Tuesday, January 24, 2023
तालीबाट हेलम्बु चियाउँदा
मौसम चिसो चिसो छ, छाङ्गशानलाई कुहिरोले छोपेका छन्, आकाश धुम्म छ, मानौं केहिबेर संसार रोकिएको छ, मानौं ऊ कुनै आश्चर्य वस्तुलाई हेर्न उभिएको छ, मौन छ, शुन्य छ र यी सारा दृश्यहरूबीच मेरो साथमा नेपाली चिया छ ! छाङशान अटल उभिएको छ। उल्था गर्दा छाङ्ग पहाड भने पनि हुने हो, तैपनि कुनै शब्दलाई जस्ताको तस्तै भन्नुको मज्जा उल्था र अनुवादमा छैन ! हुन त च्यापति नेपाली हुँदैमा फ्याट्ट नेपाली च्या नै त भनिहाल्न नपर्ने हो, तैपनी निर्याणक भुमिका नेपाली च्यापतिको मान्दिएको मात्रै है ! खैर यो अर्को पाटो भो। प्रत्येक दिन नेपाली च्यासङ्गै दिन सुरुवात गर्दा ताजगी त अनुभव हुने भो नै, सङ्गै म बालापन तिर स्मृतियान लिएर फुत्त पुग्दिन्छु। प्रत्येक दिन आमा र काकीहरु वन सोत्तर लिन जाँदा च्यासङ्गै गहुँको रोटी खाएर गरिने सुरुवात त गज्जब छ नै, त्यो एउटा भिन्न गाउँले परिवेशको याद अमिट भएर बसेको छ। अरुले तिमी भनेको सुन्दा, "आमा तिमी वनबाट चाँडै घर आउ है !" सम्म भनेको सम्झन्छु। आमाहरूको दैनिकि नै ! चिया खाँदै पहाड चियाउँथे, तर ऐले नै जस्तो बडो आफ्नै मानेर होइन, केवल गज्जब लाग्थ्यो। मैले आफू अघिल्तिर उभिएको मान्छेको डाँडो भन्दा पैले आमा याङ्ग्री र त्यो भन्दा घर आँगनको ठ्याक्कै पारीपट्टी उभिएको नाङ्गो पहाडलाई चियाएँथे। जब जब त्यो पहाडलाई हेर्थें, तब तब म त्यसमा आफ्नै मस्तिष्कले कोरेको आकृति भेट्टाउँथे ! मैले म जन्मेको माथीको गोठघरबाट सम्भवत त्यो नाङ्गो भिरालो र भिरकुने डाँडा चियाएको सम्झन्छु। गोठमा जन्मेपछी लिंकन याद आइहाल्यो। च्यामुसीतिर थर्टी सेकेन्डस् खेल्दा अन्यदेशका साथीहरूलाई अब्राहम लिंकन भन्न नआएर, "दिस गाई लुक्स् लाइक दीप, एन्ड इज फ्रम युनाइटेड स्टेट्स !" भनेर खादिमु भन्ने साथीले भन्दा, ती सलमान भन्ने साथीले, "अब्राहम लिंकन" भन्ने उत्तर दिँदा म पटकपटक लिंकनसङ्ग पनि जोडिएँ। उसो त गोठ गोठमा जन्मेको मात्रै होइन कि मैले त उनै लिंकनको फोटो देखेर बाहिरी अध्ययन यात्रालाई बढाएथेँ ! अनि लिंकन यसरी फ्याट्ट नआएर भो त? दीपलाई दर्शन नदिएर भो त? ओहो पहाड हेर्न गोठ पुगेको म त अमेरिका पुगेछु हँ ! डाली बसेर हेलम्बु च्याउने अनि केन्टकी पुग्ने, ओह्हो पानी पँधेरै बनाइएछ ! थाहा छैन यो कस्तो साइनो हो तर एउटा पहाड देख्ता अर्को पहाडको न्यास्रो मेट्छु, बादलयानमै उड्छु- सागरदेखि सगरसम्मको यात्रा गर्छु, हिमालयको दर्शन गर्छु, प्रत्येक दिन जीवन्त अनुभूति गर्छु- यस्तो लाग्छ एक समय म पहाड हुन्छु, अर्को समय बादल, कुनै अर्को समय नदी ! म मै हुन्न कैले त ! मलाई खोज्न यिनै 'बेयुल'को दर्शन गर्ने त होला नि?
