Wednesday, October 5, 2022
त्यो दशैं, यो दशैं !
Monday, November 29, 2021
Wednesday, June 2, 2021
बाको सम्झना
सम्झनामा बा !
(२०२२ वैशाख १४-२०७८ जेठ ८)
जीवनमा पीडा के होला? सायद मान्छेले व्योहोर्ने शोक भन्दा अर्को ठूलो पीडा के होला र? तर शोक जती नै पीडादायी नै भएपनी त्यो अवश्यम्भावी छ, त्यो टरेर टर्दैन ! हामीले जीवन यात्राका आगतसम्म पनि अभाव, दु:ख हरुसङ्ग सधैं लडिरह्यौं, तर बा को अप्रत्याशित मृत्युको खबरले हर कोहिलाई स्तब्ध बनायो ! यसैगरी आजबाट बाको गतियुक्त यात्रा सहित प्रेतात्माको वैकुण्ठ बास् होओस् भन्ने कामना र सम्झना सङ्गै वैदिक परम्परा अन्तर्गत १३ दिने संस्कार पनि रितपूर्वक समापन गरियो।
हामीलाई हामीसङ्गै हामीलाई साथ दिने अरु हामी पनि छौं है भनेर अनुभूति गराउने हाम्रा कूल परिवारका परिवारजनहरु, मावलीहरु, आफन्तजन र शुभचिन्तकहरु, १३ दिन नै हामीललाई एक्लो महशुस नगराइ काम धन्दा गर्ने हाम्रा हजुरबा/हजुरामाहरु, काकाकाकीहरु, दिदीहरु लगायत गाउँका आफन्तजनहरू सङ्गै शोकमा शब्द र भाव मार्फत हाम्रा बालाई श्रद्धा र हामीलाई हौसला, सद्भाव दिनुहुने सम्पूर्ण प्रति हृदयाभार र कृतज्ञ छौं।
बा बारे मैले धेरै भनिरहन पर्ला जस्तो लाग्दैन। हामीले बा अनुभूति गरेको भनेकै द्वन्द्वकालमा हो, त्यो बेला अभाव मात्रै साथ थियो- त्यो तत् समय चराचुरुङ्गीले बचेरालाई आहारा खोजेर हुर्काएर, बढाएर, उड्न सिकाएर उन्मुक्त छोडे जस्तै बाले यस्तै गरे। बाको कडा अनुशासनमा बाँचियोय त्यो बेला नरमाइलो लागे पनि अलिक हुर्केपछी हाम्रै लागि अनुशासन, नैतिकता र इमानदारीता सिकाएका रहेछन् भनेर अनुभूति हुन्छ ! बालापनमा बाआमा माउ चराहरु थिए, हामी बचेराहरु थियौं- यसरी अभाव नै अभाव बीच हामी यहाँसम्म आइपुग्यौं। बा पछिल्लो समय हाम्रा साथी जस्तै थिए, एक असल पिता थिए तर एक असल पति चाहिँ बा बन्न नसकेको हो कि भन्ने अझै लाइरहन्छ। बा मेरा प्रयोगात्मक राजनीतिका गुरु थिए, बा सङ्ग घरैमा वाद र संवादहरु भैरहे, बाले प्रशिक्षण दिइरहे ! तर बा मलाई एक असल चिकित्सक पछि मात्रै राजनीतिमा देख्न चाहेको कुरो बारम्बार भनिरहनुहुन्थ्यो।
०४९ र ०५४ मा दुईपटक गाविस अध्यक्षमा निर्वाचित भएर बाले हेलम्बु क्षेत्रमा कम्युनिस्टको एउटा दरो खम्बा गाडेको कुरो कतै छिप्दैन। बाले हेलम्बु भेगमा ल्याएको सिँचाइका कुलोहरु, देश भित्र नदी बचाउ अभियानहरुमा खेलेको सक्रियतापूर्वक भुमिका, गाउँमा बिजुली बत्तिका अवधारणा, ग्रामिण सडकका योजनाहरु, ट्राउट माछा सङ्गै अरु कृषी योजना सङ्गै बाले निर्भीकता पूर्वक सत्यको पक्षमा वकलात गरेको मुद्दा हरुलाई लिएर बालाई यसभेगमा जनताहरुले स्मरण गरिरहनेछन्। मृत्युुका अन्तिम दिनहरूमा पनि यस भेगमा अर्ग्यानिक खेती गरेर कृषकको जीवनशैली सुधार्न सङ्गै पार्टी एक हुनुपर्छ भनेर दिनरात हिँडीरहनुभयो। बा बारे अरु धेरै प्रसङ्गहरु म समयक्रममा लेख्दै जाम्ला पनि !
