गोधुली साँझमा मनको चञ्चलताले उग्र ठाउँ पाउँदो छ। मेरो मन टाढा टाढाका गजधम्म परेर बसेका नीला नीला पहाड हेर्दै कल्पनामा डुब्दो छ, क्षितिजमा पहाड र आकशको प्रीत लोभ्याउँदो छ। कति सुन्दर प्रीति छ है, बादल पनि बेला बेला लजाउँदो हो, गम्मक छोपिदिन्छ। त्यो सिङ्गो आकाशमा कहिँ बादलहरु मडारिएका छन्, कहिँ टुक्रिएका छन् कहिँ छरिएका छन्, कहिँ रात्तिएका छन्, अनि कहिँ कालिएका छन् अनि कतै धर्तीमा पाइला टेक्न अन्तिम सास फेर्दै छन्, दृश्य बडो रोचक छ। तिनका अङ्कमालले सायद उपत्यकालाइ आत्मीय लाग्दो हो, आफू सुरक्षीत भएको अनुभूति गर्दो हो या अग्लिन नपाएर थिचिएको अनुभव गर्दो हो? चिसो चिसो हावाको वेग अर्कै छ। हरिया पहाडहरु मेरा उपस्थिति भन्दा कयौं कोस भएर हुन् कि, निला-निला देखिन्छन्, अग्ला पहाडमा उभिएका रुखहरु बगैँचामा सजाइएका बुट्यानझैं देखिन्छन्। प्रत्येक यात्रा नौलो अनि अविदित लाग्छ, कयौं कुराहरु यस अघि भएर पनि देखिएन या देखिएर पनि हेरिएन?
Friday, November 27, 2020
Saturday, May 9, 2020
'भोलि मावलमा देवाली रैछ, थाहा थिएन। ब्यान कान्छा मामाको फोन आयो। भाञ्जा देवालीमा आउनुपरो भन्नुभारैछ् मैले फोनमा र्याली सुनेँ र्याली? भनेर भनेँ, होइन देवाली भन्दा दङ्ग परियो। यता दिउँसो जेठो मामाले फोन गर्नुभयो। भाञ्जा देवाली छ आउनु है भन्दा त्याँ गाडी छ आउनु भन्या सुनेछु!' फोनवार्ता यस्तै भएको थियो जसलाई मैले ट्विटरमा लेख्न भ्याएको थिएँ। अब मलाई अरु चिन्ता थिएन मावल कसरी पुग्ने भन्ने मात्रै थियो। चीनबाट फर्किएकै पनि ४ महिना बितिसक्यो, पाइला टेक्न पाएको होइन। घरमा थोरै थोरै केइ सघाउन पाए हुन्थ्यो भन्ने अभिलाषाले पनि हुनुपर्छ घरबाट फुत्त निस्केर कतै हिँड्न मन लागिहाल्दैन। बरु घरमा काम होलो भएसी सल्लाह गरेर निस्किँदा मज्जा लाग्छ। नत्र यात्राभरी प्रश्न मात्रै मनमा आइदिन्छन्।
बेलुका सेरा पुग्छु। घरमा सिकर्मी दाइहरु छन्। उनीहरुलाई भनेर कुखुरो लिन पुग्छु। त्यही बेला सानी बैनी आउँछिन्। जिस्किँदा जिस्किँदै म ती सानी बैनीलाई नाम के तिम्रो भनेर सोध्छु। गज्जपको कुरो यो रह्यो कि उनको अगाडी नाम नै थिएन। मैले सोध्दा नाम फुत्त आएछ क्यार। उसको ममीलाई नि अब बाबू भन्ने नामजस्तै नानी नै राख्दिनु है भन्या थिएँ। यो मीठो प्रसङ्ग पछि म नारायण अङ्कलकोमा पुगेको थिएँ। भोलि मेलम्ची जानुहुन्छ कि नाई भनेर सोधेँ। अङ्कलले जाने भनेसी मनमा एकखाले तरङ्ग आइपुगेको थियो। यो खुशी स्वाभाविक किन पनि थियो भन्दा हामी दशकौं पैले मावलको देवाली मनाउन पुगेका थियौं। मलाई यो पालीको देवालीमा फेरि मावल जानुथियो, त्यो सल्लाघारीमा एकैछिन बालापन स्मरण गर्नुथियो। अङ्कलसँग जाने भैयो। बेलुका जेठो मामाले ड्याडीलाई फोन गर्नुभयो, वहाँहरु नजाने भएसी हामी जाने भयौँ।
भोलिपल्ट कूलपुजा (देवाली), चण्डी पुर्णिमा, बुद्ध जयन्ती, उभौली पर्व, चण्डेश्वरी जात्रा, कुर्म जयन्ती, गोरखनाथ जयन्ती सबै एकैदिन थियो। एउटै पूर्णिमामा सबैको आआफ्नै चालचलन हगि? सुन्दर छैन त? म चाहन्छु हामीलाई बुद्धको आशिष लागिरहोस्, गोरखनाथले राष्ट्र बचाइरहुन्! घरमा रोटी च्या खाएर निस्किएँ। ८ बज्न १० मिनेट हुँदा नारायण अङ्कल पारी आइपुग्नुभयो। ३० मिनेटमा मेलम्ची पुगियो। 'म खाडीचौर जान नपरेको भए माथी नै पुर्याइदिन्थेँ।' भन्नुभयो। मेरो लागि यती पनि ठूलो हो अङ्कल भन्दै अङकललाई धन्यवाद दिएँ। एक त लकडाउन अर्को अङ्कलले त्याँ सम्म पुर्याइदिनु नै अहोभाग्य भैदियो। मेलम्चीको झोलुङ्गे पूलबाट दीपेशलाई फोन गरे। ऊ कुरेर बसेको रैछ। म सरासर उकालो चढेँ। ४० मिनेटमा मावल नै पुगियो। ढिलो नगरी बाइक चढेर हामी कूल पूजा गर्ने ठाउँ पुग्यौँ। मामाहरु पूजा गर्दै हुनुहुँदो रैछ। हजुरबुवाहरु, मामाहरु, माइजुहरु, दाइहरुलाई एकैठाउँमा भेट्दा खुशी लाग्यो। कोरोना अघि नेपाल आइपुगेछौ भाग्यमानी रैछौ भनेर मलाई भन्नुभयो। मसँग त्यसको उत्तर थिएन, संयोग जो थियो।
सल्लाघारी उसैपनि प्रिय् लाग्छ मलाई। सल्लाका अग्ला रूखहरु, खोटोको बास्ना, पाटनजस्ता ठाउँहरुले मन तान्यो। सानोमा आउँदा चिलाउनेको हाँगामा बसेर सल्लाका पातमा चिप्लेटी खेल्नुलाई मैले सम्झिन मात्रै सकेँ। धेरै कुरो बिर्सेको रैनछु। चिलाउने कै बोटमुनी देवाली चाहिँ किन भएको होला भन्ने जिज्ञासा् रहिरह्यो। वातावरण मस्त थियो, पूजाको धुप बास्ना आइरहेको थियो। मलाई एक्लो नहुन सञ्जीव भाइ साथी गर्दै थियो, दीपेश थियो। राम-लक्ष्मण मामा, रजिन दाइहरु, कान्छा मामाहरु देखि आफूले नचिनेका सबैसँग गफिन पनि भ्याएँ। उता मिलन पनि आउँदै रैछ। झन् खुशी लाग्यो। ऊ राम्रो तस्बिर लिन खप्पिस पनि छ। मेरो मित्र पनि हो। दीपेश लिन गयो। म र सञ्जीव केइ बेर माथी सम्म परेको सल्लाको बनम गयौं। घुम्यौँ। अब भने बादलहरु मडारिन थाले। मिलन आइपुग्यो। खाजा खायौँ। खिर र पुरी मीठो थियो। मसलदार दूध चिया उस्तै। पूजा सकिन आँट्दा पानी पर्न थाल्यो। हामी रूझ्दै-भिज्दै फर्कियौँ। पुगेसी लुगा फेर्यौँ। दीप्ती र माइजुले भिजेका लुगाहरु धोइदिनुभएछ। निशब्द भैयो, न नधुनु भन्न सकियो न धन्यवाद नै दिन सकियो। आगो ताप्दै ठूली हजुरामा, दीप्ती, दीपा, मिलन, मनिषा, सुस्मिता बैनी र म गफियौँ। माहोल रमाइलो थियो। खाना खाइसकेर केइ बेर म आराम गर्न तिर लागेँ।
