के त्यो नियमित आकस्मिकता थियो?
५ औँ वर्ष भैसकेछ एउटा पूरानो कथालाई सम्झेको। त्यो एउटा जिवन्त समय थियोे, एउटा छुट्टै कथाले प्रवेश पाएको थियो जिन्दगीमा। तर अचम्म यसमा थियो कि त्यो कुरा ढिला थाहा पाएँ, कडा पाएँ। एउटा यस्तो पात्रसँग भेट भयो जो भिन्न थियो, जीवनमा एउटा उमंग थपिदिएको थियो। सोचिएको थिएन मैले पनि त्यो समय चाहेको कुरोलाई अनुभूति गर्न पाउँछु होला भनेर?
हामीले अनुभव गर्न सक्ने संसारको सबैभन्दा सुन्दर कुरा रहस्यमय छ। रहस्यको; यो भावना नै-सबै प्रकारका कला र विज्ञानको स्रोत हो। त्यो मानिस; जो रहस्यका भावनाहरूसँग अपरिचित छ, जो एकछिन रोकिएर रहस्यप्रति छक्क पर्न सक्दैन, त्यस्तो मानिस मरेतुल्य हुन्। उसका आँखा खुलेर पनि बन्द छन्। आइन्स्टाइनको यो एउटा भनाई अहिले पनि उत्तिकै सान्दर्भिक लाग्छ मलाई।
खास्मा यो कुरो मेडिकल इन्ट्रान्स तयारी गर्न जाँदाको कुरो हो। फर्स्ट टाइम भाइब्रेन्ट गैयो, मैले V7 सेक्सन पाएको थिएँ। अनि उनी चाहीँ V8, रुम पनि वल्लो र पल्लो थियो। कहिलेकाहीँ देखादेख हुन्थ्यो। उनी एक केटासँग आएर हाम्रो रुमको ढोकामा बस्थिन्, मलाई हेर्थिन म पनि हेरेझैं गर्थें। मलाई कतै कतै यिनी नेवार्नी त हैनन् भन्ने लाग्थ्यो। राम्री लाग्थ्यो। त्यो समय अघिसम्म पनि म केटीहरु भनेसी टाढा नै हुन्थेँ। अझै सानो छँदा भाई र म केटीहरुको नाम लिएर जिस्किने अनि कैलेकैले सानो झगडा नै पर्ने। यसो हुँदा आमाले एउटा वचन गराउनुभयो। हामीले भेट्ने केटीहरु दिदीबहिनी हुन्, नराम्रो नसोच्नु। हामी मान्थ्यौँ पनि। १२मा म एकजना सर भाको ठाउँमा फिजिक्स पढ्न जान्थे। अनि त्यो बेला साथीहरूको गर्ल्फ्रेन्ड भैसक्थे अनि एकपटक सरसँग गफ हुँदा मेरो गफले दङ्ग पर्नुभाथ्यो। यो भाईको यस्तै रहे ब्या गर्ने केटीहरु कोइ पनि हुँदैनन्। सबै हाँसेका थिए। म नि फिस्स हाँसेको थिए। तर समय एउटै के हुन्थ्यो। भाग्याँ लेख्नुपर्छ भन्थे क्यार। भाइब्रेन्ट पढ्नु जीवनको एउटा मोड नै थियो। तैपनि म मेरो भविस्यको लागि निक्कै एकाग्र भएर लागेकोले दायाँबायाँ लाग्नु हुन्न भन्ने लाग्थ्यो। कर्ली कपाल, हल्का डल्ली अनि अन्जान नै भए नि म प्रतिको मेरो आँखा जुधाईले सशंकित बनाउँथ्यो, के हो के हो लाग्थ्यो। म पन्छिन्थे!