बाको मृत्युको खबर हामी लगायत हर कोहिलाई अप्रत्याशित खबर थियो। एउटा कारण कोभिड थियो, चाहेर पनि फेसबुकमा पोस्ट गर्ने चाहना भए, घरमा केटाकेटी र बुढाबुढी भएका परिवारहरु देख्दादेख्दै यसो कसरी गर्न सकिएला र? फेरि बा अस्पतालमा हुँदा खाना दिदी भिनाजु, खर्चको जिम्मा काकाले, कुर्न सहयोग हामी दुइ भाईलाई मिलनका साथी जेनसिङ र धरम थिए। ४ औं दिनमा बाको अवस्था सुधार भैसकेको छनक पाइसकेपछी मृत्युुको कल्पना कसले गर्ला र? ICU का लागी जेठ बिहिवार ६ गते ७ बजेबाट ७ गते शुक्रबार बिहान १ बजेसम्म सयौं कल हरु गर्यौ, हाम्रा सोभित अङ्कल, कोमल अङ्कल, विजय दाइ, आविष्कार दाइसङ्गै अन्य सबैले गरेको जोडबलले ढिलै भए पाइयो ! अब भने आशा जागेको थियो, तर अपसोच शनिबार ८ गते ८ बजे म इक्जाम दिन बस्दा बाको मृत्युले झस्कायो....! हुन त मानिसको जन्म, मृत्यु र जीवन कर्म हाम्रो वशमा कहाँ छ र?
हामीलाइ सद्भाव दिने ठूल्बा, ठूल्यामा, मितबा/मितआमा, काका काकी, आफन्तहरु, साथी र शुभचिन्तकहरु सङ्गै हामीलाई साथ सहयोग गर्ने कोरियन आमा, अग्रजहरु, क्षेत्री समाज, र बा का मित्रहरूप्रति आभारी छौं।
बाको सपना र सम्झनाहरु लिएर अघि बढ्नुछ, बाको आशीर्वादहरुको आकाश हाम्रो शिरमाथी सदा रहिरहनेछ। मृत्युबोध अझै गराएर बा जानुभएको छ, अझै असल, अनुशाशीत र कर्मशील भएर अघि बढ्नुछ !
बा तिमीले खोजे जस्तै यो राष्ट्रका असल छोराहरु बन्ने अभ्यास सधैं रहनेछ, त्यो टाढाको ब्रह्माण्डबाट भए पनि चियाउन नछाड्नु है ! आउने अभावहरुसङ्ग संघर्ष गर्न बाँकी नै छ, बा तिमी अभावको सबैभन्दा ठूलो देउता हौ, संघर्षको अर्को नाम हौ, आँटको हिमाल हौ, आत्मविश्वासको पर्याय हौ !
बा ! तिमीले अदृश्य बनेरै पनि हामीलाई सिकाउनुछ ! बा धेरै सम्झना !
