Friday, January 29, 2021

याङ्रीमा यात्रीहरु

याङ्रीमा यात्रीहरु

ख्यालै ख्यालैमा जुर्छन् यात्राहरु पनि, उसैपनि पैतालामा ऐलेसम्म कोठी भेटिएको मान्छे म होइन। खैर, भाग्यमा भयो भन्दैमा दूध दोएर अडिने होइन भन्ने कुरो कर्मयात्रीहरुलाई सिउराइदिन सुहाउँछ। लामो चिन्जान, गहिरा गफ भएका मानिससँग मात्रै होइन पैलो दिनको भेटघाट पनि यस्तै अविस्मरणीय बन्न सक्ने मानिसहरुसँग मिलन हुँदो रैछ।

बिहान सिमसिमे पानी पर्दैथ्यो। घरमा भान्सा बनाउने धमाधम। फेरि मैले सघाइहाल्नु पर्ने त्यस्तो काम पनि थिएनन् तर पनि ससाना काम भने गरिरहनु पर्ने। तैपनि बा आमालाई सघाउन नपाई डुलिडुली हिँड्नु उत्ति मज्जा लाग्दैन। तैपनी घरबाट नजा भनिहाल्ने कोइ पनि छैनन्। यात्रा गर्छु भन्दा परिवार नै राजी भैदिँदा यात्रामा सुगन्ध भेट्छु। भाइहरु दाइ चाइनिस भएछ भनेर च्वास्स भन्छन्। शनिबार र आइतबार पढाइमा बिदा पनि। फेरि काठमाडौ देखि सम्झेर हेलम्बु घुम्ने भनेर आका दाईलाई रैथाने पथप्रदर्शक नघुमाउ पनि कसरी। २ दिने बिदा हो तार्केघ्याङ्ग पुगौँ न त भन्ने मेरो पनि मनोकामना नभएको होइन। बिहान काठमाडौ बाट आएको सुपर चढेर तिम्बु लाग्यौँ। बाटोमा ठिमीका दाइहरुसँग संवाद भयो। 'आमा याङ्री जान सकिएला त?' अनि म तत्क्षणको मौसमलाई हेर्दै, पाँचपोखरी यात्राको स्मृतिलाई पल्ट्याउँदै 'सकिन्न होला दाइ, हिउँ कडा छ, तैपनि प्रयास गरौँ न' भन्छु। निराश बनाउने रहर होइन। तर सोधेपछी जानेको, देखेको भन्नू थियो। चालक दल खाना खाइसकेपछी तिम्बुलाई हिँडेयो। प्रमिश दाइको पैलो हेलम्बु यात्रा, अनि तिम्बुलाई थिम्पु भन्दै थिए। सुन्नुमा मजा छँदै छ। विशेषगरि वहाँको 'नाक' बारेका प्रसङ्ग सुन्दा रमाइला लागे। सविनको पनि पैलो तार्केघ्याङ्ग यात्रा। बसमा ऊ मौन थियो, चुइँक्क बोलेकै होइन, माहोल यस्तो थियो मानौं उसलाई मैले केटाकेटीलाई झैँ मिठाई नदिएकोमा ठुस्किराछ। तर पनि त्यो मौनता सुन्दर थ्यो, पहाड नबोलेरै यत्ति सुन्दर छ।