रातमा जेठा मामाकोमा खाना खाने भैयो। भाञ्जाहरु सम्झनु हुन्न। भाञ्जाहरु त झोलिको देवता हुन् भन्छन् भनेर जेठी माइजुले भन्नुभयो। फोन मात्रै नगरेको माइजू सम्झिन्छौ हामी भनेँ। मामालाई त गरेकै हुँ माइजू सम्म पुगेन कि? खैर रातमा खाना खाइयो। अनि खाएर डाँडासम्म हिँडियो। गफिँदै बैनीहरुसँग हिँडियो। सम्भवत पैलोपल्ट तारा(?) खसेको देखियो। उनीहरुले नि पैलोपल्ट देखेछन्। मलाई चाहिँ कमेट्स लाग्छ हो चाहिँ के हो पत्तो पाइन। जुनेली रातमा जुगल पनि मुसुक्क मुस्कुराइरहेको थियो। फर्केर हामी एकैछिन गफियौँ। नवीन दाइ पनि चीन गएका रैछन। धेरै प्रसङ्गमा रहेर गफियौँ। तास खेल्यौँ। अनि सञ्जिव र म सुत्न पल्लो घर गयौं। म भुसुक्क भएको पत्तो पाइन।
बिहान गुफा जाने कुरो थियो। कारणवश मिलन र म सामेल हुन नसक्ने भयौँ भन्दा सबै निराश भए। भाइ बैनी बोल्दिन भन्न थाले, मामा माइजुहरु नि गए हुन्छ, आज यतै बसौँ भन्न थाल्नुभयो। मैले सबै कुरा भनेसी सबैले बुझेझैँ गरे। एकैछिन बसेर घर फर्कने कुरो गरियो। दुबै हजुरामाहरु बस नै किन आजै जाने भन्न थाल्नुभयो। मन छुट्टिने छँदै थिएन। तर पनि मान्छेको नियती है? ठूलीहजुरमाको एक प्रश्नमा मैले, 'हाम्लाई दुबै हजुरामा प्यारा, दुबै हजुरामा हाम्रै' भन्दा भावुक हुनुभएको थियो। २ वर्ष पछि पुग्दा पनि मलाई चिन्दा म दङ्ग परेको थिएँ, 'कति हँसिला छन्!' भनिरहनुहुन्छ हजुरामा। अनि केइ बेर जेठी माइजुसँग दर्शन गफ गर्दै हामी निस्क्यौँ। हजुरामा बाहिर घाममा हुनुहुन्थ्यो। आउँदा खुशी देखिने मान्छे, जाँदा दु:खी देखिन्थिन्। जानेसँग कस्को के लाग्दो रैछ र?
हामी दाजुभाई गफिँदै ओरालो झरिरह्यौँ। छाडी जान मन थिएन। परिबन्द हुँदोरैछ। मान्छे कतै च्यापिएको हुँदोरैछ। हामी निरन्तर हिँडीरह्यौँ। न्वारमा माइली फूपू हजुरामाको घर पस्यौँ। ठूल्बा-ठूल्यामा, दिदीहरु सबैलाई भेट्दा औधी खुशी भए। दीर्घ बहादुर जो मेरो कुप्रो हजुरबुवा हुनुहुन्छ वहाँको इतिहास सुन्दा छाती धक्क फुल्यो। हामी कती महान पुर्खाको सन्तान रैछौँ त? मेरो न्वारनको नाम दीर्घ बहादुर आउँदा नाम हजुरबुबाको पैले आइसकेको कुरोले अर्कै राखिएको, फूपू हजुरामाले मलाई दीर्घबहादुर देखेको प्रसङ्ग र एमबीबीएस पढ्नुअघी गोसाइँकुण्ड जाँदा हजुरबुवाको श्राद्द कै दिन सुखद खबर पाउनु सौभाग्य थियो। त्याँबाट सबैसँग बिदा भैवरी हामी टार आइपुग्यौँ। लक्ष्मी दिदी, दाइ भाउजुहरु सबैलाई भेट्यौं। खुशी हुनुभयो। यता पनि पल्लो घर तिर कोपिला दिदी, भिनाजु, भतिजी, नाति नातिना,हरुलाई भेट्यौँ। काफल र चिया खाँदै कोरोना, पढाइ धेरै संवाद गर्यौँ। अनि उता सुनिता भाउजुले बस, बस खाजा बनाउँछु भन्दा पनि हामी हतारिएको वेगलाई रोक्न सक्नुभएन। माथी प्रवीण दाइ पनि भेट्यौं। अनि तालामाराङ पुगेर काली दिदी, गनेश दाइ, भाउजू, जीवन, प्रकृतिसँग पनि भेट्यौँ। च्या खाँदै गफियौँ। सबैलाइ घरतिर आउने निमन्त्रणा पनि दियौं। अनि हामी बतासियौँ।
घर आउँदा वीच्याट र तिङ् तिङ् म्यासेजले भरिएका रहेछन्। लिपुलेक बाट मानसरोवर जाने सडक खोलिएको कुरो ट्विट पढियो। मनमा आक्रोश थियो। धन्न, भाग्यवश आएर चाइनिज परीक्षा दिन भ्याएँ। यो अविस्मरणीय दिन बनेको अनुभूति गरेँ। सबैलाई यतैबाट धन्यवाद ! यात्रा चलिरहेछ!
Wednesday, May 6, 2020
न्यानो माया अनि धेरै सम्झना !
खोइ के भनुँ, तिम्रो मस्तिष्कको कलम अनि मनको मसीले लेखेको पत्र पढेर म नि:शब्द भएँ, शून्यमा शून्य बिलाए सरी, तिम्रो भावसागरमा डुबेछु। मैले त तिम्रो यति असिम प्रेमको कल्पना सायदै गरेथेँ, हुन त उतीबेला हाम्ले प्रीति गाँस्दा भनेका थ्यौँ, यो जुनीमा आफ्नो हुन पाइएन भने कि के भो त, हाम्रो पवित्र प्रेम त जुग जुग बाँच्नेछन्। मैले तिम्रो पत्रको आशा गरिन भनेर प्रेममा मरेको नभन्नु ! यो लोकमा तिम्रा प्रेमायामको गहिराईमा कुनै कमी पाएको त छैन। प्रिय्, मैले पनि कहाँ बिर्से हुँला र? ती हाँसो, ठट्टासँगै एकअर्कासँग जिस्किएका क्षणहरु ! हामीले छाँटेका दर्शन, मैले दिएको धाराप्रवाह प्रवचनमा तिमीले दिएको तप, अनि तिम्रो सुरिलो स्वरले कवितामा थपेको मधुरता मेरा मस्तिष्कमा पाएका तरङ्ग मैले बिर्सुलाँ र? ती दिनका संवादहरु सम्झ त, कति जिवन्त थिए, ती बोलाईमा कस्तो निश्चल प्रेमका सागर उर्लीएका थिए !