रातको ९:२७, २०७८ जेठ १९
Friday, January 29, 2021
हिमाली कुरा
हिमाली कुरा
दशकौंदेखि देखिरहेको दृश्य। सधैं एउटै लाग्दा लाग्दै पनि कैलेकैले माहोल फरक हुन्छ। घरभन्दा माथीको नाङ्गो डाँडा हिउँदमा हिउँले छोपिन्छ, अनि त्यो बेला पहाडहरु फुस्रा देखिन्छन्। गर्मी आएपछि त्यो नाङ्गो डाँडा कालापत्थर बन्छ, अनि पहाडहरु हरिया, कलकलाउँदा बन्छन्। यसो दुई मिनेट सोची ल्याउँदा मान्छेको जीवन जस्तै होला भनि कल्पना गर्छु। कतै पढेको कुरो ऐले लेख्दा झल्याँस्स सम्झन्छु। एउटै पोखरीमा बस्ने कमिलो र माछाको कथा जस्तै। बर्खामा पोखरीमा पानी हुँदा माछाले कमिलालाई आहारा बनाउँछ्न् अनि खडेरीमा माछालाई कमिलाले। धैर्य गरेर पर्खिन पर्ने रैछ भन्ने बुझ्न सकिँदोरैछ।
मान्छेलाई सतसङ्गत किन चाहिन्छ त भन्ने कुरो बुझ्न किताबसम्म साक्षात्कार गर्न नपाउनेले चाहिँ प्रकृतिलाई नै नियालेर आत्मोबध गर्ने अभ्यास गर्नुपर्ने रैछ। यतिबेला मेरा आँखाचाहीँ हिमालतिर पुग्छन्। हिमालहरुको शृङ्खलामा कालापत्थर पनि हुन्छन्। हिमाल सुन्दर हुन्छ, अटल हुन्छ, हाँसेको हुन्छ। र त्यो कालापत्थर पनि उसैको सङ्गतले अटल हुन सिक्छ, थोरै हाँसो पनि भर्छ अनि ऊ पनि बिस्तारै हिमाली चालमा लम्किन्छ। यति कुरा सिक्न, जान्न, बुझ्न, लेख्न, भोग्न हिमाल नहेरे र दिव्य ज्ञान र कर्मले सिके नि हुन्छ है। कर्म पवित्र हुनुपर्छ। कर्म नै जीवनको वेद बन्नुपर्छ।
यति लेख्दै गर्द बाहिर 'मुस्ताङे' हावा चल्छ। म चिनियाँ हान्फिङ् लाइटतिर केइ नयाँ शब्द सिक्न भनि पस्छु। मुस्ताङ्गे हावा बेजोड चल्छ। बाहिर यसो निस्कन्छु। आँखा यस्तो दृश्यमा पर्यो कि एकछिन अचम्मित भएँ। ठूलो हावाले बकुल्लालाई माथी हुत्तायो अनि बकुल्लाले आफूलाई सम्झालेर बत्तासियो! दृश्य हेर्नलायकको थियोे। तल यो दृश्यसँग बसिरहँदा रमेश अङ्कलको फोन आउँछ। अनि यात्रामा जाने हो माथीसम्म भनेसी मन उमङ्गले ननाच्दो हो त? उसैपनि मैले यात्रा सुन्न र पढ्न नै पाउँदा पनि हृदयमा मृग शावक उफ्री उफ्री भन्ने सिद्धिचरणका शब्द आउँछन्।
गङ्गा आन्टी, अर्जुन अङ्कल, रमेश अङ्कलले सम्झेर बोलाउनुभएको यो यात्रा छोटो तर विशेष भयो। पाल्चोकको शिर ककनीसम्म पुगेर हिमालहरु चियाउँदा मन आनन्दित भयो। गाङ्जाला हिमाल र दोर्जेलाक्पालाई बीचको भञ्ज्याङ बाट एकसाथ दृश्य हेर्दा मनमा के अनुभूति आए होलान्? मानेका झन्डाहरुहरु बतासले फर्फराउँदाको पवन संगीत को ध्वनि कस्तो होला? गुन्साभन्दा माथीको लेकमा देखिने जापानको फुजी माउन्टेन जस्तै दृश्य देख्दा मस्तिष्कले केके सोच्न भ्याए होलान्? ककनी बाट माथी उक्लिँदै गर्दा सल्लाको वनमा चलेको बास्नाले हृदयलाई कुन स्तरको आनन्दनुभूति भयो होला?