सालका कथा
अर्को एक सालले बिदा माग्ने तरखर गर्दैछ ! बिदा मागोस्, नमागोस्, उस्ले आफ्नो धर्म निर्वाह गर्नेछ नै ! खास नयाँ र पुरानो सालको विभाजन रेखा पनि के कोरुँ र? युग, समय र काल यसैगरी त चलि आएका थिए, चलेकै छन् र चलिरहनेछ नै। समय पात्रहरू यसैगरी चल्छन्। जीवनको रहस्यहरूसङ्ग म अलिक ज्यादा नै हराउँछु जसरी आकाशमा बादल हराउँदछ ! जीवन यात्रामा आउने संयोग र कर्मकथाले मलाई रहस्यचकित बनाउँछ्न्। माने रहस्य, नमाने के रहस्य होइन र? जीवनको खास अर्थ के छ र? त्यो त पानी जस्तै छ; नदी बनाएर बगाए बग्दिन्छ, गाग्रीमा भरेर राखे गाग्रीकै आकारमा बस्छ, कुण्डमा अड्डाए कुण्डमै अडिन्छ। जीवनको खासै अर्थ छैन, अर्थ केवल पात्रले दिने कुरोमा मात्रै हो भन्छ्न् ज्ञानीहरू ! म यस्तै खास अर्थ दिने मान्छे त होइन तर जीवन परिधिभित्र मैले टेकेका पाइला र चढेका शिखरहरूले आफ्नै अर्थ दिएका छन्, मलाई खास त्यसमै सन्तोष छ। त्यो परिधी मेरो लागि हिमाल भुगोल जत्तिकै पवित्र छ, र विशाल छ। जीवन यात्रामा जोडिएका केही मानिसहरूले मलाई हरसमय भिन्न रहस्यहरूसङ्ग परिचित गराइरहन्छ्न्। म ती पात्रहरूको विशाल दयासागरमा पौडिने प्रयास गर्छु, त्यो विशालताको गहिराईले म केवल दङ्ग पर्छु। त्यो दयासागरमै पौडिनु त मेरो अहोभाग्य हो, त्यो तत् समय म भावुक हुन्छु, म कृतज्ञ हुन्छु, हृदय अहोभावले साधुवाद भन्छ। र, क्षणभङ्गुर जीवनको अर्थलाई नियालेका यी यात्रीहरू विशाल सागर बोकेर हिँड्छन् र यस्तै कर्म यात्रीहरूको छेउ पाउनु त विशेष छ नै, ती प्रति जीवन जीवन धन्य मात्रै हुन सकिन्छ ! यो जन्ममा मानिसहरूले मलाई लगाएको गुनको व्याख्या गर्ने र तिनलाइ धन्यवाद दिने शब्द पनि मसङ्ग छैन ! यसरी निशब्द भने पैलोपटक भएको होइन, मलाई बेलाबेला मानिसहरूले यस्तै हिमाली भुगोलमा छोडिदिन्छन् ! म शून्य र निशब्द हुन्छु, म ती प्रिय् मनहरूलाई मनदेखि धन्यवाद दिन्छु।र, त्यस्तै भुमिकामा हिमाली मन लिएर उभिने चाहना राख्छु, कामना गर्छु र प्रार्थना गर्छु। जीवनमा अरु यस्तै हो, सदा दया, करूणा भावले भरियोस्। यात्राका तिता मिठा क्षणहरू कर्म अनुरूप भोगिएला त्यस्को केही चिन्ता छैन ! तर यस्तै विशाल हृदय लिएर जीवन यात्रामा होमिएकाहरूको माया, सद्भाव र सङ्गत पाइयोस्, जीवन बेयुल जत्तिकै पवित्र बन्नेछ ! र, मलाई यो अद्भूत अनुभूतीलाई बेला मौकामा अनुभूति गर्न दिएर मलाई जीवन्त बनाउन प्रेरित गर्ने जीवन यात्रीहरूप्रती आभार ! म सदा यी पात्रप्रती ऋणी छु !