सम्झना छ हामीले गरेको त्यो पदयात्रा? तिम्बुङपोखरी सम्म पुग्दा हामीले सङ्गालेका अनुभूति बिर्सेको छैनौ है? अझै बेला बेला तिमीसँगै गरेका पदयात्राको स्मृतिमा डुबुल्की मार्दै शुन्यमा डुब्नुको आनन्द बेग्लै छ, मनौँ म चाहन्न म फेरि तौरिएर उत्रुँ।केइ हिमाली पदयात्रा त्यसअघि पनि मेरा साथीभाइहरुसँग पनि गरिसकेको थिएँ, ती यात्रामा कल्पेका कुराहरु तिमीसँग यात्रा गर्दाको वर्णन यी शब्दले कसरी गरुँ? लामो हिँडाई तर कष्टकर यात्रामा तिमीले गाह्रो भन्ने शब्दको उच्चारण पनि गरिनौँ, मैले यात्रा प्रारम्भ गर्नु अघि प्राथर्ना गरेको थेँ, `हे ईश्वर हाम्रो यो पहिलो यात्रा जिवन्त बनाइदेउ, खाली माग्यौ नभन्नु है, मैले उसँगको यात्राकै आधारले सम्झना बुन्नुछ..!´ आखिर ती यात्रामा तिमी बस्दा मैले हातमा हात दिएर तिमीलाई ती ढुङ्गे सिँढीहरु बाट उठाउँदा खोइ जीउ कसरी सिरिङ्ग हुन पुग्दा तिमीले त्यसलाई गुजबम्प भन्न पुगेको थ्यौ। हुन त मेरो मन र तिम्रो मनमा खेलेका असंख्य कुराहरुले एकसाथ सहमति जनाएर पो तरङ्गको घन्टी दिए?
त्यो रात हामी सबैभन्दा अग्लो उचाईंमा थियौँ नि याद छ है, रातमा हामीले च्या'एको आकाशको शुन्यतामा हामी बिलिन भएथ्यौँ केही क्षण, हिमाली चिसो सिरोटेले हान्दा मनमा एकखाले उर्जा आइपुग्थ्यो। हामीलाई मनमा के लाग्यो कुन्नी, हामीले बाहिर आगो ताप्यौँ। ओहो त्यो चिसो र तातोको मिलन क्या गजबको
थियो है, हाम्रो जीवन जस्तै, एकैसाथ दुई कुराको अनुभूति नहुने ! चारैतिर अन्धकार रात, शान्त टाकुरोमा हामी दुई, भित्र चुल्होमा शेर्पीनि आन्टीले पकाएको त्यो मीठो चौंरीगाइको दुधको बासना, हामी दुइका मनमा खेलेका कुराहरु बाहिर पोखिएका क्षण, मानौं जीवन यात्राको त्यो रात हामी मानिस भन्दा निक्कै माथी तौरिएका थियौँ, हामीले गरेका कुरा कुनै दर्शन र साहित्य भन्दा कम थिएन, हाम्रा प्रेमील संवाद मुनामदनको प्रेम भन्दा कम भएन, मानौं त्यो रात हामी एकैलहरमा उभिएका हिमाली शृङ्खला बनेछौँ, शान्त, अटल अनि सौम्य, शून्यमा बिलाउने शून्य जस्तै। हामी दुबै एक मन भएको रात ! अब त्यस्तै यात्रा सँगै यो जुनी त उस्तै रह्यो प्रिय् ! सम्झनामा भन्दा ती क्षण हामीसँग कहाँ नै रहलान् र? धन्न त्यो यात्राले गति पायो र पो मान्छेहरूले भन्ने, `सत्यम्, शिवम्, सुन्दरम्´ त्यो अलौकिक परमानन्दमा लिन भयौँ..।
तिम्ले भनेजस्तै म रिसाएको पनि होइन काली ! त्यो मिठो नाम बोलाउँदा मैले एउटा जिवन्त आत्मीयता भेटेको छु। जीवन फुलै फुलको थुङ्गो मात्रै नि होइन नि हगी, तिमी नबुझ्ने पनि त होइनौं, नबुझे नबुझे जस्तै गर्नु तिम्रो बानी जो थियो नै, रहला नै। तिम्रो रिसमा मैले हाँसी, हाँसी जिस्काइदिँदा तिम्रो अनुहारमा देखिने त्यो रिसको राँको मलाई त्यसै त्यसै मन पर्थ्यो, त्यस्तो रिस जुन रिसमा ईख, द्वेस र रागको कुनै छिटा पनि मैले कहिले अनुभूति गरिँन। हुन त हामीमध्ये कोहि एक कम बोल्ने हुन्थ्यौँ वा, मेरो भनाईको भाषा तिमीले नबुझ्ने वा अझै तिम्रो भनाईको तात्पर्य मैले बुझ्दैनथेँ भने त हाम्रा यी सारा लोलीमा लोली मिलाएर फकाएका क्षण, हासोँमा मिसाएर दिइने तर्कयुक्त विचारहरुको अस्तित्व नै हुन्नथ्यो होला।
म तिमीले भनेजस्तै धेरै ज्ञानी थिएँ, थिइन त्यो सदा सापेक्षित कुरो रह्यो। तिम्रो लागि निरपेक्ष ज्ञानी हुनु स्वाभाविक कुरो हो नि होइन र, भलै सबैको लागि ज्ञानी हुनु नहुने सदा निरपेक्ष भन्दा टाढाको कुरो हो, कसैको मुल्यांकनमा मापन हुने कुरो। लामो सम्बन्धमा तिमीले मलाई चिन्दाको क्षणमा मापन कैले झुट्टो हुन्न नि? आखिर तिमी पनि त उत्तिकै ज्ञानी भएर न मलाई पनि ज्ञानीको त्यो सुचीमा राख्यौं।
हो प्रिय् जसरी तिमीलाई तिम्रा बाबाले अप्सराका कथाहरुले कल्पनाको डोबहरु भरेका थिए, त्यसैगरी मलाई अँगेनाका वरिपरि बसेर बाआमैले स्वर्ग नर्क भनेर सुनाएका अनेकौं राजकुमार र परीका कुराहरु कल्पनामा पनि घुम्छन्। तर त्यो मर्त्यलोकबाट कल्पिएको सपना र यताको यथार्थ बिपनीमा कुनै तादम्यता पाइन मैले, बरु अझै कट्मेरो छ। मनै त हो भन्दैमा यो सबैसँग बाँडिन्न रहेछ। भाव उर्लन्छन् भ,ने शान्त पनि हुन्छन्, सबै उर्लेका भावहरु शान्त हुन सहारा खोज्दैनन्। सुनामीमा उर्लने भाव होइनन् जो शान्त हुन सहारा खोज्छन्, म तिमीले चिन्नु भन्दा अगाडीकै सागर हुँ जो सदा आफै उर्लेका छाललाई आफैमा निस्तेज गर्न खप्पिस थियो, जुन तिमीले पनि देखेकौ छौ, र यहि जुग जुग रहनेछ प्रिय् काली! सायद तिमी छँदा तिम्रो सहारा खोजे हुँला, ऐले त म मेरै सहारमा लिन् छु। मेरो नियतमा शङ्का नगर्नु प्रिय्, तिम्रो रूप र विद्वतामा लठ्ठिएको अणु हुँ, वासनामा भुलेको मानिस होइन म।
प्रिय् मेरो विगत सुखद रहेनन् ! दु:खदका ती भागैमा तिमीसँग लामो समय बितानु नपाउनु पनि थियो। मलाई प्रेमको सुरुवाती बिन्दू के थियो भनेर पनि थाहा छैन, तिमीले प्रवेश पाएको क्षणले प्रेमको हाँगा लच्किएलान् भन्नेमा त मनमा भाव नै थिएन, तर कर्मको खेलाईले हामीलाई एउटा सुन्दर प्रेमील जोडि त् बनाइदियो एउटा अधुरो धर्को जस्तै, अन्त्य नदेखिएको! थाहा थियो प्रेम मर्दैन भनेर, प्रेम अझ अजर भएको छ नै रूप सर्वस्व हुन्थे भने हामी प्रेममा के लिन हुनथ्यौँ होला र जति हामी वासनाले सताइन्थ्यौँ होइन र? प्रेम र वासना बारे ती दिनमा हामीले भोगेका, गफिएका नि ताजै छैनन् र?