मलाइ यात्रामा सम्झेर पाल्चोक यात्रा गर्न सम्झिने यी मनहरुप्रति आभार सहित!
;)
दलालहरुको दम्भ
दलालहरुको दम्भ!
'मर्छन् भने मर्न देऊ मान्छेहरूलाई। के नै खती होला र यिनीहरूको सरापले, डराएर के म निधार थापी हिँडु? पाप गर्नेले पापको दण्ड पाउनुपर्छ। यसबाट मुक्त गरेर तिमी के पाउँछौ र लगातर घचघच्याइरहेछौ? बाँचेर बोझ बन्नुभन्दा मरेर उपकार हुन्छ भने कसैको, धन्यवाद देऊ त्यस्ता प्रत्येक मर्नेहरुलाई र मलाई पनि कि आहुति पर्खेर कसैको भोलि हेर्न पटकपटक जिउँदै मर्नु नपरोस्।' शब्दब्रह्म भन्ने निबन्धबाट मैले यी पंक्ति उद्दृत गरेँ। समसामयिक देखेँ।
विचारले म मध्यमार्गी विचारले ओतप्रोत भएको मान्छे। म खासै अरुको आलोचना गर्न रुचाउन्न पनि, आलोचना गर्न मसँग त्यो हैसियत छैन। तर एउटै कुरो म यो देशको असल नागरिक हुँ। मैले पनि कुनै पार्टीलाई भोट हालेँ। यो आफ्नो ठाउँमा छ। मैले असल काम जस्ले गरे पनि हौसला दिने प्रयत्न गरिरहेकै हुन्छु। म चाहन्छु एउटा असल समाज भएको राष्ट्र बन्नुपर्छ हाम्रो देश।
तर केइ दिनदेखि सामाजिक सञ्जालमा छाएका दुई समाचारले मलाई विक्षिप्त बनाउँछ! म एउटा निष्कर्षमा पुग्छु, हाल सत्तामा रहेका यी तथाकथितहरु कम्युनिस्ट हुँदै होइनन्। यिनीहरुले मार्क्सवादका पढे त भन्ने कुरोमा शङ्कै रह्यो! मैले पछिल्लो समयसम्म यिनीहरूको गतिविधि नियालिरहेकै छु। केइ राम्रा जस्ता काम देखाएर जनता झुक्याउने र बाँकी आफैँतिर दुनो सोझ्याउने बाहेक 'देखिने' काम निक्कै थोरै छ।
चीन सरकारको सहयोग र नेपाल सरकारले नै मेडिकल सामग्रीहरु किन्ने कुरोमा भएको भ्रष्टाचारको समाचार पढ्दा झोंक चल्यो। भुइँचालो, नाकाबन्दीलाई छाडेर कोरोना जस्तो महाविपत्तिसँग लड्ने बेलामा पनि यी भ्रष्टाचारीहरुले भ्रष्टाचार गर्ने छाडेनन् अनि अझै सरकारमै रहेर, म आफैँ किटेर त भन्न सक्दिन तर यिनीहरुले यसो गरेकै होइन भन्ने आधार र तथ्य केइ छैन। मानवता भन्न बिर्सेको हो त? यो बेलामा के गर्नुपर्छ भन्ने कुरो सानो दिमागले नि सोच्न नभ्याउनेहरु नेता? दलाल भने हुन्न? यो देशाँ एकछाक भात खान यत्रो कष्ट छ, अनि ती नानाभाँती गर्नेहरुलाई नेता किन भन्नी? कम्युनिस्ट किन भन्नी? कपुतहरु हुन्! भ्रष्टाचारीलाई किरा परोस् भन्दा तर्सिने यिनै हुन्। किनकी यिन्लाई डर छ नि- समय कलिमा चल्दैछ, पाप धुरीबाट कराउँछ। किरै पर्न त नपर्ला नि!