#valley #mountains #himalayas
आर हाई ताल
ताल सुन्दर हुन्छ, तालमा खेल्ने चराहरू सुन्दर हुन्छन्, तालभित्र रमाउने जलचर पनि सुन्दर हुन्छन्, तिनमा रम्ने, रमाउने सबै चीज सुन्दर हुन्छ्न्, हुन त हेराई नै सुन्दर हुन्छ ! हुन त यो सुन्दरता आफैंमा सापेक्षताले प्रेरित देखियो, एकातिर म निरपेक्ष भावले हेर्दछु, गम्दछु, डुब्दछु ! तालमा तन डुबाउन नसके पनि मन आफूलाई ताल हाँस जस्तै डुबाउँदै, निक्लिँदै गरिरहन्छ। हिमाल जाँदा मन बादल बन्छ, सागर हिँड्दा मन नदी बन्छ, ताल जाँदा ताल हाँस बन्छ ! मन बडो विचित्र छ ! मन प्रकृतिको स्वचित्रमा हराउँछ, मनले आफ्नो चित्र भेट्टाउँछ, मनले आफ्नो फ्रीक्वेन्सी मिलेको भेट्दछ, एक असल साथीको दर्शन पाउँछ। यो भव्यता प्रकृतिको स्वचित्रमा भेटिन्छ। हराएको मन भेटिन्छ, डुलेका मनहरु भेटिन्छ्न्, अर्थात् त्यो हराउने र भेटिने ठाउँको एक अस्तित्व हो। कतै हराए, कतै भेटिन पनि त पर्छ। हराएको मन खोज्न कैले आफैं भित्रको प्रकृतिमा त कैले आफूबाहिरको प्रकृतिमा खोज्नुपर्छ। हेर, हराउ, भेट; कैलेकैले जीवनमा यस्तै पनि मज्जा ! आउ केही बेर यो तालमा हराउँ ! आउ केही बेर आफूभित्रको तालभित्र हराऔँ ! आर् हाइ मा हराऔँ !
जुनेली रात
कुनैदिन निक्कैबेर जून र ताराहरू पनि चियाइयो, र मैले मेरो बालापनलाई एकपल्ट फेरि समातें ! ऊ उछुट्टिन चाहन्छ, म उसलाई सङ्गै राख्न चाहन्छु; जीवन र नियतिको यो द्वन्द्व स्वाभाविक चलिरहन्छ। त्यो बालापनमा मैले कुनै गहिराई मनन गरिनँ। मैले हेरेँ मात्रै। पैलोपल्ट चियाएको त्यो ढापसुङमाथीको चट्टानी पहाडलाई जस्तै जुनतारालाई कैले त्यसरी चियाएँ त पत्तो छैन। अगेनामा दूध उमालिसकेर निक्कै पछिसम्म कराईको पिँधमा झिल्काहरु झिमिक्क मिलिक्क गरिरहन्थें, मैले तारा स्वरूप पाइरहन्थेँ। म कैलेकैले सम्झिन्छु, म बडो उत्सुक र जिज्ञासु देखिन्न तर प्रकृतिमा नरमाएको होइन; महत्वपूर्ण नहुनसक्छ हर पल प्रकृतिप्रति कौतुहुल रहनु। खैर ती असली अँध्यारा रातहरूमा मैले जुन र ताराको अनुभूती गरेको छु र त्यसरी 'हन् तुओ हन् तुओ' ताराहरू आकाशमा फेरि देख्ने अवसर जुरेको छैन। तर पनि कुनै रात यसैगरी म सानो दीप भएँ, म मेरो आँगनमा उभिएँ, मैले मेरो माटोमाथीको आकाशको दर्शन गरें, यहि प्रतिबिम्ब कुनै रात पाएँ, आकाशमा घोत्लिएँ, बादलमा आफूलाई पाएँ, जुन घरतिर हिँडेको भाव पाएँ। प्रश्न पनि गरें, के बादल मेरो विमान हुनसक्छ? प्रकृतिका यी विराटतासङ्गै मानव विकासक्रमले मलाई बडो जिज्ञासु बनाउँछ। तिनको पृष्ठभुमिबारे केहि जाने जस्तो अनुभूति भएपछि तिनलाई विविध आयाममा हेर्छु। भौतिक र अध्यात्मिक बाटोको त्यो मध्यबाट, दुई नदीको दोभानजस्तै, दुई बाटोले दोबाटो स्वरूप लिएजस्तै; मध्यामार्गी स्वरूपमा आफूलाई पाउँछु। यो विराट ब्राह्मण्ड, अथवा आफ्नै ग्यालेक्सी भित्र हामी कत्रो वा ग्रहभित्र वा हाम्रै घरग्रह भित्र? यो अनुभूति हिमाली उपत्यकामा गरेंथेँ कुनैदिन ! हामी आखिर एक कण मात्रै, अझ मानवविकासक्रमले त हामी एउटै हौं भनिसकेको छ, यसरी बुझ्दै गर्दा देश, सिमाना व्यर्थझैं लाग्ने तर पनि मानव जुनी भैसकेपछी थोरै मोह, थोरै स्वार्थ, थोरै संसारी भएको राम्रै लाग्छ। जुन र तारा हेर्दाहेर्दै जीवन, ब्रह्माण्ड कताकता पुग्छु, संसारी जस्तै, निस्क्यो, फुत्त हरायो ! यस्को आफ्नै आयाम जो होला ! जीवन आफैंमा अर्थहिन छ, अर्थ छ भने आफूले दिएमा मात्रै हो भन्छन् भन्नेहरू ! भन्नेहरूको कुरोलाई स्मरण गर्दै, अब एकलट चियाएको मज्जा पनि लिन्छु र पढ्नेहरूलाई धन्यवाद भन्न चाहन्छु !