प्रिय् काली प्रेम साच्चै प्राप्ति मात्रै पनि होइन रहेछ, खुशी खोज्नु मात्रै पनि होइन रहेछ, प्रेम त एकाअर्काको त्याग अनि समर्पणले पनि जिवन्त बन्दोरहेछ। आज तिमी त्यो लोकबाट, म अनन्त यात्री बन्दा पनि तिम्रो पवित्र मनको मसिले कोरिएको सन्देश पाएको छु। प्रेममा प्राप्ति खोजिन्थ्यो भने तिमीले मलाई यत्तिका दिनसम्म `समयले सबै घाउ पुर्छ´ भन्दै सम्हालिसक्थ्यौ होला, तर प्रेम त्यागले जो बनेछ, र हाम्रो कर्मले जुनी जुनी मोक्ष नपाउञ्जेल स्मरण गराउनेछ। सायद यो पवित्र प्रेमको शक्ति हो कि काली?
त्यो प्रिय् नाम काली भनेर मैले बोलाउँदाको पहिलो क्षण सम्झेकी छौ? तिम्रो अप्ठ्यारो नामले मलाई बोलाउँदा कति गाह्रो भएको थियो, मैले नाम खोज्दा कैले पाइन। उसै पनि तिम्रो नाम आफैले जुराउने रहर नै जागेन। फुली थियो बहिनीको, झुम्कि अर्कैले राख्दिसकेछ अनि सोचें त्यो प्रियत्मालाई बोलाउने त्यो मीठो नाम के होला, झट्ट मस्तिष्कमा आइपुग्छ म्याउ जुन नाम लिँदा, त्यो कालो बिरालो पालेको याद आउँछ हजुरामाले। सबैले कालो बिरालोले बाटो काटे साइत बिग्रीन्छ भन्थे, तर हजुरामाले माया गरेर काली भन्दाको त्यो प्यारो नाम मेरो मस्तिष्कमा ठोक्किएको क्षण सम्झन्छौ नि है। अनि तिमीले घुर्किएर सोधेकि थ्यौ नि, `काली नै किन, गोरी किन नभन्या, के म त्यो बिराली हो र?´ अनि मेरो त्यो सानो उत्तर, `नाममा के छ र प्रिय्, गुलाफलाई गु भन्दैमा उसको बास्नामा कहिले कमी आउँछ र?´ यो उत्तरले तिमीमा ल्याएको लज्जायुक्त हाँसो अनि मौन समर्थन, सायद तिमीले पछि सम्मै सम्झ्यौ कि?
प्रिय् काली मेरो ठेगाना अरु कहाँ होला र यहि अनन्त ब्रह्माण्डको कुनै कुनो त हो। माया नमारे प्रिय् ! यो जुनीमा सबै माया दिन सकिन, अर्को जुनीमा तिम्रै हुने वाचा ! लेखिएको टरेर नै छाड्छ भन्थे, सायद यहि भयो प्रिय् ! सागरको गहिराई जस्तो असिम अनि क्षितिज जस्तै विशाल परिधीको ?प्रेम सदा फैलिरहनेछ प्रिय् काली, सम्हाली राखे! कसैकि भएछौ भने पनि यो श्रद्धा र सद्भावको प्रेमलाई सानो नसम्झनु है।
उही तिम्रो प्रिय्
ब्रह्माण्डको कुनै कुनोबाट
Thursday, August 1, 2019
时间过得真快?
没有永远的缠绵,却有永远的思念;
没有永远的成功,却有永远的追求;
没有永远的年青,却有永远的青春!’
我们非常感谢您们!我无法用言语形容 ‘您们人民’的奉献精神。
除了尼泊尔语,所有的课在英语但是我十五年来一直在学习英语,还觉得不容易。我的意思不是中文容易被,意思是我学习中文比英语很快。只可能,教师奉献精神和学生的美梦一起做的!这是真的那些时候是我生活的一个最好的时间,向您们学习!我认为大学教授可以从我们的语言老师那里学到很多东西。这是我们的第二次生命,我们来自我们的业力(因果-Karma)。非常感谢您!
‘不是在最好的时光遇见你们,是遇见你们之后才是最好的时光。’是的,所以我们会记得那些时刻永远。]
Wednesday, July 17, 2019
च्यामुसीबाट लोपेई यात्रा: मैले जे अनुभूति गरेँ
च्यामुसीबाट लोपेई यात्रा: मैले जे अनुभूति गरेँ
जुलाईको ९ तिर मलाई म्यासेज आउँछ एकैपटक मात्र भेटेको एक चाइनिज मित्रको। ‘दीपु, हामी म जन्मेको घर जाँदैछौ। यदी तिम्रो परीक्षा सकिएको भए जाने हो त? हामी त्यहाँ माछा पनि मार्नेछौ!’ यो म्यासेज पढ्ने बित्तिकै उत्साह छायो अनि मैले सोधेँ, ‘यदी म तपाईंहरुसँगै गएँ भने तपाईंहरुलाई कुनै कठिनाई त हुन्न नि?’ त्यस्तो केही हुन्न भन्ने उताबाट प्रतियुत्तर आएसी म खुशी भएँ।
यिनीसँग् मेरो पैलो गफ वीच्याटमा रिक्वेस्ट आएसँगै भएको थियो। मलाई डाइरेक्ट म्यासेज आउँदा मैले कसरी चिन्नुभयो त मलाई भन्ने प्रश्न राखेँ अनि मलाई सारा कुरा बताएसी भेट्न राजी भएँ। भेटमा मलाई म बस्ने ठाउँमा नै लिन आइपुगे। अनि धेरै कुराहरु मैले जानेको चाइनिजमा कुरा गर्यौं। उसैपनी अङ्ग्रेजी जानेका, पढेका चाइनिज भेट्टाउनु भनेको ढुङ्गा खोज्दा देउता मिले सरह नै हो। चाइनिजमा आफ्ना कुरा राख्न उति समस्या पनि रहेन। तर यता तोङ्पेई (उत्तरपूर्वी चीनको चाइनिज एसेन्ट अरु भन्दा फरक र पृथक मानिन्छ। ..ङ्यार्--याँर् यस्तै मिसिएको चाइनिज) बुझ्न अलिक कठिन हुन्छ। फेरि भाषा भन्ने कुरो १ वर्ष पढेर मात्रै जानिने कुरो पनि त होइन नि, यसमा वर्षौंको साधना अनि अभ्यास चाहिरहन्छ नै। भाषा भन्ने कुरो ५ वर्षमा अलि बानी पर्छ, १० वर्षमा घुलमिल होइन्छ् र एउटा जीवन नै पुग्दैन रे भनेको पढेको थेँ कतै। खैर जे होस्, यिनीसँग राजनीति, चीनको विकास, नेपालीका कुरो, मेरो यात्रा, चीनमा मेरो लक्ष्य लगायत धेरै कुराहरुमा हल्का हल्का विचार राखेँ। बेला बेलामा ९ महिनामा यस्तो राम्रो चाइनिज भनेर मलाई मख्ख पार्थे।
दोस्रो भेटमा भएको संवादले यात्राको बाटो तय गर्यो। १२ जुलाईमा लोपेई यात्राको लागि च्यामुसीबाट यात्राका लागि निस्कियौँ। मैले पदयात्रामा बोकिने झोलाभरी आफूलाई चाहिने सामानहरुको बन्दोबस्त मिलाइसकेको थिएँ। त्यसअघि बिहान एक कास्मिरी दिदीको नोटरीको काम सकिदिनुथ्यो। बाटोमा आउँदै गर्दा मनप्रीत दिदीको पनि फोन आएकोथ्यो। वहाँहरुलाई ट्रेन स्टेसनसम्म छाड्न जान समय नमिल्ने भएपछी मैले च्यामुसी छाड्नु अघि उहाँहरुलाई भेट्नु थियो। भेट्न जाँदा मनप्रीत दिदी र जोन्सी दिदी ले मेरा लागि सर्ट र बुद्धिस्ट कलरको टीसर्ट किन्दिनुभएको रहेछ। म यति दोधारमा परेँ कि, लिउँ या नलिउँ। नलिउँ किनेर ल्याइदिसक्नुभएको छ, लिउँ सकि'राछुइन। यसरी उपहार दिने काम चाहिँ मलाई राम्रो