काठमाडौलाई कालापानी दुख्दैन भन्ने प्रेमसिँह धामीको यो बोलि आज पनि एकपटक मेरो मस्तिष्कमा झट्ट आइपुग्यो। धार्चुलाबाट वारि नेपाल आउन महाकाली पौडेर नेपाल आइपुगेका एक नेपालीलाई प्रहरीले पक्डेर खाली खुट्टा हिडाउँदै लगेको दृश्यले मलाई मनमा चसक्क बनायो। चीनबाट नेपाली आउन सक्ने रैछ, भारतबाट आउन किन सकेनन्? कि यहाँ पनि वर्गमै कुरो अड्कियो! कि ती भारत गएकाहरु कुल्ली भएर? गरिब भएर? मजदुर भएर? कि जनतै होइनन्? कि तिन्ले पनि प्लेन चढ्ने हैसियत राख्नुपर्थ्यो?
दलालहरु त भए नै! यो देशाँ जनता चाहिँ को हो फेरि? त्यो गरिब, त्यो मज्दुर, त्यो किसान जो दुइछाक खानकै लागि राज्यसँग संघर्ष गर्छ? व्यापारीहरु मौका छोप्ने? अनि कहरमा को पर्यो त? दलाहरु हो, लुट, कति सक्छौ लुट! के नै खति हुन्छ र तिम्रो यी गरिबहरु मरे भने, यिन्लाई भुइँचालो लाग्यो, नाकाबन्दी लाग्यो, कोरोना लाग्ला अनि आउने प्राकृतिक विपत्ति नि लाग्छ। यिनले सरापेर के हुन्छ हैन र? याद गर दलाल हो, जनताको आँसु लाग्यो भने, त्यो दिन के हुन्छ...
च्यामुसीको कथा
च्यामुसीमा आफ्नै कथा
कैलेकैले जिन्दगीमा यस्तो समयले ठाउँ लिन्छ जुन कल्पिएको पनि हुँदैन र त्यो नतिजा नजिक आइपुगे फेरि कथाले फरक मोड लिइदिन्छ। यस्तै रह्यो सेमेस्टरका अन्तिम समयका केही दिनहरु। मैले २ दिने बिदाका लागी पनि १५/१७ दिन दुःख पनि पाएँ, खुशी पनि पाएँ। साँच्चै अविस्मरणीय रह्यो, सम्झन र बिर्सनलायक।
अनुशासित विद्यार्थीको एउटा सिलसिलालाई अझै कायम गर्ने एउटा अभिलाषा सधैं रहिरह्यो, र यसलाई यता पनि निरन्तरता दिइयो भन्नुपर्छ। अनुशासित, इमानदारी भएर अन्तिममा नतिजा आफू तिर नहुँदा पनि कुनै ग्लानी हुन्न रैछ, कर्म गर्न फलको आशा नगर भनेर मन बुझाउने बाटो पनि हुन्छ नै।
डिसेम्बर २० मा चिठी कार्यलयमा बुझाइसक्नुपर्ने हुन्छ। मैले राती नै लेखेर तयार गरिसकेको थिएँ, भएका कुरालाई प्रस्ट लेखेको थिएँ, दायाँबायाँ सोचिन। अघिल्लो दिन केमेस्ट्रीको परीक्षा थियो। परीक्षा केमिस्ट्री त्यहाँ माथी चिनियाँ भाषामा केही चाहिएला र? त्यहाँ माथी हाम्रा केइ विदेशी साथी अलि जान्ने बढी भैदिए। तिमीहरुलाई म छुट्टै प्रश्नपत्र बनाउँछु, चिनियाँ विद्यार्थीहरुलाई भन्दा सजिलो भनेर लाओशिरले भनेका थिए। यसलाई हर्ष मान्नु या विस्मात्, बरु विचार बाँडिए। मैले त उतिबेला नै विदेशी साथीहरुलाई भनेको थिएँ, हामीलाई उत्तम चाहिँ चिनियाँ विद्यार्थीहरुलाई तयार गरिने प्रश्नपत्रमा नै परिक्षामा बस्दा हुन्छ। यसो हुँदा फेल नै हुँदा पनि प्रयास