केटाकेटीलाई काम किन?
सेक्सपियर भन्थे, 'काम गर्नमा तिमी महान भन जस्तो कि तिमी विचारमा महान् छौ, काम जस्तो कुरा गर कुरा जस्तो काम।' कता कता यो वाक्यले मस्तिष्कमा हिर्काउँछ मलाई। काम चाहिँ गर है। अल्छी नबन भनेजस्तै। गफाडीलाई त कसैले पत्याउँदैनन् नै, काम चाहिँ विश्वासको आधारशिला हो। काम गर्नेहरु जहाँ पनि पुज्य हुन्छन् जति विद्वान् पनि नहुन सक्छन् कामलाई यहाँ खेतीपाती सँग मात्रै जोडिएको भन्ने नबुझौँ। काम विशाल शब्द हो।
सबैको आफ्नै हिसाबले समय बित्दै होला। कोइ पढ्दै होलान्। कोइ लेख्दै होलान्। कोइ सोच्दै होलान्। कोइ सुतेरै पनि दिन काट्दै होलान्। कोइ सञ्जालमै व्यस्त होलान्। एक कोणबाट आखिर क्वारेन्टाइन र आइसोलेसनका कुरा दिन काट्ने नै पनि होलान्। जाडो बिदामा नेपाल आइपुगेको म साइबेरियन चरोको अर्कै संसार छ। पढ्ने, लेख्ने, घुम्ने, भेट्ने, गफ गर्ने, सघाउने यस्तै यस्तै कर्महरुले अझै निरन्तरता पाई नै राखे। समय गज्जपकै रहे भन्नुपर्छ।
केइ दिनअघि हिमालको संगतले हिमाल छेव उभिएको कालापत्थर पनि हिमाल झैँ देखिएको अनुभूति बाँडेको थिएँ। लकडाउनमा 'मुकुट विषाणु' छल्न यी घर आइपुगेका भाइहरुलाई पनि सजिलो छैन। मेरो शब्दकोषमा 'कर्म' अग्लो स्थानमा छ। कर्म गर फलको आशा नगर भन्ने हाम्रै शास्त्र, हर कुरो फल आएको आधारमा जाँचिनुभएन। कर्म गर्नेहरुले कर्म प्रधान मान्छन्। जीवन कर्मयोगले प्रेरित हुनुपर्छ।
पछिल्लो ३/४ दिन यिनीहरु पनि घानमा परे। पैलो दिन हाम्रो घरभन्दा तल्लो आलु खनेको गर्हाको माटो सम्याउने काम गरियो। मिलन भाई बलियो पनि, बेला बेलामा रिट्ठे भन्दै बोलाउँछु मायाले। उसले गाडामा साथ दियो अनि मलाई कोदालीमा साथ दिने शैलेश भाइ थिए, माया गरेर खैरे भाइ भनी टोपल्छु। फेरि अस्ति जिस्किँदा जिस्किँदै, सुगारिका बैनीले यो दाइ त 'फिरङ्गी' देखिँदारान् भनिन्। अब उसले केके बुझ्यो, मख्ख हाँस्यो। अनि त्यो दिन हामी ३ ले गर्हाको माटो सम्यायौँ। दोस्रो दिन काटेको तोरी घरसम्म ओसार्नु थियो। घरभन्दा १५ मिनेट टाढा रहेको खेतबाट ओसार्नु जो थियो। बिहान मेरो चिनियाँमा अन्लाइन क्लास थियो। त्यसो हुँदा बिहान मिलनलाई कुइता सरले तोरी ओसार्न साथ दिए। मिलनलाई कुइताले किन साथ दिए भन्दा, खेतिपाती र बल लाग्ने काममा मिलन 'भेट्रान खेलाडी' हो। सेकेन्ड लेइउटेनिन्ट भिड्न गाको मिलन १६ औँ स्थानमा पुगेको थियो। कुदाईमा त तेज नै। अनि क्लास सकिएसी म पनि गए। अर्को खेपमा सुरज भाइ, एलिस र अनिसलाई पनि लगियो। समय यस्तो भएछ मोबाइलमा मात्रै 'घोप्टीरहने'। त्यसोहुँदा उनीहरु दायाँबायाँ वास्ता नै नगर्ने। केटाकेटी त मोबाईलमा मात्रै झुन्डिने कुरो त राम्रो होइन। उनीहरुलाई बोलाएर लगिसकेपछी नाई भनेनन्। बा बाजेका कुरा बेलाँ बेलाँ सुनाउँथे। बुझ्ने नबुझ्ने त्यो आफ्नै ठाउँमा छ, र यो कलिलो बेलाँ उनीहरुले बुझुन् पनि कति? सबै भएर अङ्गालोको तोरि उठाएर त्रिपाल, तन्ना अनि धोक्रोमा राख्यौँ। अनि दुई खेप उनीहरु साना बोरामा तोरी ओसारे। उनीहरुले नसकेको गर्थे, तर घरसम्म पुर्याए। उनीहरुले नसक्ने होइन काम गर्न बोलाउँदा गर्दैनन् कि भन्ने हिसाबले हामीले नबोलाउनु एउटा भूल। अनि आज तेस्रो दिन अस्ति