Tuesday, January 24, 2023

सालका कथा

अर्को एक सालले बिदा माग्ने तरखर गर्दैछ ! बिदा मागोस्, नमागोस्, उस्ले आफ्नो धर्म निर्वाह गर्नेछ नै ! खास नयाँ र पुरानो सालको विभाजन रेखा पनि के कोरुँ र? युग, समय र काल यसैगरी त चलि आएका थिए, चलेकै छन् र चलिरहनेछ नै। समय पात्रहरू यसैगरी चल्छन्। जीवनको रहस्यहरूसङ्ग म अलिक ज्यादा नै हराउँछु जसरी आकाशमा बादल हराउँदछ ! जीवन यात्रामा आउने संयोग र कर्मकथाले मलाई रहस्यचकित बनाउँछ्न्। माने रहस्य, नमाने के रहस्य होइन र? जीवनको खास अर्थ के छ र? त्यो त पानी जस्तै छ; नदी बनाएर बगाए बग्दिन्छ, गाग्रीमा भरेर राखे गाग्रीकै आकारमा बस्छ, कुण्डमा अड्डाए कुण्डमै अडिन्छ। जीवनको खासै अर्थ छैन, अर्थ केवल पात्रले दिने कुरोमा मात्रै हो भन्छ्न् ज्ञानीहरू ! म यस्तै खास अर्थ दिने मान्छे त होइन तर जीवन परिधिभित्र मैले टेकेका पाइला र चढेका शिखरहरूले आफ्नै अर्थ दिएका छन्, मलाई खास त्यसमै सन्तोष छ। त्यो परिधी मेरो लागि हिमाल भुगोल जत्तिकै पवित्र छ, र विशाल छ। जीवन यात्रामा जोडिएका केही मानिसहरूले मलाई हरसमय भिन्न रहस्यहरूसङ्ग परिचित गराइरहन्छ्न्। म ती पात्रहरूको विशाल दयासागरमा पौडिने प्रयास गर्छु, त्यो विशालताको गहिराईले म केवल दङ्ग पर्छु। त्यो दयासागरमै पौडिनु त मेरो अहोभाग्य हो, त्यो तत् समय म भावुक हुन्छु, म कृतज्ञ हुन्छु, हृदय अहोभावले साधुवाद भन्छ। र, क्षणभङ्गुर जीवनको अर्थलाई नियालेका यी यात्रीहरू विशाल सागर बोकेर हिँड्छन् र यस्तै कर्म यात्रीहरूको छेउ पाउनु त विशेष छ नै, ती प्रति जीवन जीवन धन्य मात्रै हुन सकिन्छ ! यो जन्ममा मानिसहरूले मलाई लगाएको गुनको व्याख्या गर्ने र तिनलाइ धन्यवाद दिने शब्द पनि मसङ्ग छैन ! यसरी निशब्द भने पैलोपटक भएको होइन, मलाई बेलाबेला मानिसहरूले यस्तै हिमाली भुगोलमा छोडिदिन्छन् ! म शून्य र निशब्द हुन्छु, म ती प्रिय् मनहरूलाई मनदेखि धन्यवाद दिन्छु।र, त्यस्तै भुमिकामा हिमाली मन लिएर उभिने चाहना राख्छु, कामना गर्छु र प्रार्थना गर्छु। जीवनमा अरु यस्तै हो, सदा दया, करूणा भावले भरियोस्। यात्राका तिता मिठा क्षणहरू कर्म अनुरूप भोगिएला त्यस्को केही चिन्ता छैन ! तर यस्तै विशाल हृदय लिएर जीवन यात्रामा होमिएकाहरूको माया, सद्भाव र सङ्गत पाइयोस्, जीवन बेयुल जत्तिकै पवित्र बन्नेछ ! र, मलाई यो अद्भूत अनुभूतीलाई बेला मौकामा अनुभूति गर्न दिएर मलाई जीवन्त बनाउन प्रेरित गर्ने जीवन यात्रीहरूप्रती आभार ! म सदा यी पात्रप्रती ऋणी छु ! #valley #mountains #himalayas

No comments:

Post a Comment

ने, कर्म र यात्रा

कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...