ अफिस। आफ्ना कुरा पढिसकेसी लाओशिर् यसरी आगो भइन् म त्यहाँ उनको हिस्सा नै खोस्न पुगेको छु। मैले मेरा कुरा इमानदारी पूर्वक राखी नै रहेँ, त्यहाँ उनी चिनियाँ र अङ्ग्रेजीमा रिसाइरहेकी थिइन् नै। मेरो काम अझै थियो चिनियाँ मै दुई चार कुरा भन्नू, सम्झाउनु। मेरो केइ नलागेपछि म चुप भएँ। कालो बादल मडारिएको आकाश जस्तै प्रस्ट अँध्यारो भएको थियो मेरो अनुहार। तत्काल म के झुट बोलुँ, या त्यस्तो खुरापाती सोचुँ। चुपचाप फर्किएँ। त्यसदिन पिबिएलका साथीहरुसँग बेलुका सानो प्रस्तुति पनि दिनु थियो। तोङमन पुगेर उनीहरुलाई भेटेँ र सानो कागजमा रहेको अङ्ग्रेजी कवितालाई केइ बेर भट्टाइयो। हिप्पोक्रेट्स सपथको बारेमा लेखिएको कविता हुनुपर्छ। हिप्पोक्रेट्सलाई सिपोखलाँती पढ्नुको मजा चाहिँ बेग्लै थियो। तर यता त्यो घट्ना मेरो मस्तिष्कमा समुन्द्री छालजस्तै ठोक्किरहेका थिए। मेरो मन त्यसै आकुलव्याकुल भएको थियो, म त्यो गाली भन्दा अरु केइ सम्झिन सकिरहेको थिइन। बेलुका पिबिएल कक्षामा गएर त्यो कविता वाचन गर्‍यौं, फर्कियौँ। तर मन अशान्त थियो, के गर्ने होला भनेर सोचिरहन्थ्यो। तिमी त छात्रवृत्तिको विद्यार्थी, यस्तो किन, टिकट परिवर्तन गर पटकपटक भनिन्। यो पक्षमा म छँदै थिइन।

दोस्रोपटक एउटा नयाँ सोच आयो, बिदा मगाइको एउटा चिट्ठी अर्को हामी पढ्ने लाओशिरको बाट ल्याउने। अनि म गएँ त्यताका हाम्रा मुख्य लाओशिरकोमा। तिनी माझ मैले आफ्ना कुरा राखे। नेपाल बारे जिज्ञासा् राखे। चिनियाँमाआफ्ना कुरा राखेँ। ती सार्है मिजासिला थिए। हँसिलो मुद्रामा मेरा कुरो सुन्दिए, अनि चिठी तयार गर्दिए। जाने बेलामा फोटो खिचाएँ।अनि छेवैका अर्का लाओशिर पनि मेरो बारे जिज्ञासा् राख्दै थिए, यो केटाको चिनियाँ भाषा राम्रो रैछ त। अनि मुख्य लाओशिर मेरा कुरा गर्दै थिए। म बिस्तारै निस्किएँ, मलाई अब अर्को दुई हस्ताक्षरको खाँचो थियो। मनमा एउटा नयाँ खुसीले प्रवेश पाएको थियो। तर त्यो खुशी पनि लामो समय टिक्न पाएन। यो चिट्ठीले काम गर्दैन भनेसी मैले आएर हाम्रा डा दिलिप दाईलाई सुनाएँ। मनमा आँधी चलेको छ। अनुहारमा चिन्ताको छनक प्रस्ट पाइन्थ्यो। तिमी लि लाओशिरलाई भन एकपटक भन्नुभयो। मैले अनि चिनियाँ लामो चिठ्ठी लेखेँ। पठाउनु अघि एउटा डर थ्यो के भन्ने होला भनेर। किनकी ती दुबै लाओशिर एकाअर्काको राम्रा साथीहरु हुन्। अनि म्यासेज फर्कियो। चिन्ता नमान्नु एउटा गोप्य कुरो छ। तर तिमी मेरो प्यारो विद्यार्थी भएकोले मात्रै भन्दैछु। जुन कारण देखाएर तिमीले चिट्ठी लेख्यौ त्यही कारण अरुले पनि देखाएका छन् र यो उति राम्रो कारण होइन। बरु यसको लागि तिमी घरायसी कुराहरुलाई कारणका रूपमा देखाउन सक्छौ भन्नुभयो। अनि मैले लाओशिरलाई धन्यवाद दिएँ। लाओशिर चाहिँ हामीलाई भाषा पढाउँदा ताका कि प्रमुख पनि थिइन्। म राम्रो विद्यार्थी भएको कुरो उहाँलाई ज्ञात भएकै कारण पनि उनले मलाई सहयोग गरेको बताईन। पछि अरु धेरै विषयमा गफ गर्‍यौं। मन अति नै हल्का भएको थियो, अब चाहिँ मेरो काम सफल भयो भन्ने कुरोमा म ढुक्क थिएँ।