बादलको लुकामारी
प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै बहिरहेको बादल ! नदी मात्रै होइन बादल पनि "अनुगच्छतू प्रवाह:।।" मा बहेको छ- आखिर फरक पनि के छ र? एउटा उत्तर देखि यात्रा गर्छ, अर्को उत्तर हिँड्छ, दुवैले भेट्ने आकाश एउटै छ, एउटा बग्छ अर्को बहन्छ, एउटा वजनदार देखिन्छ अर्को हल्का (!), एउटा सुसाउँछ अर्को शून्य छ ! आकाशमाथी बादल बनेर हिँड्न आफैं हल्का कहाँ होला, भुइँमा नदी नै बनेर दौडन पनि हल्का कहाँ? तर कर्मको कुरो, कोहिलाई बहनु छ, कोहिलाई बग्नु छ, त्यहाँ गुनासो होइन, लालित्यका आफ्नै रङ्गहरु भरिएका छन् ! नदीले उड्न पाइन भनेन, बादलले बग्न पाइन भनेन ! भनेको भए सम्भावित के हुनसक्थ्यो; बादल बग्थ्यो, नदी उड्थ्यो; नदी उडेर समुन्द्र पुग्थ्यो, बादल बगेर हिमाल पुग्थ्यो (?) सभ्यातहरू बादलले बन्थे, खेती बादलले गरिन्थें, अनि म बादलमा पौडिन्थे, बादल तरेर पल्लो गाउँ पुगिन्थ्यो, बादलमाथी पुल हुन्थ्यो; यता म नदी हेर्न कैले मेरो आँगन कैले युनान आउँथे- र त्यो संसारी हो ! सोच्न त पाइयो, बादल बगेको, नदी उडेको- सत्य के छ र ब्रह्म बाहेक वा त्यो सापेक्ष एक मानक न हो ! सम्भावनाको कुरो गरें, सम्भावनाको संसारमा हुन्छ र हुँदैनको विभाजनरेखा म कोरुँ पो किन? बगेका र बहेका सब सम्भावना, सत्य र असत्य सब सम्भावना ! सापेक्ष र निरपेक्ष सब सम्भावना ! संसारी नै एक सम्भावना ! कैले नेपथ्यको कैले केन्द्रको ! केन्द्र र नेपथ्यको सिंगौरीको खेल- नियतिको खेल ! संसारी कैले वनचरो हो, कैले साइबेरियन चरो हो ! तर साइबेरियन चरोजस्तै बादलसङ्ग नक्सा हुन्छ कि हुन्न होला हगी? बादलको आफ्नै संसार छ, आफ्नै रूप छ, आफ्नै रङ्ग छ, आफ्नै ताल र चाल छ ! सागरले बिसौनी वा चौतारीको भुमिका खेल्ने न हो, आखिर बादलले बोकेको त्यै बिसौनीको भारी न हो, त्यै नदीको पानी न हो, यहि सांसरिक चक्र न हो?