लाग्दैन, यो पटकलाई ठिक छ, अर्को पटकलाई हुन्न है भने! अनि टिसर्टको रङ्ग मलाई मनपर्ने कसरी छान्नुभयो त भनेको, भाइ हो नि, भाईलाई के मनपर्छ दिदीलाई थाहा हुन्न र? भन्नुभयो। साँच्चै कस्तो गहिरो शब्द छ है। मैले स्विकार गरेँ। जानेबेलामा च्यामुसी बसाईमा के गर्ने के नगर्ने भनेर मलाई भन्नुभयो, मैले सुनेर आफ्ना कुरा भनेँ। अनि निस्किँदा म अलि बोल्न सक्ने भइन। च्यामुसीको मौसम जस्तै म एकैछिनमा बद्लिएँ, मनका बादलहरुले मस्तिष्कमा हान्ने छाँट पाएसी म निस्किएँ। भर्याङ्ग र बाटाभरी कुरा खेले। केही मानिससँगको सम्बन्ध यस्तो गहिरो बसिदिन्छ उनीहरु टाढा जान लागेको अनुभूती भएसी मन उसै भावुक बन्छ नै। यो छोटो समयमा पनि केही मानिसहरू मनमस्तिष्कमा गहिरो छाप छाडिदिन्छन्। आखिर मान्छेको मन न मिलनमा खुशी हुन्छ अनि जस्तोसुकै विछोड्मा निराश हुन्छ।
अनि २ बजे आसपास मलाई ती चाइनिज साथी लिन आइपुगे। उनी आफ्ना परिवारसँगै आइपुगेका रहेछन्। अनि च्यमुसीलाई केही दिनका लागी बिदाई मागेर यात्राको लागि निस्किएँ। यात्राको दौरान मलाई तराई यात्रा गरेजस्तै अनुभूति भयो। सम्म ठाउँ, जमिन र आकाश जोडिएको क्षितिज पर परसम्म। सडकका दायाँबायाँ देखि बीचमा रूख रोपिएका। झन्डै २०० किमी यात्रा रूखहरु नभएको ठाउँ देखिन मैले। पोपलर जातिका रूख ज्यादा। सडक फराकिला, चिल्ला, मानिसहरु आआफ्ना काम गरिरहेका नै, व्यस्त ! दृश्यहरु हेर्न लायकको थियो। हामीसँग प्रकृति देखि हर कुराले यो देशका भन्दा भाग्यमानी बनाएको नै छ तर हामीले बेवस्ता धेरै गर्यौं। छ महिना चिसोले कठ्याङ्रीने ठाँउमा हर कुरा सम्भव बनाएका छन् चाइनिजहरुले। हामीलाई त्यो कठिनाई छैन, तर पनि यताको यो दृश्यबाट उता च्याउँदा मन कुटुक्क खान्छ। प्रस्ट दृष्टिकोणले अघि बढे नेपाललाई विकासको गति समात्न गार्हो छैन। विकास अरु देशको मोडल होइन माटो सुहाउँदो नै हुनुपर्छ तर त्यो दीर्घकालीन पनि हुनुपर्छ। मुख्य कुरो खाली जमीन आँखाले कतै देखेन, कि मकैबारी, कि धान खेत, कि तरकारी कि रूख। बिरुवा भएका ठाउँमा झार फाँड्न मानिसहरु लागिरहेका देखिन्थे, हाम्रोमा बिरुवा रोपेसी वृक्षारोपण कार्य सकियो, त्यसपछि ती बिरुवा 'अनाथ' भैजान्छन्। चीनले रूखहरुको व्यापक स्याहार गरेको छ, रूख बिनाको चाइना कल्पना सायदै होला। त्यसैले यता स्याटेलाइटले पनि चीनका धेरै भागलाई हरियो देखाएको कुरो मेरो साथीले सुनाएको सम्झन्छु।
अनि त्यो रात चाइनिज साथीले हाम्रो प्लस् टू सरह पढेको सानो शहर पुगियो। हामीलाई वहाँको भाइको परिवारले हार्दिकताको साथ स्वागत गर्नुभयो। अनि खाना खाएर हामी पार्क घुम्न निस्कियौँ। खाना रातमा अलि चाँडै खाएर पार्क निस्किछन् धेरै चाइनिजहरु। पार्कमा साँझ हर उमेरका मानिसहरु भेट्न सकिन्छ। कोहि नाचिरहेका, कोहि डुलिरहेका, कोहि कसरत गर्दै, चाइनिजहरु स्वास्थ्यप्रति अपनाएको सजगता प्रस्ट देख्न सकिन्थ्यो। केटाकेटीहरु सबैभन्दा बढी पानीको फोहोरा छेव उभिएका थिए, पानी माथी पुग्दा खुशीले चिच्याउँथे, अनि मैले ती चाइनिज मित्रका श्रीमतीलाई भने, संसारभरका केटाकेटीहरु उस्तै छन्, यिनीहरु पानी खेल्न रुचाउँछन्, माटो खेल्न रुचाउँछन्। यसरी त्यो लोपेई शहरलाई एक फन्को पनि लगाइयो।
भोलिपल्ट जुलाई १३ चीन आइपुगेको १० औँ महिना पनि पूरा भएछ। बिहानको खाना खाएर हामी हेइलोङ्चियाङमा माछा मार्न लाग्यौं। दिन उदास उदास'थ्यो। अनि हामी चीन र र रसियालाई छुट्याउने त्यो नदीमा पुग्यौं। निक्कै शितल र शान्त अनुभूति भयो। माछा मार्न तयारी हुँदै थ्यो। अनि एक पूलिस आएर यो ब्रीडिङको समय हो, बल्छी खेल्नु तर अरु नगर्नु भने, त्यसै अनुसार हामीले मान्यौँ। मैले निक्कै बेर टोलाएर त्यो नदी पारीको डाँडाहरुलाई हेरिरहे। भुँडीफोर, बकुल्ला लाई धेरै पछि देखे। पानीमा पौडिए, किनारको पानी तातो थियो, मुतको न्यानो नै भए पनि आनन्द लिन चुकिन। धेरै बेर त्यसरी बसिरहें। डाँडाहरुलाई एक टक हेरिरहेँ। हातमा फगेटो, असला समाउँदा आएको गन्ध उस्तै पाएँ। मन मनै सोचे धन्न यिनीहरुका लागी मान्छेले सिमाना कोरिदिएनन्, नत्र चराहरुको, माछाहरुको पनि राष्ट्रियता हुन्थ्यो अनि मान्छेहरु जस्तै अशान्त भएर बाँच्थे होलान् है। (?) मलाई पनि यी मान्छेहरूको कर्म, जीवनयापन सधैं उस्तै लाग्यो। म उनीहरु भन्दा फरक र उनीहरु म भन्दा फरक भन्ने नै आएन। मैले साँझ खाना खाँदा पनि यहि भने, `वोमन त युयान् पु थोङ् त तानश्री वोमन सिन्ली त क्वानसी श्री यी याङ् त´ हामीले बोल्ने भाषा फरक देखिए पनि हाम्रो भावनात्मक सम्बन्ध उस्तै छ। हुन त म उ भन्दा फरक, म उ भन्दा राम्रो भन्ने कुरोले नै संसार सधैं अस्तव्यस्त भएको देखिन्छ। आफ्नो राम्रो भन्न अरुको नराम्रो हुनुपर्छ भन्ने सोच यहाँ अलिकति गलत देखिन्छ। सायद यहि सबै उस्तै छन् भन्ने मनमा आएछ क्यार, म त्यो रात पाहुन बन्दा उनीहरुलाई के अनुभूति भयो होला भनेर मनोकल्पना गर्दै थिएँ। अनि उनीहरु पनि सुत्नलाई कस्तो छ, कता सुत्छौ, चिसो होला कि यस्तै प्रश्न जुन प्रश्न हामी उता सोध्छौँ त्यस्तै, मात्रै माध्यम फरक, म भावमा उस्तै देख्थेँ!