एमबीबीएस तयारी ताका भाइब्रेन्ट आउजाउ, हुँदा कहिलेकाही टेम्पोमा नि भेट हुन्थ्यो। टेम्पो यस्तै यात्रा रह्यो। यसरी समय बित्दै जाँदा, इन्ट्रान्स तयारी गर्ने विद्यार्थीहरु कम आउन थाले, लगत्तै भदौको लास्टमा आएर क्लास मर्ज भयो। क्लास मर्ज हुने संयोग पनि उनैको र मेरो क्लास। म V-7 अनि उनी V-8 हुनुको संयोग सायद। क्लास मर्ज भएको दिन, म अलिक अघि नै आइसकेको थिएँ, लगत्तै उनी मलाई नै खोजेझैँ मेरो पछाडी आएर बसिन्। उनी मसङ्ग बोल्न चाहेको कुरो हाउभाउले चाल पाएको थिएँ, अनि मै आफैंले कुनै लाज नमानी नाम सोधें। कुराकानी अलि अलि भयो। अनि उनले आजसँगै जाने कुर्नु भनिन्। म छुट्टीहुने बित्तिकै नकुरी घर तिर गएँ। भोलि पल्ट किन नकुरेको भनिन्। मैले पनि भनिदिएँ, तिमी र एकजना केटोले फूल दिएको थियो। ऐले पनि सम्झन्छु ऊस्को नाम रणवीर थियो। मैले सोचे उ उनको कोहि हो। फेरि मलाई केटाकेटीको प्रेममा फस्न डर लाग्छ भने। उनले आफुले मन नपराएको तर जिद्दी गरेको त्यो केटोले भनिन्। किनकी मर्ज भएकै बेलामा कक्षामा फूल ल्याएर दिएको थियो त्यो केटाले। कहिलेकहिले होस्टेल बस्दा पल्लो घरको केटोले एक आन्टीलाई भनेर सानी बच्चीलाई `सम्झना´ पठाउँथ्यो रे। उनी र म फोनमा संवाद गर्दा यस्तै कुराहरु भन्थिन्। कैलेकैले कपी पुर्याउन जान्थेँ नयाँ बानेश्वरमा। भाइहरु जिस्क्याउँथे, मलाई पत्तो पनि थिएन।
अनि कुरा हुँदै गयो उनलाई चाहीँ टेम्पोमा मैले बुढाबुढीलाई सहयोग गरेको मन पर्यो रे। मेरो मुस्कान पनि राम्रो लाग्यो रे भनेर साथीसँग कुरा गर्ने गरेको बताइन्। समय बित्दै गयो, फोनमा कुराकानी भैरहन्थ्यो, पढाइ भन्दा बाहेक अरु म कहिले कुरा गर्दैनथे अनि म उनलाई प्रेरणा गरिरहन्थे। तर १ वर्ष जति भएपछी मलाई उनले डाइरेक्ट भनिन् कि मलाई त केही वास्ता नै छैन। म्यासेज पनि त्यस्तै आक्रमक लेखिन्। म केही बुझिराख्या नै थिइन। मैले बुझिन के भन्न खोजेकी हुन् भनेर। अब नबोल्ने भनेजस्तो गर्न थालिन्, म किंकर्तब्यविमुढ भएँ किनकी आज सम्म कसैसँग मेरो नराम्रो भएको थिएन, स्वयम् उनलाई पनि राम्रो गरिराख्या थें। मैले लामो म्यासेज लेखेर पठाएँ, मैले के गल्ती गरे भनेर?
म दङ्ग परें, कता कता उनी मलाई मन त पराउँदै छैनन् भन्ने पनि भयो, तर मलाई खासै चासो नभएकोले पनि म चुप थिएँ। परिक्षा पनि आयो, लगत्तै उनी आफू फेल हुने भनेर रुन थालिन् मैले धैर्य गर भनेर सम्झाएँ दिन आउँछ भनेर भने। दुई/तीनपटक नै फोनमा ह्वाँह्वाँ गरेर रोइन्। मैले पनि धेरै कुरा गरेर सम्झाएँ। धन्दा नमान तिम्रो दिन आउँछ। तिम्ले पनि इन्ट्रान्स पास गरेर डाक्टरी पढ्न पाउनेछौ भनेर। यो अन्तिम समाप्ति होइन भनेसी, उन्ले सम्झिएको झैं गरिन्।