आमाको मन
"बाउ नभएको छोराको बाउ मात्रै हुँदैन तर आमा नभएको छोरो टुहुरो हुन्छ। जब जब त्यो तल काम गर्ने अङ्कलको छोरालाई देख्छु, मन नै कुँडिन्छ। जब म यस्तै गरिबी, टुहुरा, विपत लगायत दु:खको पनि चरम कष्टमा बाँचेको अनगिन्ती मान्छेहरु देख्छु तब मलाई भगवान छ्न् रे भन्ने कुरो मिथ सिवाय केही लाग्दैन।" दुई साल अघि यसै लेखेको रैछु। मैले लेखेका कति कुराहरू लेखाईमा मात्रै सिमित भएनन्, कालान्तरमा ती मै आफैंमा आइपरे ! तर स्वयम् मेरो जीवनमा ती 'सत्य' नै देखिए। म वरपरका पात्रहरूलाई पनि चियाउँछु। जीवन संसारका दु:खका आहालहरूमा आमाहरूले गर्ने त्याग, तपस्या र प्रेमका कुराबारे शब्दहरूले के व्याख्या गर्लान् र? मैले युनानी लेखिकासङ्ग पनि संयोगका प्रसङ्गहरूमा कुरा कोट्टाएँ। बडो गहन संवाद गरिएछ। बा आकाश हुन्, आमा धर्ती; आमाको चर्चा गर्नुको अर्थ बाकै चर्चा गर्नु हो। दुवैको अस्तित्व बारे मैले भनिरहन पर्दैन ! तर मैले आफ्नै आमा देखि अन्य आमाहरू पनि चियाएको छु, तिनको विशालतालाई देखेको छु। सन्तानका लागि बा आमाहरू रित्तिन्छ्न्, ती आफ्नै गच्छेले रित्तिन्छन्। रित्ताई विविध र बहुआयामिक हुन्छ तर समग्रतामा हर किसिमले रित्तिन्छन्। यस्तो लाग्छ नदी बग्नु, बादल बहनु जस्तै रित्तिनु पनि बाआमाको धर्म हो, यो 'धर्म'को रिलिजनसङ्ग सम्बन्ध खास छैन तर नभएको होइन। तर यी बीच पनि सन्तानको निमित्त एउटा आमा भएर उभिन सानो त्याग र तपस्या छैन। ९ महिने कथा त जता पनि चर्चा हुन्छ, तर त्यसपछि बच्चा हुर्काउँदाको अवधि त नेपथ्यको कथा हो। एक्लै बच्चा हुर्काउने आमाहरूको कथाले भावुक बनाउँछ, त्यो बेला आमा नै आमा र आमा नै बा भएको हुन्छिन् र यस अर्थमा उइले मैले ती वाक्यहरू लेखेको थिएँ। त्यो कल्पना थिए, कल्पनामा डुबेर लेख्ने म साहित्यकार होइन। देखे, भोगेका घटनाहरूले मन र मस्तिष्कलाई चसक्क बनाइसकेपछी म केवल शब्दको सहारा लिन्छु। सन्तान जोडिएको देखिरहने, हर काममा सन्तानको सम्झना र याद, हर 'मीठो' खानलाई मुखमा हाल्नु अघिको याद, 'सन्तानले कति सम्झियो होला !' भनेर भावुक हुने, हर बखत सन्तानको सुखद यात्राको कामना गर्ने आमाहरूको कथा, र भोगाईले भावुक बनाउँछ। र सम्झन्छु, मै बूढो त आमाको यादमा हुन्छु ल, ती साना केटाकेटीको कुरो के गरुँ र? ती साना केटाकेटीको आमाको कुरो के गरुँ? छुट्टिएर टाढिँदा कुँडिएको मनको कुरो के गरुँ? हर आमाहरूलाई सत् सत् नमन !
(पात्र- फङ थाङ)
मैना चरी र नियति
मैना चरी र नियति !