जारी गरिएको थियो भन्ने हुन्थ्यो, इज्जतसँग फेल हुइन्थ्यो। पास हुने सम्भावना कम छ। तर यता चिनियाँमा हामीलाई के सजिलो, प्रश्न बुझिने, उत्तर चिनियाँमा कसरी लेख्ने? यो गन्थनमन्थन गर्दागर्दै परीक्षा आइपुगियो। परिक्षा पनि दिइयो। प्रश्न पनि बुझियो, तर उत्तर अङ्ग्रेजीमा लेखियो। न्युमेरिकल गरियो तर उत्तर अङ्ग्रेजीमा लेखिएकाले पास पो गर्ने हुन् या नहुन् ले चाहिँ मन द्विविधामा भयो। तर यता चीट चोर्न तरिका लगाउनेले चिनियाँ मै लेखे। यसरी केमिस्ट्री परीक्षा आफैंमा गजब माहोल भैदियो।
कुरो गर्दै थिएँ २० तारिखको। अनि म गएँ अफिस। आफ्ना कुरा पढिसकेसी लाओशिर् यसरी आगो भइन् म त्यहाँ उनको हिस्सा नै खोस्न पुगेको छु। मैले मेरा कुरा इमानदारी पूर्वक राखी नै रहेँ, त्यहाँ उनी चिनियाँ र अङ्ग्रेजीमा रिसाइरहेकी थिइन् नै। मेरो काम अझै थियो चिनियाँ मै दुई चार कुरा भन्नू, सम्झाउनु। मेरो केइ नलागेपछि म चुप भएँ। कालो बादल मडारिएको आकाश जस्तै प्रस्ट अँध्यारो भएको थियो मेरो अनुहार। तत्काल म के झुट बोलुँ, या त्यस्तो खुरापाती सोचुँ। चुपचाप फर्किएँ। त्यसदिन पिबिएलका साथीहरुसँग बेलुका सानो प्रस्तुति पनि दिनु थियो। तोङमन पुगेर उनीहरुलाई भेटेँ र सानो कागजमा रहेको अङ्ग्रेजी कवितालाई केइ बेर भट्टाइयो। हिप्पोक्रेट्स सपथको बारेमा लेखिएको कविता हुनुपर्छ। हिप्पोक्रेट्सलाई सिपोखलाँती पढ्नुको मजा चाहिँ बेग्लै थियो। तर यता त्यो घट्ना मेरो मस्तिष्कमा समुन्द्री छालजस्तै ठोक्किरहेका थिए। मेरो मन त्यसै आकुलव्याकुल भएको थियो, म त्यो गाली भन्दा अरु केइ सम्झिन सकिरहेको थिइन। बेलुका पिबिएल कक्षामा गएर त्यो कविता वाचन गर्यौं, फर्कियौँ। तर मन अशान्त थियो, के गर्ने होला भनेर सोचिरहन्थ्यो। तिमी त छात्रवृत्तिको विद्यार्थी, यस्तो किन, टिकट परिवर्तन गर पटकपटक भनिन्। यो पक्षमा म छँदै थिइन।
दोस्रोपटक एउटा नयाँ सोच आयो, बिदा मगाइको एउटा चिट्ठी अर्को हामी पढ्ने लाओशिरको बाट ल्याउने। अनि म गएँ त्यताका हाम्रा मुख्य लाओशिरकोमा। तिनी माझ मैले आफ्ना कुरा राखे। नेपाल बारे जिज्ञासा् राखे। चिनियाँमाआफ्ना कुरा राखेँ। ती सार्है मिजासिला थिए। हँसिलो मुद्रामा मेरा कुरो सुन्दिए, अनि चिठी तयार गर्दिए। जाने बेलामा फोटो खिचाएँ।