लगत्तै इन्ट्रान्स पास भैछिन् अनि हाल UCMS मा BDS पढ्दैछिन्। फोनवार्ता नभएको लामो समय भएको थियो। BDS पढेर राम्रो अङ्क ल्यापछी मलाई फोन गरेकी थिइन्। अचेल मलाई बेला बेला फोन गर्छिन्। अनि मैले दिएको प्रेरणाबाट आफू खुशी भएको बताउँछिन्, म नि जिस्काइदिन्छु कहिले कहिले। ती दिन सम्झाईदिन्छु। इन्ट्रान्स तयारी ताकाको ती दिन। धेरै मानिसहरुलाई भविस्य अन्धकार देखाइन्छ जति हुंदैन। अचेल राम्रोसंग पढ्दैछिन् उनी, म भन्छु प्रत्येक मानिसहरुको दिन आउँछ। धैर्य गर्नुपर्छ, आफ्नो सपना छाड्नुहुन्न, जीवनले खोजेको जीत निश्चित छ। उनीप्रति विशेष श्रद्धा पनि छ।
आज पनि यो सम्झन्छु। यो एउटा जीवनको मिठो सम्झना रहिरह्यो। के थियो यो जस्को उत्तर मैले कैले पाइन! के थियो होला? सायद यो समय यहि घटना दोहोरिएको भए म के भन्थे होला? वा उनी के भन्थीन? ऊ सधैं कम बोल्ने। तर BDS पढ्न थालेको धेरैपछि एकपटक न्युप्लाजा सम्म किताब किन्न सँगै १ घन्टा लगाएर हिँडियो, अनि फर्केर नयाँ बानेश्वर आइयो। कैले सँगै एक कप च्या पनि खाइएन। आज भएको भए च्या खाउँ न भनिन्थ्यो होला। च्या खाइएको भए प्रेमका संवाद हुन सक्थे?
सायद यो नै मैले पाएको प्रेमको पैलो अनुभूति हुनुपर्छ। उनको मनमा पनि हुँदो हो, व्यक्त पो भएनन् कि? जीवन यात्रा रहेछ, बगिरहेन, कसैलाई नपर्खने। के हुनसक्थ्यो त्यो माहोल? जीवनमा एउटा त्यस्तो समय किन आएथ्यो होला? आजको समयसम्म सरल बगेको भए मैले भ्यालेन्टाइन सम्बन्धि पोस्ट नै लेख्दैन्थेँ कि? वा उनको आक्रमक स्वरहरु प्रेमका भाष्यहरु पो थिए कि? वा यस्तै लेख्थे कि, प्रेम भन्या चाहिँ भुँडीफोरको जोडी जस्तै हुनुपर्छ। ढुकुरको जोडी जस्तै भनेर गीतमा धेरै सुनियो तर मैले दुई ढुकुर जोडी बनेर उडेको कैले देखिन, न कतै बसेको नै बरु समुहमा देखेँ। ढुकुरको जोडी हुन्छ कि भनेर ढुकुर बसेको रूखतिर नि आँखा तेर्साएँथेँ, अँह भेटिन। बरु सानो हुँदा देखि मैले खेतमा आएको भुँडीफोरहरु याद गरेको छु। त्यो बेलादेखि आजसम्म मैले धेरै भुँडीफोरलाई दुईको संख्यामा देखेको छु। उड्दा, बस्दा, खाँदा जहाँ नि जोडी! गीततिर नि भुँडीफोरको जोडी जस्तै भन्न पाए कसो होला? वा अन्य जस्तै म कुनै कवितामार्फत पन्छिन्थे?
"पछाडी साथी थियो
अगाडी थियो लक्ष्य
रोकिएको भए शिखर छुट्ने
हिँडे साथी छुट्ने
शिखरको चाहना पनि
साथीको माया पनि
रोकिएको भए म अतृप्त मर्थेँ
हिँडेको भए वियोगले मर्थेँ
तिर्खा थियो भयानक
तर पानीमा विष थियो
पिएको भए विषले मर्थेँ
नपिएको भए तिर्खाले
तिमी नै भन म के गर्थे?"
के थियो जुन मैले आजसम्म बुझ्न सकिन? वा यो प्रेम पनि नियमित आकस्मिकता मात्रै थियो?
Friday, January 29, 2021
के त्यो नियमित आकस्मिकता थियो?
Subscribe to:
Post Comments (Atom)
ने, कर्म र यात्रा
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...

-
`ढाका टोपी दिवस´ किन प्रायोजित? राष्ट्रियता पोसाकमा होइन मन र मस्तिष्कमा हुन्छ। एउटै पहिचानमा जातिय विविधताले ठाउं पाउन सक्दैन। सबै ...
-
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...
-
प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै...
No comments:
Post a Comment