अर्को दिन म फेरि नयाँ चिट्ठी लेखेर म कार्यलय पुगेँ। दोस्रो लाओशिरको सहायता लिनुपर्दा मलाई अलिकति अप्ठेरो महशुस भएको थियो। मलाई धेरै केही नभनी छिङ चियाको फारम भर्न लगाइन। त्यहाँ बाट निस्केसी लाग्यो। अब सबै समस्या दूर भयो। अनि अर्को समय फिजिक्सको परीक्षा सकाएर म मुख्य लाओशिरकोमा गएँ। उनी मेरो दौडाई र मैले पाएको दु:ख देखेर दङ्ग परेका थिए। उस्तै मुद्रामा मलाई त्यहाँ पनि सहयोग गरे। यता काम सकाएसी म कार्यलय खुलेको दिन अब यता भाषा पढाइने कलेजमा गएँ। हात्ती छिर्‍यो, पुच्छर अड्कियो भनेजस्तै भैदियो। अन्तिममा यो दुई दिनको बिदा भित्र विश्वविद्यालयमा प्रवेश पाइसक्नुपर्छ कि त सबै परिक्षा पास गरेको हुनुपर्छ भन्ने दुई माग तेर्सिए। ऐले सम्म नतिजाफल सार्वजनिक भएको छैन, हुने दिन निस्किनुछ। अब झन् दोधारमा परियो। नतिजा निस्किए पनि ७ वटा परिक्षामा एउटा केमिस्ट्रीको डर मनमा थियो। त्यो  'सजिलो' प्रश्नको 'गार्‍हो' नतिजा आउने हो कि भन्ने डरले मनमा अर्को डर जन्माइदियो। यसको लागि फेरि तेस्रोपटक म मुख्य लाओशिरको कार्यलयमा  पुगेँ। तेस्रोपटक पनि त्यै समस्यामा पुगेको देखेर उनी आफैं आजित भए, खुइया गर्दै लामो सास फेरे। अनि फेरिहस्त मैले आफ्ना समस्या सुनाएँ। उनले फोन लगाए, समस्या बारे बुझ्न खोजे। अब मलाई ती बिस्तारमा बताए। म के गरुँ त लाओशिर भनेँ? उनीसँग पनि यहि गर्नु भन्ने नभएसी मलाई अझै १ दिन प्रतीक्षा गर्न भनेँ। त्यो एकदिन कुर्न मेरो लागि सानो कुरो थिएन। उसैपनी म २ दिने बिदाको लागि १७ औँ दिनदेखी दौडिरहेको थिएँ। तैपनी मान्छेको आस त हो। कुर्न थाले।

पछि मैले अर्को चिट्ठी लेखेर बुझाएँ, त्यो दुई दिन बिदा पनि मागिन। बरु उल्टै १ हप्ता अघि फर्किने भएँ। अनि लाओशिरहरुलाई सबैलाई धन्यवाद दिएँ। आखिर मैले त्यहाँ कालो चित्र देखेँ, सामान्य कुरो त समस्याले ग्रस्त ठाउँहरु देखेँ। मूलत: मुख्य लाओशिरसँग प्रत्येक भेट गजब रहन पुग्यो। अरु  लाओशिरको रूखो व्यवहार देख्दा पनि यी लाओशिरले मसँग जुन स्तरले संवाद गरे त्यो साच्चै विशेष रह्यो। यस्तै एक समय थियो। म बाटोबाट एकजना भाइको फि तिर्नुथियो। जाँदै गर्दा यिनले बोलाए। मलाई उनको कारबाट अर्को अफिससम्म पुर्‍याइदिए। लाओशिर भएर पनि हामी प्रतिको यस्तो दया प्रति म साँच्चै पग्लिए। यिनै लाओशिरले भनेका थिए, च्यामुसीमा नेपालीहरुको पढाइ साँच्चै राम्रो छ, चिनियाँ भाषा पनि राम्रो बोल्छन्। अझै मलाई हान्ज पढाउने लाओशिरसँग बिहान गफ भयो, उनी मसँग केइ जिज्ञासा् राख्दै थिइन्। सबै पास हुन्छौ होला है तिमी त? लाओशिर, केमेस्ट्री भन्न सक्दिन, बाँकी ७ वटा त मजाले पास हुन्छु। मूल कुरो चिनियाँमा पढ्न सजिलो छैन भनिन्।

मूल यति सार्है दु:ख पाइसक्दा पनि मलाई मनमा कुनै ग्लानी भएन, किनकी यी हर कर्म इमन्दारिताले गरिएको थियो, उद्देश्य प्राप्तिका लागि कुनै झेल गरिएको थिएन। भन्न त मैले धेरै सोझो बन्न नहुने रैछ भनेर पनि भने, जङ्गलमा पनि सोझो रूख नै पैले काटिँदा रैछन् भने तर त्यसो हुन्छ भन्दैमा आफ्ना काम इमान्दारी पूर्वक गर्न छाड्नु त भएन नै। मलाई अझै सरल, विनम्र र अनुशासित भएर काम गर्नुपर्छ भन्ने प्रेरणा मिलेको छ। एक व्यक्तिले सबैलाई एकै ठाउँमा लाखेर तौल, मुल्यांकन गर्नु पनि हुन्न रैछ। ती दु:खमा पनि कोइ म कोइ साथ दिने मानिसहरु, वा नआत्ती भन्ने भन्ने मानिसहरु हुँदा रैछन्। २ दिने बिदाको लागि १७ दिन खर्च गर्दा पनि जीवनमा एउटा नौलो अभ्यास रह्यो। साधुवाद।


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...