केही बेरको अध्ययनपछी मैले नेपाली पुराना गीत ल्यापटपमा बजाएर छाडेको थिएँ। चेख दाईसंग । “बुझ्नेलाई इशारा काफी, नबुझ्नेलाई पीरती भारी छ” भन्ने गीत बजाएर निस्केको थिएँ। फर्किंदा “मैना ए मैना तेरो कोई पनि आफ़्नो छैन…।” भन्ने गीत बजीराखेको रैछ। मेरो साथी राजा त्यो गीत सुन्दै, सोचिरा रैछ। “दीप थाहा छ, मैना बारे मसंग कथा छ। त्यो कथाले मैले लेखेर फोटो सहित पठाएँ। २१ औ स्थानमा पर्यो।” मैले उसलाई रोक्दै, “पख ! मैना बारे अर्कों गीत छ।” भन्दै ख़ेमराज गुरुंगको गीत बजाईदिएँ, “कालेबुङको मैनाचरी, ए कालेबुङको मैना चरी, ए टिष्टा खोला झर्यो होई” ! अनि यति सुनिसकेपछी उसले त्यो मैनाको कथा सुनायो। “घर छेऊ उइले हजुरबाले रोपको नरीवलको बोट छ। ऐले अग्लो भैसक्यो। त्यो रूखमा पैले देखी नै मैना चरी बस्थ्यो। मैले जन्मदेखी नै देखेको। कती पुस्ता आयो/गयो थाहा छैन। तर यो पाली घर फर्केदेखी मैले अझ धेरै याद गरें। छतमा पढ्न जाँदा प्राय याद गर्थे।” म सुनिरहें। बीचमा लुफ़े दाईको सम्म पानी लिन गएँ। लकडाउनले पानी महँगीएको छ, अनि अभाव पनि छ। मेसोमा लुफ़ेदाईलाई धन्यवाद दिएँ र दयापनलाई, जर्ज अर्वेलको कथासंग साइनो गाँसेर केही भने। र उनले पनि, “नो प्रोब्लम दीपु, एनीटाइम !” भनें। फर्केर आएँ अनि राजाले फेरी सुरू गर्यो, “मैना चरीलाई प्राय हेरी त रहन्थे नै तर त्यो दुई साल मैले नियालेको घटनाले बडो अचम्ममा पारीरह्यो। कैले हावा र हुरीले गुँड उड़ाएको हुन्थ्यो, कैले अण्डा तल झरेर फुटेको हुन्थ्यो। यतिमै त्यो मैनाले क़तै गएन। बारू त्यो दुःख र विपत्तिलाई उसले सामना गरिरह्यो। त्यो शोकलाई शक्तिमा बदलिरह्यो। आफूले खोजेको वा आफ़्नो आवश्यकता पूरा नभएसम्म तीता असफलताहरुलाई आफ़्नो मानेर निरन्तर लागीरहनपर्ने रहेछ।” उसले यति भनिसकेपछी थप्यो, “तिमीले पनि आफ्ना सपनाहरुको लागी यसैगरी निरन्तर लागीरहनपर्छ दीप, तिम्रो पनि समय आऊँछ।” उसले यति भन्नु अघि नै त्यो मैना चराको नियति देखेर घोत्लिँन थालीसकेथे। “शोक र विपत्तिले त उसलाई पनी छोयो होला, तर नियतिको खेलको अगाड़ी उसको के लाग्यो र? मूल उसले कर्म छाडेन। क्या ज्याद्रो मैना हगी? ओहो…!” अनि राजाले फेरी एकपटक आफूले अंग्रेजीमा लेखेको कुरो पढेर मलाई सुनायो, “ऐले त यो प्राकृतिक विपत्ति लेखेको पनि, पढ़्दा तिमीलाई पो सम्झिएँ।” र यो मध्यरात, नेपाली च्याको साथ अनि घरको यादको कम्बोलाई एक सम्झना बनाइयो !
“कुनै दशैंमा निधार खाली हुन्छ, कुनै दशैंमा मन !” यो लेख्नु अघि यो मोमेन्टसमा सज़िन तयार भएर बसेको रैच, म शब्द प्राण नभरूँ पो कसरी?
सि चौ (喜州)
सि चौ सम्मको यात्रा ! खास रूख हेर्न भनेर हिँडेको यात्रा डुल्दा कता कता पुगियो, पुगियो ! घरभन्दा २३ किमी पर ! तर निक्कै सुन्दर पुरानो बस्ती ! सफा र व्यवस्थित। वरका रूखहरू जताततै ! मानवीय बस्तीहरूमा भएका विकास गज्जब लाग्यो तर प्रकृती मासेर 'प्राकृतिक' बनाउन खोजेको विकास खासै मन परेन ! केही साना स्थानिय साथीहरू आए, उनीहरू मलाई देख्दा भिन्न अनुभूति गरिरहेका थिए, बोलुँबोलुँ भाव प्रस्ट देखिन्थ्यो। अनि मैले नै बोलाइदिएँ, दङ्ग परे, खुसी भए ! मैले आफ्नै बालापन