खनेको आलुलाई छानेर धोक्रोमा हाल्ने काम। यसमा पनि मिलन, अनिस, सुरज, एलिस, अन्जन र म थियौँ। झन्डै २ घन्टा सम्म उनीहरुले निरन्तर सहयोग गरे। उनीहरुलाई मैले ट्राउट खुवाउने वाचा पनि दिएको थिएँ, र त्यो नि पूरा गरेँ। यी त भए भाइहरुको काम। उता बैनीहरु अभिश्री, अनुश्रीलाई कविता आन्टीले उस्तै प्रयोगत्माक क्लास लिनेगर्नुभाको छ। पछिल्लो समय कान्छी हजुरामा तल बगाराँ घाँस काट्ने अनि बैनीहरु ओर्साने धन्दा तिर देखिन्छन्। सकिनसकी भए नि सेरोफाँटसम्म उकाल्छन्। आखिर यसैगरी मानिस मिहिनेती बन्ने त हुन् नि। बेला बेला जिस्केर बैनीहरुको फोटो नि खिच्दिने गर्छु। अनुश्री लजाउँछिन्। कविता आन्टी आफैं पनि शिक्षिका हुनुभएकाले केटाकेटीले के सिक्नुपर्छ भन्ने कुरो नजान्नुभएको छैन भन्ने कुरो यो उदाहरण बाट बुझ्न सकिन्छ। यता गङ्गा आन्टी घाँस काट्नी। अशेष भाइ घाँस डोकोमा बोकेर सेरो फाँटसम्म लानेमा पर्थे। ३ दिन लगातार आन्टीले काटेको घाँस बोक्न व्यस्त छ। अचेल बिहान अन्जन, अशेष र म पढ्ने गर्छौँ।
आखिर यो सब किन त? उनीहरुले गर्दिएर हामीलाई पुग्ने त होइन। तर म चाहन्छु यिनीहरु घर, मामाघर वा जता गए पनि हामी चुप बसिरहनु हुन्न, सकेको जत्ती हुन्छ त्यति सहयोग गर्नुपर्छ भन्ने भावनाले उत्प्रेरित भैरहुन्। हामीले यसैगरी सिक्यौँ। हामीलाई काकाले घर आएपिछे काममा लगाउनुहुन्थ्यो। त्यो बेला अलि अलि नरमाइलो लाग्थ्यो। तर त्यो कुराले आज मलाई अरुले काम गररिरहँदा म आफूलाई बसाइरहन सक्दिनँ।
काम सानो ठूलो केइ हुँदैन। पढाइ भएका, बुद्धिजीवी, वा अन्य क्षेत्रमा लागेकाले माटो छुनै हुन्न, घर बढार्नै हुन्न, भकारो सोर्नै हुन्न, भाँडा माझ्नै हुन्न भन्ने कुरै होइन। यी केटाकेटीहरुलाई काम महत्वोपुर्ण हुन्छ, काम गर्ने मानिस सानो हुँदैन भनेर सिकाउने अभ्यास गर्नुपर्छ। ऊसलाई बनाउने बा आमा दाइ दिदीहरुले हो। म सम्झन्छु १२ पढ्दाताका हाम्रा बोटानी पढाउने सरले भनेको कुरो। जापानमा केटाकेटीहरु पनि खेतमा गएर बा आमालाई सघाउँछन्, काम गर्छन्। पढ्नै छाडेर यो सब गर्ने भन्ने होइन।
संस्कार भन्ने कुरै यतैबाट सिकिएला? सधैं पढेर मात्रै जानिन्न! मैले एसएलसी वा SEE सकेका लाई पनि ब्रीजकोर्समा नअल्झाउनुस् भनेको कारण यो हो। किताब भन्दा बाहिर अर्क्प संसार छ। केटाकेटीलाई अनुशासित, असल बनाउन घरैबाट सुरु गरौँ। माया भनेको उसले बसिबसी मोबाइल चलाउनु, तपाईंले गाली नगर्नु मात्रै होइन। आवश्यक परे गाली पनि गर्नुपर्छ। र धेरै प्रेरित गर्नुपर्छ। आखिर हामीमा त तिनै पूर्खाको जिन इन्कोड भएका छन्। ती पूर्खाहरुकै पदचापबाट हामीले सिक्नुछ, यी कलिला कोपिलाहरु नै भोलिका सुन्दर फूल हुन्।
Friday, January 29, 2021
केटाकेटी
Subscribe to:
Post Comments (Atom)
ने, कर्म र यात्रा
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...

-
`ढाका टोपी दिवस´ किन प्रायोजित? राष्ट्रियता पोसाकमा होइन मन र मस्तिष्कमा हुन्छ। एउटै पहिचानमा जातिय विविधताले ठाउं पाउन सक्दैन। सबै ...
-
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...
-
प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै...
No comments:
Post a Comment