मेरा चाइनिज मित्रले यसअघि पनि केही नेपाली भेटेका रहेछन्, उनीहरु ३ वर्ष चीनमा पढेर पनि बडै राम्रो बोल्दैनन् भन्ने प्रश्नमा मैले यो सबै आआफ्नो सपना, अन्तरात्माबाट आउने प्रबल इच्छामा निर्भर हुने कुरो हो भनेसी उनी मान्न तयार भए। उनी र उनका श्रीमतीले पनि यात्रामा प्रशंसा गरिरहे। कति कुराहरु भन्न मन हुँदाहुँदै सकिन्न पनि। फेरि यी चाइनिज मित्रका कलेज पढ्दा ताका साथीहरु पनि बोलाएका रहेछन्। पैलो भेट्मा उनीहरुसँग मेरो परिचय गराउँदा, ‘ ऊ हाम्रो साथी दीपु, नेपालबाट आएको। अनि चाइनिज पढेको १ वर्ष पनि भएको छैन, बुझ्न कठिन छैन..’सिक्नु धेरै छ ऐलेलाई ठिकै छ भन्छु। अनि उनीहरुले अङ्ग्रेजी पढेका रहेछन्। मैले पनि विभिन्न कुरा गरेँ। उनीहरु साँच्चै खुशी भए। नेपालमा हजुरबा, बा, काकाहरुसँगै रक्सी पिएको बेला फुरेको अङ्ग्रेजी जस्तै यता मैले त्यही भोगेँ। उनीहरु अङ्ग्रेजी बोल्थे, म मिलाइदिन्थे। उनीहरुमा रहेको अङ्ग्रेजी मोहलाई म भाषा जान्नु राम्रो कुरो हो, भाषा जाने संसार नै घर जस्तै लाग्छ भन्दा हो त्यो त भनेर लोली मिलाउथें।
जङ्गबहादुर बेलायत जाँदा त्यहाँको बच्चाबच्चीले अङ्ग्रेजी बोल्न जानेको देखेर दङ्ग परेजस्तै म पनि यस्तै धेरैपटक दङ्ग परेको छु, रहस्यचकित भएको छ। यी केटाकेटीहरु भन्दा त मैले केही गार्हा शब्दहरु जानेको हुँला है भनेजस्तै नि लाग्छ। ती केटाकेटीले बोल्ने चाइनिज त सुनिरहुँ लाग्छ, सार्है मजाले बोल्छन्, अनि मनमा एउटै प्रश्न आउँछ म नि यसैगरी बोल्ने कैले हुन्छु होला है? जङ्गबहादुरको जस्तै विचार अरुमा आयो कि आएन थाहा भएन तर मलाई त पटक पटक झस्काएको छ।
पैलो पल्ट मैले म पढ्ने शहर च्यामुसीलाई पनि सम्झिएँ, आफू बसेको ठाउँको पनि यसरी माया लाग्दो रहेछ। म बिरानो अर्को ठाउँबाट आफू बस्ने ठाउँ जस्तै भए पनि माया र मोह बढ्दो रहेछ भन्ने अनुभूति बटुलेँ। च्यामुसी छँदा घरलाई सम्झिन्छु, लोपेई आइपुग्दा च्यामुसीलाइ सम्झिएँ, यस्तो पनि हुँदो रहेछ, मूल त च्यामुसी मेरो दोस्रो घर नै हो, छिमेकि साट्न सकिन्न भने जस्तै मैले मेरो जिन्दगीमा बदल्न नसक्ने अर्को सत्य!
मैले अन्तिममा केही शब्दहरु लेखेर धन्यवाद व्यक्त गरेँ,‘您好! 我非常感谢你们的关系!我没想到您们会给我那样美丽的回忆!我忘不了!如果你觉得我会帮助您们,可以告诉我!在萝北,我得到家人!我们不是不同,一定是一样的!我的中文是不太好,但是我一直在学习如何做到最好!您妻子的英语也好,有一天她一定会成功!您的还也很聪明!我见过跟您是一个最好的缘分!谢谢 !’मलाई दिएको त्यो सद्भावलाई मैले शब्दमा व्याख्या गर्न त सक्दिन। तर आफूले जानेको दुई शब्दलाई उनीहरुले बोल्ने भाषामा भन्न त सक्छु नि। अनि मैले उनी र उनको परिवारले देखाएको सद्भाव प्रति कृतज्ञ हुँदै म बाट हुन सक्ने कुनै सहयोग छ भने भन्न नलजाउनु, यो भेट भाग्यले जुराएको एउटा सुन्दर भेट हो, सदा बाँचिरहनुपर्छ भनेँ। राम्रा मान्छेहरुले सधैं घेरिरहन पाएको छु, यो सुन्दर समयको लागि सबैप्रति आभर रहेँ। अनि उनीले म्यासेज फर्काएछन्, हामी साथी हौँ, भविस्य लामो छ, सबै शुभ रहोस्! ‘谢谢您!照片很美,同样您也给我们带来了有意义的时光!我们是朋友,来日方长,一切好运!’