११ बज्न लाग्दा हामी तिम्बुबाट उकालो लाग्छौँ। ठिमीका दाइहरुलाई केइ सल्लाह दिन्छौं र उकालिन कै लागि हामी बत्तासिन्छौँ। 'बत्तासिँदै' त्यो साथीको शब्द सापटी लिएँ। गोसाइँकुण्ड यात्राबाट फर्कदाँ हामी ७ मिनेट पहिरो वरिपरि थियो। हामी भाग्यले बाँचेका थियौँ। हामी फर्केपछी त्यै बिहान एकजनाले ज्यान गुमाएको दु:खद खबर सुनिएको थियो। अनि आज पनि शब्दसँग गन्थन गर्दा बत्तासिँदै सम्झिएँ। उकालो ठाडो छ। पानी परिरहेकै छ्। ओढाउ ओढ्नुको मज्जा छैन। हामीलाई यात्रामा नि मज्जा चाहिएको छ। थोरै थोरै संवाद चल्दै छ। उकालीका तरेलीहरुमा असिनपसिन उक्लिँदै तलको तिम्बु उपत्यका चियाउनुको आनन्द छुट्टै छ। गुराँस, काफलका बन हुँदै याम्बालामा पुग्छौँ। पुरानो माने ढोग्दै हामी अघि बढ्छौँ। अनि हामीसँगै मिसिन्छ अर्को यात्री त्यतैको कुकुर। ऊ यसरी हामीसँग नजिकिन्छ मानौं ऊ र हाम्रो वर्षौँ अघि भेट भैसकेको छ। हामीलाई बाध्यता छ, उसको कुरो बुझ्नु छ। घुम्तीमा टक्क अडिँदै ऊ हाम्रो पर्खाइमा हुन्छ अनि हामीमा नजर पर्ने बित्तिकै ऊ आफ्नो गतिलाई कायम गर्छ।

हामी झन्डै २ घन्टाको उकालो तेर्सो हिँडेपछी ककनी पुग्छौँ। कुहिरोले गजधम्म परेर बसेको छ। च्या खाने मन थियो तर पसल भेटिएन। अनि मोटरबाटो सुरु हुन्छ। कुराकानी गर्दै, ठाउँ चिनाउँदै हामी अघि बढिरहन्छौँ। अनि पुग्छौँ तार्केघ्याङ्ग जाने बाटो। तर म झुक्किन्छु। मेप्स ड्ट मि ले पनि देखाउँदैन। पुराना स्मृतिलाई आधार मानेर म त्यै बाटो लैजान्छु। टेक्नका लागि ३ वटा लठ्ठी काट्छु। अनि फादुङ्ग खोला तर्छौँ। तल जमानामा बनेको हाइड्रोपावर थियो। ऐले बिजुली उत्पादन छैन। त्यो समय बनेका कुलाहरु कति पक्की, आहा! अनि हामी पुग्छौँ तार्केघ्याङ्ग सुरु हुने बाटो तिर। दुइटा घर छन्। चिसोमा च्या खाने मन छ। च्या खान भित्र पस्छौं। त्याँका आमै बा सँग च्या सँगै बोलु खान्छौ। बोलु मकैको बन्छ। त्याँ जीवन दर्शनको कुरो हुन्छ। सविन थपिथपी बोलु खान्छ। प्रमिश दाइलाइ उति मीठो लागेको पाउँदिन। पैसा लिन मान्दैनन् त्याँका आमै बा। अर्कोपटक तल मेरो घर आउनुस् है भन्छु। फोटो खिचाऔँछौ अनि उकालिन्छौँ। पैले पैलेका स्मृतिहरु सुनाउँछु। सविन अघि अघि हिँड्छ। दाइ बीच तिर। कुकुर अघि अघि। ख्याउटे छ। माया पनि लाग्छ। बिस्कुट दिन्छौँ। अनि हामी साँढे १ घन्टाको हिँडाइपछी तार्केघ्याङ्ग पुग्छौँ। तार्केघ्याङ्ग भुइँचालोपछी फेरिएछ। सौन्दर्य उस्तै रहेनछ। जे होस् दुई याकको दर्शन पछि २,५६० मि उचाइमा रहेको सुन्दर लेकाली बस्ती पुगिन्छ। अनि ४ पल्ट पुगिसकेको वाङ्ग दोर्जे लामा दाईको याङ्री पिक होटेल खोज्छु। भेट्छु। अनि म पुरानो स्मृतिहरुमा वहाँलाई एकपटल डोर्याउँछु। बेलुका विभिन्न ग्रुपसँग जम्काभेट हुन्छ। मिठा गफ हुन्छन्। रात हाम्रो हुन्छ। माहोल रमाइलो हुन्छ। रातम जून चियाउन बाहिर निस्किन्छु। प्यासले डोर्याएको हुन्छ। ओहो त्यो चहकिलो जूनेली रात अनि टल्किएको हिमाल ! हिमाल त हिमाल नै रैच।