सम्झिएँ, यता लेखिका नीया भनेर मेरो तस्बिर खिच्दै थिइन् र म बेला मौकामा म्याओ म्याओ लाई जिस्काईदिन्थेँ। घमाइलो दिन थियो। केही बेर परालको पातलो थुप्रोमा बसेर घाम तापियो। चिनियाँ पर्यटकहरू वरिपरि खेतमा तस्बिर लिँदै थिए। हामीले जुनार खाइसकेर बाटो ततायौँ। पुराना बस्तीहरूबीच छापिएका सुन्दर ढुङ्गेबाटो हुँदै गाउँ डुल्यौं। सफा र चिटिक्क परेका बजार, पर्यटकको घुइँचो, डुलिरहेका आँखाहरू, यो सब हेर्दै निक्कै साँझ परिसकेको थियो। तर पनि छाङ्शान छेउ झैं घाम अस्ताइसकेको थिएन। र हामी साँझको खाना खान अलिक पर आयौं। त्यस अघि एउटै रूख लाग्ने दुई वर मिलेर बनेको रूख हेर्न ताल छेउ गयौं। जताततै 'प्राकृतिक पार्क' विकासको नसुहाउँदो लहर देखिन्थ्यो। निया भ्याली र मैले यसबारे पटकपटक विमर्श गर्यौं। मैले नेपालको सम्भावित भविष्य बारे चिन्ता र चिन्तन राखें...! खाना खाँदा जाँदा एकजना भाइ बच्चा स्टाइलमा हिँडेको देखेर कपी गरियो, निया भ्यालीले भिड्यो लिइन्। अनि खाना खाइसकेर रातमा केही क्षण ताराहरू हेरियो। क्याम्प फायरको याद गरियो। आगोको याद आयो.., ताराहरू हेरेर टोलाइयो, संवाद गरियो अनि त्यसपछि~ हुइ च्या ल !
无为寺 (वु वेई स्)
जनवरी ७ २०२३ को दिन तालीको 'वु वेइ स' सम्म पनि पुगियो ! झन्डै ६०० वर्ष पुरानो गुम्बा (?) मा बुद्धका मुर्तिहरू संरक्षण गरेर राखेको देखिन्थे। थाङ्ग वंशको चर्चा कतै पनि नछुट्ने रैछ। सल्लाघारी हुँदै, कलकल खोल्साको आवाज सुन्दै यात्रा अघि बढिरह्यो। उकालो पारी गरिसकेर ढुङ्गे छाप सडक बाट केही तल ओर्लिसकेपछी मन्दिर आइपुगिँदो रहेछ। र त्यसअघि खानेपानीको मूल त कम्ता गज्जबको थिएन ! हिमाली भुगोलको मूलको पानीको स्वाद आयो। म दुईपटक यहाँ आएँ। अर्कोपटक पानी लिन निक्कै तल पुगेर ग्यालीन लिएर फेरि पानी लिन गएँ। त्यो मीठो पानीको प्यास यसै कहाँ मेटिने? अनि पुराना मन्दिर मज्जाले संरक्षण गरिएको देखियो। मुर्तिहरू देख्दा पक्कै पनि महायान बौद्ध शाखाको हुनुपर्छ भनेर लख काटियो। 'हरेक अग्लो पहाडमाथी एउटा गोरेटो हुन्छ, यद्यपि त्यो फेदीबाट नदेखिएको पनि हुनसक्छ।' भन्ने भनाई उदृत गर्दै त्यो पहाडको सिरानी गोरेटोबाट यात्रा गर्दाको मज्जा बेग्लै थियो। बाटाभरी सल्ला, वनमारा, उत्तिस लगायतका वनस्पती, ढुङ्गे छाप सडक, सल्लाका सुकेका पातहरू देख्ता नेपालको झल्को मेटाउने। यसो गर उसो गर 'नेपाल' देख्नु मेरो कर्म नै हो। आफू जन्मिएकोले मात्रै होइन त्यो अप्नत्वले सधैं पछ्याइरहने; त्यो खास परिचय पनि होला ! हुन त दुई दिने पाहुनाले पेवा मान्नुको अर्थ पनि उति नदेखिन सक्छ, तर जति दिनकै भए पनि आफ्नै मानेर प्रेम गरे, ती सबै आफ्ना नत्र भने बिराना होइन र? र यो युनान यात्रामा सघाउने यी सबै ठूला र साना साथीहरूप्रती आभार ! अन्तिममा उहीँ हामीले पालेको माछा जस्तैगरी भिन्न माछा पालिएको ठाउँ सम्म आइयो ! र "जे गर जसो गर, यो मन त मेरो हिमाली हो !" भनेर मन मनै छाड्न सकिएन। अनि ती झ्यालहरूबाट छाङ्गशान हिमाल चियाइयो, प्रत्येक क्षण परिवर्तनको साक्षी भैयो, पहाड र बादलको दर्शनले धन्य भैयो अनि प्रिय् मानिसहरूको न्यानो साथको चर्चा त जत्ती गरे पनि कमै हुन्छ !
