कविहरूले कतै 'आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश भनिएको माटो जहाँ कर्म रोपिँदो रैच, उ पनि नपत्याऊँदो पाराले आफ्नै भैसकेको हुँदोरैच। ति भनिए पनि वा नभनिए पनि आख़िर कर्मको बिरूवा जहाँ रोपिएको छ, त्यहाँ लालित्यले झाङ्गिनै पर्यो। तर जता जता टाँस्सिए पनि आफ्नो जरो जोड़िएको माटोको प्रेम त औधी लाग्छ, मन बुकुर्सी मारेर घर पुग्छ, त्यै आँगनमा नाच्छ।
बितेको ५ साल जीवनका सबभन्दा अद्भुत सालहरू रहे। म यसै भन्न सक्दिन, मेरा जीवनमा यस्तै समय र परिस्थितिहरू अब आऊँछन्/आऊँदैनन्। त्यो सुखको पाटोले होस् या दुःखको पाटोले ! जीवन भोगाईको सबैभन्दा सम्पन्न समय थियो भन्न सकिएला कि भन्ने लाग्छ। कतै रित्तिनु, कतै भरिनु, यस्तै यात्राको सारथी भएर स्वजीवनलाई नियाल्दै; जिजीविषाका लहरहरूसंगै पौड़िएको जीवन हेर्दै, जीवन चोलो बगीरहँदो रैछ। खै कता रोकियो र?
यो जीवन च्यामुसीले धेरै दिएको छ, जसको लागी म सदा ऋणी छु। जे जति यो कर्मभूमिले दिएको छ, मेरो जीवनले अनुभूति, भोगाई, ज्ञान आर्जन अवसर पाएको छ। यो शहर भूगोलले सानो हो, भावनाले होइन। जुन बेला देशकै माटोभित्र हुर्किएको सपना शरणार्थी भएको थियो, हो यो त्यहि गाऊँ हो जसले शरण दिएर गुन लाएथ्यो, र जीवनको उचाई नाप्ने एउटा मोड भेट्टाएँ। नत्र उही, ‘सोचेको थिएँ जिन्दगीको हरेक मोडमा तिमीलाई सम्झिउँला। दुर्भाग्य भनुम् या सौभाग्य, जिन्दगी सोझो बाटोमा हिँडिरह्यो, कुनै मोड नै आएन।’ भन्दै बस्न पर्ने हुनसक्थ्यो। आज यही मोडको सम्झना हो।
५ औं साल पूरा भएको यो चीन अध्ययन यात्राले कुशेऔशी पनि भेटेछ। "तँ पढने कलेजको नाम चिँमुसी कि के रे?" बा म पढने कलेजको नाम लिएर यसो भनिरहन्थे। हुन त म जुन शहरसम्म आईपुगेको छ, यो मेरो कर्मसंगै पूर्णत बाको सपना हो भनेपनि हुन्छ। राजनीति पढ़छु भनेर बालाई हरेकपल्ट भन्ने म; "तँ म हिँडेको शैलीले यात्रामा निस्किने ग़ल्ती गर्नुहुँदैन। तैले यो अध्ययन यात्रा सकेपछि तैले रहर गरेको बाटोको यात्रा पृथक हुन्छ।" मलाई सम्झाऊँदै बा यसो भन्थे। आज पनि ति वाणी उस्तै गुञ्जिन्छन्।
भन्नेहरू 'सबैको हुने मान्छे कसैको पनि हुँदैन' भन्छन्; परिस्थिति परोक्ष यो पनि उति 'असत्य' लाग्दैन। मध्यमार्गी धारको एउटा जिन्दगी आफैंमा भव्य हुन्छ, स्वयमलाई एक आनन्द अनुभूति हो तर परको दृश्य चियाएर आफ्नै 'सत्य' लाई एक मात्रै मानक बन्नेहरूलाई त्यो भ्रमसिवाय केही होइन ! एउटा मिठो भ्रममा बाँच्नुको बेग्लै मज्जा छ। जीवनलाई हेर्ने कोणहरू पनि भिन्न भिन्न हुन थाले, सिकाईका भिन्न चरणका यात्राहरूमा सामेल भैएछ क्यार, बनिँदै पो छ कि?
सिक्दा सिक्दै पनि भुलहरूसङ्गै बग्नु जिन्दगीको नियति पनि होला। यसैले ढोङ्गी पनि छु। र, यो पनि थाहा छ, सापेक्षतावादको लयमा कमै ढोङ्गी छु, प्रष्ट छु। 'जीवन जिउने कला' सिकुँ भन्ने लाग्छ, त्यो मेरो जन्रा नै होइन भनेर किनारा लाग्छु। जरो नै गुराँसको लिएर उम्रिएको बिरूवाले गुलाफ बन्न खोज्नु भूल सिवाय के होला र? उसो त 'पु वाङ्ग छु सिन्' अर्थात् आफ्नो जरो नबिर्स भन्ने चिनियाँ उद्गारको गहिराई ननापेको कहाँ छु र?
मेरो जीवनलाई भिन्न भिन्न रङ्ग र ढङ्गले सजाउन मुख्य र नेपथ्यमा भुमिका खेल्ने पात्रहरूलाई सदा धन्यवाद। नेपथ्यमा बसेर स्वआकारको भुमिका खेल्नेलाइ पनि धन्यवाद। म अझ 'शुद्धीकरण'को यात्रामा छु, यो यात्राको लतले 'महादेव' भैसकेको छु, यो अनन्त यात्राको एक सिलसिला हो। खैर, यो बीच हिजोको सपनाले अझ उत्साह भरेको छ। 'सबै ढुङ्गाबाट मुर्ति बन्दैन। मुर्ति बन्न मुर्तिकारले ढुङ्गा छानेर ढुङ्गामा कुँद्नुपर्ने हुन्छ। भगवानले तिमीलाई छानेका छन्, दीप !' मामाका छोराले यसै भनेथे।
सापेक्षतावादको शिखरबाट् यो वर्तमान कस्तो छ यसै भन्न सक्दिन तर निरपेक्षतावादको गोरेटोबाट जुन यात्रामा हिँडीरहेको छु, जे छन् तिनलाई आफ्नै मानिएर अघि बढीएकै छ। घर, परिवार र देउरालीसंग बिदा मागेर आजकै दिन ५ वर्ष अगाडी सेप्टेम्बर १३ (१४ मा त च्यामुसीको बिहान देखियो नि) को दिन सपनाको शहर च्यामुसी आइपुगियाथ्यो।
च्यामुसी मेरो जीवनको केही 'ने' हरूर मध्येको एक हो, मेरो तपोभूमि हो। पाल्चोकी माई, थोंगला पहाड र यांग्रीमाको आशीर्वाद लिएर जीवनको केही समयको अन्तराललाई च्यामुसी भेट्न आईपुग्नु पनि कर्मकै कुरो होला। र, यो अध्ययन यात्रालाई सघाऊने हरेक प्रिय मनहरूप्रति सदाभार छु, यो हृदयभरी केवल प्रेम छ।
(ने अर्थात् पवित्र भूमि)
是的,正是在这一天,我来到佳木斯五年了。佳木斯已成为我的第二个故乡。这一生,它给了我很多。永远感恩这片土地、我的老师们、朋友们,和祝福我的人。