अनि छेवैका अर्का लाओशिर पनि मेरो बारे जिज्ञासा् राख्दै थिए, यो केटाको चिनियाँ भाषा राम्रो रैछ त। अनि मुख्य लाओशिर मेरा कुरा गर्दै थिए। म बिस्तारै निस्किएँ, मलाई अब अर्को दुई हस्ताक्षरको खाँचो थियो। मनमा एउटा नयाँ खुसीले प्रवेश पाएको थियो। तर त्यो खुशी पनि लामो समय टिक्न पाएन। यो चिट्ठीले काम गर्दैन भनेसी मैले आएर हाम्रा डा दिलिप दाईलाई सुनाएँ। मनमा आँधी चलेको छ। अनुहारमा चिन्ताको छनक प्रस्ट पाइन्थ्यो। तिमी लि लाओशिरलाई भन एकपटक भन्नुभयो। मैले अनि चिनियाँ लामो चिठ्ठी लेखेँ। पठाउनु अघि एउटा डर थ्यो के भन्ने होला भनेर। किनकी ती दुबै लाओशिर एकाअर्काको राम्रा साथीहरु हुन्। अनि म्यासेज फर्कियो। चिन्ता नमान्नु एउटा गोप्य कुरो छ। तर तिमी मेरो प्यारो विद्यार्थी भएकोले मात्रै भन्दैछु। जुन कारण देखाएर तिमीले चिट्ठी लेख्यौ त्यही कारण अरुले पनि देखाएका छन् र यो उति राम्रो कारण होइन। बरु यसको लागि तिमी घरायसी कुराहरुलाई कारणका रूपमा देखाउन सक्छौ भन्नुभयो। अनि मैले लाओशिरलाई धन्यवाद दिएँ। लाओशिर चाहिँ हामीलाई भाषा पढाउँदा ताका कि प्रमुख पनि थिइन्। म राम्रो विद्यार्थी भएको कुरो उहाँलाई ज्ञात भएकै कारण पनि उनले मलाई सहयोग गरेको बताईन। पछि अरु धेरै विषयमा गफ गर्यौं। मन अति नै हल्का भएको थियो, अब चाहिँ मेरो काम सफल भयो भन्ने कुरोमा म ढुक्क थिएँ।
अर्को दिन म फेरि नयाँ चिट्ठी लेखेर म कार्यलय पुगेँ। दोस्रो लाओशिरको सहायता लिनुपर्दा मलाई अलिकति अप्ठेरो महशुस भएको थियो। मलाई धेरै केही नभनी छिङ चियाको फारम भर्न लगाइन। त्यहाँ बाट निस्केसी लाग्यो। अब सबै समस्या दूर भयो। अनि अर्को समय फिजिक्सको परीक्षा सकाएर म मुख्य लाओशिरकोमा गएँ। उनी मेरो दौडाई र मैले पाएको दु:ख देखेर दङ्ग परेका थिए। उस्तै मुद्रामा मलाई त्यहाँ पनि सहयोग गरे। यता काम सकाएसी म कार्यलय खुलेको दिन अब यता भाषा पढाइने कलेजमा गएँ। हात्ती छिर्यो, पुच्छर अड्कियो भनेजस्तै भैदियो। अन्तिममा यो दुई दिनको बिदा भित्र विश्वविद्यालयमा प्रवेश पाइसक्नुपर्छ कि त सबै परिक्षा पास गरेको हुनुपर्छ भन्ने दुई माग तेर्सिए। ऐले सम्म नतिजाफल सार्वजनिक भएको छैन, हुने दिन निस्किनुछ। अब झन् दोधारमा परियो। नतिजा निस्किए पनि ७ वटा परिक्षामा एउटा केमिस्ट्रीको डर मनमा थियो। त्यो 'सजिलो' प्रश्नको 'गार्हो' नतिजा आउने हो कि भन्ने डरले मनमा अर्को डर जन्माइदियो। यसको लागि फेरि तेस्रोपटक म मुख्य लाओशिरको कार्यलयमा पुगेँ। तेस्रोपटक पनि त्यै समस्यामा पुगेको देखेर उनी आफैं आजित भए, खुइया गर्दै लामो सास फेरे। अनि फेरिहस्त मैले आफ्ना समस्या सुनाएँ। उनले फोन लगाए, समस्या बारे बुझ्न खोजे। अब मलाई ती बिस्तारमा बताए। म के गरुँ त लाओशिर भनेँ? उनीसँग पनि यहि गर्नु भन्ने नभएसी मलाई अझै १ दिन प्रतीक्षा गर्न भनेँ। त्यो एकदिन कुर्न मेरो लागि सानो कुरो थिएन। उसैपनी म २ दिने बिदाको लागि १७ औँ दिनदेखी दौडिरहेको थिएँ। तैपनी मान्छेको आस त हो। कुर्न थाले।