ख्यालै ख्यालैमा तार्केघ्याङ्गमा आमा याङ्री जाने कुरो बन्छ। सबिन अति उत्सुक देखिन्छ। मैले उसलाई त्याँसम्म यात्रा गराउन पाए पाँचपोखरी यात्रा गर्न नसकेको अधुरो यात्राको हिसाब मिल्थ्यो भन्ने सोचेँ। दाइको त पैलो यात्रा। नौलो हुने भयो। हामीलाई अगाडि पुग्नु थियो। एक ग्रुप नजिकै थियो। हामी अघि भयौँ। अनि हामी सरासर हिँड्न थाल्यौँ। चाँडै नपुगे १८०° मा हिमाल नदेखिने पिर्। पानी कतै पाइएन। पदयात्रा भरी हिउँ। २ घन्टमा चौँरी गोठ पुग्छौँ। सविन छिटो हिँड्छ। दाइ बिस्तारै हिँड्छ्न्। नाम किन प्रमिश भनेर सोध्छु, किंवदन्ती सुनाउँछन् बुढा! अनि चौंरीगोठबाट उकालो सुरु हुन्छ, नसकिने ओरालो। त्यो उकालो कैले सकिन्न। हामी हिँडीरहन्छौँ। बाटो नागबेली छ। माथी अर्को चौँरी गोठ पुगेसी देखिन्छ, आमा याङ्री नपुगी धेरै फर्किएछन्। हप्तौं पछिको पैलो यात्रा हामीले गरेको पत्तो पाइयो। कसैको पदचाप भेटिएन। म सविन भाइ र प्रमिश दाइलाई अलिक ध्यान दिन भनिरहेको छु। बाटो साँघुरो छ। हामी पुग्छौँँ। ओहो त्यो गाढा नीलो आकाश, १८०° मा फैलिएका हिमशृङ्खला अनि ३,७७१मा अवस्थित आमा याङ्रीलाई दर्शन गरि आफनो पैले आउँछु भनेको इच्छा फुकाउन पाउँदा त्यो चिसोमा पनि मनले अर्कै आनन्द पाएको थियो। मैले खादा ओडाएँ देवतालाई। आँखाले चिआइरह्यौँ हिमालहरु! सविन र प्रमिश दाइको अर्कै खुशी थियो। अनि आधा घन्टा बसाइ पछि तल झर्यौ। झर्दै जाँदा ग्रुप हरु भेटियो। संवाद गर्दै गैयो। ओरालो झर्न सजिलो थिएन। पानी मुखमा हाल्न पाइएको थिएन। ती ग्रुपका दाइहरुसँग पानी मागी मुख भिजाइयो। अनि ३ घन्टाको ओरालोपछी तार्केघ्याङ्ग झरियो। भोकले रन्थनिएको, प्यासको तृष्णाले हामीलाई दौडाइरह्यो। अनि आएर आलु खाई हामी तार्केघ्याङबाट बिदा माग्यौँ। बुढी आमासँग आलु खाउन्जेल गफ गरियो। झन्डै ११ घन्टाको पैदल यात्रापछी हामी तिम्बु आइपुग्यौँ। भाग्यवश, गाडी बिग्रेकोले बनाउन मेलम्ची जाँदै रैछ। सेकेन्डले छुटेको भए हामी १४ घन्टा हिँड्थ्यौँ। धन्न हिँड्न परेन।

घर पुगेर दुधसँग मकैको ढिँंडो खाइयो। अनि भ्याइयो एक लट चाइनिस हम्वर्क र लागियो गहिरो निद्रामा, त्यो मीठो निद्रामा! आमा याङ्रीको दर्शन पाउँदा आफूलाई अझै उर्जाशील महशुस भएको छ। शुभ समय।


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...