आशा छ आउने दिनहरु अझै शुभ हुनेछन्। उनीहरूले ममाथी गरेको भरोसा सधैं पक्का हुनेछ। चीन यात्रा मेरो चिकित्सा अध्ययन यात्रा मात्र नभई जीवन बुझाइ र यो विश्व चिनाईको एउटा अनुपम यात्रा पनि हुनेछ भन्ने आशा छ।
दीपकिरण खड्का
Sunday, March 17, 2019
च्यामुस् बाट च्याउँदा
"उत्थानको लागि इच्छा र साधना चाहिन्छ; पतनका लागि इच्छा मात्रै भए पुग्छ रे। तर म मान्दिन। विदेश आउँदा नाल्मा डाँडाबाट जब आफ्नो गाउँघरको अन्तिम झलक हेर्छु त कति इच्छा गर्छु म त्यहीँको आङमा अटाऊँ, त्यस पहाडी समाजको ठूलो पखेटाले मलाई बिरानो देशमा नबिलाउँदै छपक्क छोपिदियोस्। तर चिताउँदैमा यति वर्षको साधनाले सङ्गालेको शिक्षा-सभ्यता मिल्काएर म सङ्लो लेकाली बन्न सक्तिनँ। त्यसैले मलाई लाग्छ मात्तिएको देश र उछिट्टिएको मानिस एकै हुन्, एउटा टापुमा एक्लो। अझ टाकुराको फेद हुन्छ, द्वीपको प्रतिबिम्ब हुन्छ, तर मेरो पृष्ठभुमि नै छैन। पर्वतेले पढ्यौ भन्दैमा प्रवासी ठानिनुमा के अतियुक्ती?" डा. हर्क गुरुङको यो वाणीलाई मैले बारम्बार पढेको छु, यता पाइला टेक्नु अघि मैले केही ठाउउँहरु र मावल-घर यात्रा गर्दै यसैगरी देउरालीहरुलाई भाकेको थिएँ, डाँडाहरुबाट फाँटहरु नियालेको थिएँ, पहाडहरुको प्रतिबिम्बमा आफूलाई पाएको थिएँ, नदीहरुको गतिशीलतामा आफूलाई बगाएको थिएँ, खैर ती अनुभूतिहरु भन्दा अरु के होलान् र? जस्को स्मरणमा एउटै अर्कै स्वर्गानुभूती छ।
"कर्मको बिरुवा जहाँ उम्रीन्छ, त्यहाँ लालित्यले झाङ्गिनुपर्छ…" भन्ने वाणी सरल छ तर गहिरो अभिव्यक्त राखेको छ, मेरो जीवन-व्याख्यामा। तीजको दिन मैले एमबीबीएस अध्ययनको लागी मेरो माटोलाई केहि समयलाई बिदा मागेको थिएँ, आज चीनको च्यामुस् आइपुगेको ट्याक्कै ६ महिना पुगेको छ। आजै फुसफुसे हिउँहरुले स्वागत गर्नु, पढाइ उस्तै शिर्षकको हुनु, सपनीमा लाओशिर् सँग चाइनिजमा गफ हुनु संयोग नै हो। आइन्स्टाइनले भने जस्तै, हामीले अनुभव गर्न सक्ने संसारको सबैभन्दा सुन्दर कुरा रहस्यमय छ। त्यो मानिस; जो रहस्यका भावनाहरूसँग अपरिचित छ, जो एकछिन रोकिएर रहस्यप्रति छक्क पर्न सक्दैन, त्यस्तो मानिस मरेतुल्य हुन्। उसका आँखा खुलेर पनि बन्द छन्। सायद यी जीवन संयोगहरु जुर्नुलाइ मैले रहस्यमय पो माने या? आफैमा ती रहस्यमय नै पो हुन् कि?
समय गतिशील छ भनेर हामी आज बाँच्नेहरुले मात्रै होइन हिजो यहि धर्तीमा जन्म लिइसकेकाहरुले पनि समय र समुन्द्रको छालसंग तुलना गर्दै अनेकन् साहित्य सिर्जना गरिसके, अनेकन वाणीहरु भनिसके। समय आफ्नै गतिशील यात्रामा छ। समुन्द्रमा त छाल आइरहन्छ यसलाई पनि पर्खिने हो र भन्दै मैले अफ्रिकाकै एउटा सुन्दर द्वीपबाट आएका अफ़्रिकन डा. रसिद हसन अलि खानलाई प्रश्न सोधेको थेँ। उनी भन्थे, "म सानै हुँदा प्रत्येक दिन बिहान आउने समुन्द्री छालहरु हेर्न जान्जिबारको त्यो समुन्द्री किनारामा पुग्थें। आज पनि त्यो उत्तिकै सम्झना छ।´ आखिर समयलाई मैले यति धेरै व्याख्या किन गरिरहनु पर्दो हो र? तैपनी प्रसङ्गहरुलाई छुट्याउनु पनि त भएन।
सुरुका दिनहरूमा कुनै पनि ठाउँ नौलो हुन्छ भन्थे भन्नेहरु। तर आफूले नै नभोगेसम्म त्यो अन्तर्मनमा गएर नठोकिने रहेछ। अरुका भोगाई, अनुभूति पढ्दा, सुन्दा गहिराईमा पुगेर आफूलाई त्यही पात्रमा राखेर हेरिए पनि `ऊ´ नै बन्न भोग्नु नै पर्नेरहेछ। घरभन्दा धेरै टाढा, क्षितिज भन्दा धेरै पर, नौलो ठाउँ, नौलो भाषा अनि नौलो हावापानीमा आफूलाई बानी लगाउनु ढुङ्गा चपाउनु सरह हो। आफ्नै देशमा जन्मेर, हुर्केर, बढेर राम्रा कुरा सिक्न त वर्षौं लाग्छ तर लगभग सबै वातावरण नै फरक भएको ठाउँमा पुगेर आफूलाई अभ्यस्त बनाउन प्रयास गर्नु जीवनको एउटा सिकाईकै पाटो होला, सायद। ती बाटामा हिँड्दा चाइनिज खानाको बास्नाले के तान्थ्यो, अर्कै के हो के हो लाग्थ्यो। भित्ता र फ्लेक्समा लेखिएका अक्षर देख्दा डा. सन्तोष दाईलाई बारम्बार सोध्थेँ, अनि तिमीहरुले पनि जान्ने दिन आउँछ भन्दै ढाडस दिनुहुन्थ्यो। सुरुका दिन बजार लैजाने, त्यताको जीवनशैलीलाई सजिलो कसरी बनाउने, के कता गर्ने लगायत सबै कुराहरुमा उहाँले भन्न, सिकाउन नाइँनास्ती कैले गर्नुभएन। उताबाट आउँदा कसरी के गर्ने हो भन्ने चिन्ता केही गर्नु परेन। राम्रा कर्म गरे राम्रा मान्छेको सायद नपाउने कुरो अपवाद मै पर्ला। बाहिर निस्कँदा देखिने चाइनिज अक्षर, शब्दहरुमा आँखा परिहाल्थे, ती अक्षर न अङ्ग्रेजी जस्ता न हाम्रा देवनागरी लिपि नै जस्ता न हाम्रा आँखाले कैले भेउ पाएको लिपि नै? कैले पढेर जान्ने होला हुटहुटीले मलाइ सधैं अघि बढ्नुपर्छ भन्ने हेतुले जगाइरहन्छ, हुन त सिकेका, जानेका कुरा भन्दा व्यक्तिको जीवनमा अरू के नै सम्पत्ति छ र? जाने मेरो भाषा हुन्छ, नत्र मैले नजानेको कुरा मेरै भए पनि हुनुले के अर्थ राख्ला र?
सुरुका दिनहरु सजिला कहाँ हुन्छन् र? विशेषत: मलाई घर, परिवार, आफन्तको यादले झस्काइरहन्थ्यो। मन अमिलो भएर आउँथ्यो ती दिनहरुका सम्झना स्मरण हुँदा। घर भन्ने चीज वस्तु मात्रै होइन रहेछ भावनाहरु रहेछ। नत्र सुन्दर हुने वस्तुले मात्रै तान्ने हो भने त च्यामुस् मा हिउँ परेको समय र यताको शरद् वा अरु कुनै सुन्दरताले तान्नु पर्ने हुँदो रहेछ। यात्राको सुन्दरता व्याख्या र अब यतै बस्नु पर्न भनेर मनोभावनाले गर्ने व्याख्याहरु फरक हुँदो रहेछ। सुन्दरतालाई यसो भन्दै गर्दा सापेक्षताबाट तौलिएको होइन किनकि यहाँ ती साथीहरु छन् हामीले मरुभूमि भन्ने ठाउँहरुबाट आएका मित्रहरू पनि भेट्छौँ, जो ती जन्मेको भूमिलाई अपार प्रेम गर्छन्, सायद यसैले घरहरु ढुङ्गा र माटोको थुप्रो मात्रै होइन यो त भावनाहरुको संग्रहालय पनि हो कि?
