Friday, January 29, 2021

दलालहरुको दम्भ

दलालहरुको दम्भ!

'मर्छन् भने मर्न देऊ मान्छेहरूलाई। के नै खती होला र यिनीहरूको सरापले, डराएर के म निधार थापी हिँडु? पाप गर्नेले पापको दण्ड पाउनुपर्छ। यसबाट मुक्त गरेर तिमी के पाउँछौ र लगातर घचघच्याइरहेछौ? बाँचेर बोझ बन्नुभन्दा मरेर उपकार हुन्छ भने कसैको, धन्यवाद देऊ त्यस्ता प्रत्येक मर्नेहरुलाई र मलाई पनि कि आहुति पर्खेर कसैको भोलि हेर्न पटकपटक जिउँदै मर्नु नपरोस्।' शब्दब्रह्म भन्ने निबन्धबाट मैले यी पंक्ति उद्दृत गरेँ। समसामयिक देखेँ।

विचारले म मध्यमार्गी विचारले ओतप्रोत भएको मान्छे। म खासै अरुको आलोचना गर्न रुचाउन्न पनि, आलोचना गर्न मसँग त्यो हैसियत छैन। तर एउटै कुरो म यो देशको असल नागरिक हुँ। मैले पनि कुनै पार्टीलाई भोट हालेँ। यो आफ्नो ठाउँमा छ। मैले असल काम जस्ले गरे पनि हौसला दिने प्रयत्न गरिरहेकै हुन्छु। म चाहन्छु एउटा असल समाज भएको राष्ट्र बन्नुपर्छ हाम्रो देश।
तर केइ दिनदेखि सामाजिक सञ्जालमा छाएका दुई समाचारले मलाई विक्षिप्त बनाउँछ! म एउटा निष्कर्षमा पुग्छु, हाल सत्तामा रहेका यी तथाकथितहरु कम्युनिस्ट हुँदै होइनन्। यिनीहरुले मार्क्सवादका पढे त भन्ने कुरोमा शङ्कै रह्यो! मैले पछिल्लो समयसम्म यिनीहरूको गतिविधि नियालिरहेकै छु। केइ राम्रा जस्ता काम देखाएर जनता झुक्याउने र बाँकी आफैँतिर दुनो सोझ्याउने बाहेक 'देखिने' काम निक्कै थोरै छ।

चीन सरकारको सहयोग र नेपाल सरकारले नै मेडिकल सामग्रीहरु किन्ने कुरोमा भएको भ्रष्टाचारको समाचार पढ्दा झोंक चल्यो। भुइँचालो, नाकाबन्दीलाई छाडेर कोरोना जस्तो महाविपत्तिसँग लड्ने बेलामा पनि यी भ्रष्टाचारीहरुले भ्रष्टाचार गर्ने छाडेनन् अनि अझै सरकारमै रहेर, म आफैँ किटेर त भन्न सक्दिन तर यिनीहरुले यसो गरेकै होइन भन्ने आधार र तथ्य केइ छैन। मानवता भन्न बिर्सेको हो त? यो बेलामा के गर्नुपर्छ भन्ने कुरो सानो दिमागले नि सोच्न नभ्याउनेहरु नेता? दलाल भने हुन्न? यो देशाँ एकछाक भात खान यत्रो कष्ट छ, अनि ती नानाभाँती गर्नेहरुलाई नेता किन भन्नी? कम्युनिस्ट किन भन्नी? कपुतहरु हुन्! भ्रष्टाचारीलाई किरा परोस् भन्दा तर्सिने यिनै हुन्। किनकी यिन्लाई डर छ नि- समय कलिमा चल्दैछ, पाप धुरीबाट कराउँछ। किरै पर्न त नपर्ला नि!

काठमाडौलाई कालापानी दुख्दैन भन्ने प्रेमसिँह धामीको यो बोलि आज पनि एकपटक मेरो मस्तिष्कमा झट्ट आइपुग्यो। धार्चुलाबाट वारि नेपाल आउन महाकाली पौडेर नेपाल आइपुगेका एक नेपालीलाई प्रहरीले पक्डेर खाली खुट्टा हिडाउँदै लगेको दृश्यले मलाई मनमा चसक्क बनायो। चीनबाट नेपाली आउन सक्ने रैछ, भारतबाट आउन किन सकेनन्? कि यहाँ पनि वर्गमै कुरो अड्कियो! कि ती भारत गएकाहरु कुल्ली भएर? गरिब भएर? मजदुर भएर? कि जनतै होइनन्? कि तिन्ले पनि प्लेन चढ्ने हैसियत राख्नुपर्थ्यो?

दलालहरु त भए नै! यो देशाँ जनता चाहिँ को हो फेरि? त्यो गरिब, त्यो मज्दुर, त्यो किसान जो दुइछाक खानकै लागि राज्यसँग संघर्ष गर्छ? व्यापारीहरु मौका छोप्ने? अनि कहरमा को पर्यो त? दलाहरु हो, लुट, कति सक्छौ लुट! के नै खति हुन्छ र तिम्रो यी गरिबहरु मरे भने, यिन्लाई भुइँचालो लाग्यो, नाकाबन्दी लाग्यो, कोरोना लाग्ला अनि आउने प्राकृतिक विपत्ति नि लाग्छ। यिनले सरापेर के हुन्छ हैन र? याद गर दलाल हो, जनताको आँसु लाग्यो भने, त्यो दिन के हुन्छ...


No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...