पछि मैले अर्को चिट्ठी लेखेर बुझाएँ, त्यो दुई दिन बिदा पनि मागिन। बरु उल्टै १ हप्ता अघि फर्किने भएँ। अनि लाओशिरहरुलाई सबैलाई धन्यवाद दिएँ। आखिर मैले त्यहाँ कालो चित्र देखेँ, सामान्य कुरो त समस्याले ग्रस्त ठाउँहरु देखेँ। मूलत: मुख्य लाओशिरसँग प्रत्येक भेट गजब रहन पुग्यो। अरु लाओशिरको रूखो व्यवहार देख्दा पनि यी लाओशिरले मसँग जुन स्तरले संवाद गरे त्यो साच्चै विशेष रह्यो। यस्तै एक समय थियो। म बाटोबाट एकजना भाइको फि तिर्नुथियो। जाँदै गर्दा यिनले बोलाए। मलाई उनको कारबाट अर्को अफिससम्म पुर्याइदिए। लाओशिर भएर पनि हामी प्रतिको यस्तो दया प्रति म साँच्चै पग्लिए। यिनै लाओशिरले भनेका थिए, च्यामुसीमा नेपालीहरुको पढाइ साँच्चै राम्रो छ, चिनियाँ भाषा पनि राम्रो बोल्छन्। अझै मलाई हान्ज पढाउने लाओशिरसँग बिहान गफ भयो, उनी मसँग केइ जिज्ञासा् राख्दै थिइन्। सबै पास हुन्छौ होला है तिमी त? लाओशिर, केमेस्ट्री भन्न सक्दिन, बाँकी ७ वटा त मजाले पास हुन्छु। मूल कुरो चिनियाँमा पढ्न सजिलो छैन भनिन्।
मूल यति सार्है दु:ख पाइसक्दा पनि मलाई मनमा कुनै ग्लानी भएन, किनकी यी हर कर्म इमन्दारिताले गरिएको थियो, उद्देश्य प्राप्तिका लागि कुनै झेल गरिएको थिएन। भन्न त मैले धेरै सोझो बन्न नहुने रैछ भनेर पनि भने, जङ्गलमा पनि सोझो रूख नै पैले काटिँदा रैछन् भने तर त्यसो हुन्छ भन्दैमा आफ्ना काम इमान्दारी पूर्वक गर्न छाड्नु त भएन नै। मलाई अझै सरल, विनम्र र अनुशासित भएर काम गर्नुपर्छ भन्ने प्रेरणा मिलेको छ। एक व्यक्तिले सबैलाई एकै ठाउँमा लाखेर तौल, मुल्यांकन गर्नु पनि हुन्न रैछ। ती दु:खमा पनि कोइ म कोइ साथ दिने मानिसहरु, वा नआत्ती भन्ने भन्ने मानिसहरु हुँदा रैछन्। २ दिने बिदाको लागि १७ दिन खर्च गर्दा पनि जीवनमा एउटा नौलो अभ्यास रह्यो। साधुवाद।
ने, कर्म र यात्रा
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...
-
`ढाका टोपी दिवस´ किन प्रायोजित? राष्ट्रियता पोसाकमा होइन मन र मस्तिष्कमा हुन्छ। एउटै पहिचानमा जातिय विविधताले ठाउं पाउन सक्दैन। सबै ...
-
प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै...
-
बा अनन्त यात्रामा निस्किनुभएको पनि ६ महिना पूरा भएछ। मानिसको कर्म, समयको गति, सबै सबैको आफ्नै लय ! त्यो लयबीच प्रारब्धकै कर्ममा रपिएको बिऊ, ...