आज भाषा कक्षामा (时间过真快的- समयको गतिशील छ) शिर्षक पनि पढ्ने संयोग जुर्यो अनि सम्झिएँ त्यो ६ महिना अगाडि। आफ्ना सपना पूरा गर्न नै मैले गरेका हरप्रयासहरु जसको प्रतिफल स्थितिले सम्भव/असम्भव दुबै कुरालाई उत्तिकै बोकेको थियो। आखिर सम्भावना तिनै असम्भव हुन सक्ने स्थितिहरुको बुइँ नचढी नहुन पनि त सक्छ। संसारका कुनै भाषा पनि दोस्रो भाषाको रूपमा सिकेर बोल्नेलाई उत्तिकै गार्हो कुरो हो। चाइनिजको लेखाई हान्ज र ध्वनीले गर्दा गाह्रो भनिएको हुँदो हो तर पनि विश्वकै कठिन भाषा भनेर चाइनिज भनिन्छ पनि, स्वाभाविक कुरो नै हो। तर निरन्तर अध्ययन, सिकाई र मिहेनतमा आफ्ना इच्छाहरुको फ्युजन गरे कुनै पनि कुराहरुलाई वा भाषा लाई आफ्नो सम्पत्ति बनाउन सकिन्छ भन्ने निर्क्योल निकाल्न सकिन्छ। भाषा नजानी त्यो देश के जानिएला होइन र? चीनले भाषालाई दिएको प्राथमिकतालाई हाम्रो देशका उत्तराधिकारीहरुले स्मरण गर्नुपर्छ।
"जब म विदेशमा हुन्छु तब बोलचित्र र नाटक हेरिरहेको हुन्छु; जब म स्वदेशमा हुन्छु, म जीवन अनुभव गरिरहन्छु...तर ठाकुरबाबाको देखासिकी गर्ने सबै सिकारु विश्वप्रेमी र विश्वसिद्धान्ती लेखक र कविहरु भुल्दछन् कि विश्वप्रेम भनेको चीज स्वदेशमै विकासिन्छ; र जसले आफ्नो जाति, आफ्नो राष्ट्रको प्रेम राख्न सक्दैन, त्यसले विश्वप्रेम राख्छ भन्नू ताती गर्न सिक्नुअगाडी दर्गनु जान्ने हुनु मात्रै हो।" देवकोटाको यो लेखाइले मलाई उर्जाशील अनुभूती गराउँछ, उताबाट आउँदा केही अध्यात्मिक र साहित्यीक पुस्तकहरु पनि साथमा थिएँ। मलाइ देशप्रेम मेरै माटोमा विकास भएको थियो, विदेश आएर होइन। बरु यताबाट चियाउन पाउनु सौभा रहेछ। देशमा के गर्दा कस्तो हुन्छ भन्ने सानो रेखाचित्र यहाँबाट बनाउन्स सकिन्छ। विदेशमा आएर मात्रै स्वदेश प्रेम गर्नु भनेको चाहिँ बैमौसमी तरकारी फलाउनु मात्रै हो, देशलाई जहाँ गए पनि सदाबाहार माया गर्ने मन स्वदेशमै उम्रीनुपर्छ।
यो बीचमा संवादहरु निक्कै पातलियो। बाआमा, परिवार, दिदी भिनाजुहरु र केही साथीहरुसंग बाहेक मेरो संवाद ऐले लगभग छैन। सबैले बुझेर पनि होला, यता वीच्याट भन्दा बाहेक अरु बाट कुरा गर्न अलिक गार्हो नै छ। बा/आमा, काका काकीहरु संग बोल्न पनि कैले त महिनौं कुर्नुपर्छ। मूलतः आमासंग बोल्दा उहाँ अझै पनि मलाई अति सम्झनुहुन्छ, फोनका प्रत्येक संवादमा उहाँको आँखा रसाइहाल्छन्, सम्हालिनुहुन्छ। बा त रामको बनवास यात्रा सुनाएर प्रेरित गर्नुहुन्छ। अनि आमालाई भन्छु, पढ्न मात्रै आको त हुँ, राम्रो पढेर फेरि उतै आइहाल्छु नि। मेरो यहाँ राम्रो छ, कैले चिन्ता नमान्नु है भन्छु तर माया सधैं उँधो हुन्छ भन्छन् नि बा/आमाले गर्ने माया हामीले महसुस गर्न हरप्रयास गरे पनि उहाँहरुले गर्ने त्यो अगाध प्रेम कस्तो छ भनेर म व्याख्या गर्न सक्दिनँ। म उहाँहरुप्रती सदा नतमस्तक छु। जीवनका ईश्वरहरुप्रति!
मूलतः चीनमा फेसबुक प्रतिबन्ध छ। म सधै चलाउन्न, भिपीएन बाट बेला मौकामा चलाउँछु। प्रतिबन्ध लागेकोले होला फेसबुक म्यासेन्जर बाट भिडियो कलहरु हुन्न। संवाद पनि पातलिएको छ। समय उस्तै सधैं कहाँ हुदो रहेछ र? ऐले पढ्ने समय पनि हो, र यो समय पैले जस्तै अरुसंग बोल्न, संवाद गर्न, भेटघाट गर्न नभए पनि आफूलाई एउटा अनुशाशीत मार्गबाट सपनामा दृढ हुनुछ। मलाई यहाँ सम्म आइपुग्न प्रेरित गर्ने मेरा हजुराबा/आमाहरु, बाआमा, काका काकीहरु, दिदी, भिनाजुहरु, दाइहरु, भाइहरु, साथीहरु, आफन्त, शुभचिन्तक र सामाजिक सञ्जालमा गाँसिनुभएर मलाई सदा हौसला दिने मनहरुप्रती म आभारी छु। सिर्जना कसले गरे भन्ने नखुले पनि विजयकुमारले ट्विट गरेको एउटा कविता तल प्रस्तुत गर्दै सबैको आउने दिनहरू शुभ रहोस्, मेरो यहि कामना।
"पछाडी साथी थियो
अगाडी थियो लक्ष्य
रोकिएको भए शिखर छुट्ने
हिँडे साथी छुट्ने
शिखरको चाहना पनि
साथीको माया पनि
रोकिएको भए म अतृप्त मर्थेँ
हिँडेको भए वियोगले मर्थेँ
तिर्खा थियो भयानक
तर पानीमा विष थियो
पिएको भए विषले मर्थेँ
नपिएको भए तिर्खाले
तिमी नै भन म के गर्थे?"
ने, कर्म र यात्रा
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...
-
`ढाका टोपी दिवस´ किन प्रायोजित? राष्ट्रियता पोसाकमा होइन मन र मस्तिष्कमा हुन्छ। एउटै पहिचानमा जातिय विविधताले ठाउं पाउन सक्दैन। सबै ...
-
प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै...
-
बा अनन्त यात्रामा निस्किनुभएको पनि ६ महिना पूरा भएछ। मानिसको कर्म, समयको गति, सबै सबैको आफ्नै लय ! त्यो लयबीच प्रारब्धकै कर्ममा रपिएको बिऊ, ...