#大理##无为寺##云南##neeyavalley#
छाङ्शान यात्रा
आज भने खुल्ला खालको केबलकार चढेर झन्डै २,५०० मि बीचको गोरेटोबाट (玉带云游路) यात्रा गरियो। लेखिका साथी र उनको सानो परिवारसङ्गको एउटा अद्भुत यात्रा जुराइयो भने पनि हुन्छ। खास छाङ्शानका ती सबै भ्याली भ्याउने उद्देश्यले हिँडे पनि माथी उचाईको हिमाली चिसो हावा बत्तिएर आएसी साना साथीहरू अन्य उपत्यका जान उति उत्सुक भएनन् ! यत्ति भएसी हेइलोङ्ग खोल्सा ओर्लने उद्देश्य सहित मात्रै दुई भ्याली चहारियो। उचाइबाट आर हाई लेक सुन्दर देखिन्थ्यो। सुरुवाती बेलासम्म आकाश सफा थियो, वातावरण न्यानो थियो। हिँड्दै जाँदा मौसम भिन्न हुन थाल्यो। उसो त छाङ्गशानमा हावा बेतोड चल्ने त्यहाँ माथी हिमाली मौसम, अरु के चाहियो र? त्यो उचाइको बाटो व्यवस्थित बनाइएको थियो, फराकिला पनि देखिन्थे। मलाई त्यता हिँड्दै गर्दा तार्केघ्याङ्ग हिँडेको बाटो याद आयो। सम्म सम्म परेका बाटो ! तर उइले नै मान्छेले हिँड्न बनाएका गोरेटो र ऐले पर्यटक हिँड्न बनाइएका बाटो बीच पनि भिन्नता चाहिँ भेटिने ! स्थानियले नै प्रयोग गर्ने गोरेटो बडो जीवन्त लाग्ने अनि अझ त्यहाँमाथी त्यो प्राकृतिक होस्, त्यो सुनमा सुगन्ध हुने रैछ। यसरी त्यो उत्तरी देशको विकास हेर्दा लोभलाग्दो त छ नै, तर पदयात्राको हिसाबले हामी अब्बल भएको अनुभूति गर्छु। तर त्यो नेपाली मौलिक हिमाली पदयात्राको असली संस्कृति हामीले कसरी जोगाइ राख्न सकिएला भन्ने प्रश्नले चिमोटीरहन्छन्। हिजोआज देश विदेश घुमेका नेपालीलाई केबलकार देखि हर युरोपियन पर्यटन विकासले तानेको हुन्छ ! अब त हुँदाहुँदा गोसाइँकुण्डमा पनि केबलकार भन्ने कुरो सुन्न आएपछि यो भन्दा नमज्जा के हुन्छ? हिमाली क्षेत्रलाई जोगाउन सकिएन भने नेपालले आफ्नो मौलिकता गुमाउँछ ! अधिकांश विदेशीहरू त्यै हिमाल हेर्न जाने न हुन्, नकि मान्छेले बनाइ टोपलेका मानवप्राकृतिक पार्क ! यति सोच्दै हिँड्दै गर्दा जङ्गलबाट छोटो बाटो लिने तरखर गरिन्छ। जब सल्लाघारीको बाटोबाट चिप्लेटी खेल्दै हामी अघि बढ्छौँ, साना साथीहरू रमाउँछन् ! लेखिका साथीले यसबारे इङ्गित गरेसी मैले यसो मेसोमा थपेँ, "मानिस बच्चा हुँदा देखि नै यिनै पानी, माटो सङ्ग खेल्न रुचाउँछ, ऊ प्राकृतिक हुन रुचाउँछ। तर हाम्रो कुनै पुस्ता यस्लाई छिछि र दुर्दुर् सङ्ग हेर्दछ। हिजोआज यसमा भने सुधार भएको देख्छु।" जङ्गल भरी मरेका मानिसहरूको चिहान देख्दा अर्को दिक्क लाग्थ्यो, जङ्गल पनि प्राकृतिक छैन ! अनि निक्कै लामो यात्रा पछि हामी हेइ लोङ्गमा आइपुग्यौं।लेखिका साथीले कुनै बेला सपना देखेको भ्यालीमा आइयो। त्यहाँ हामी सब केहिबेर केटाकेटी भयौँ। पानीसङ्ग खेल्यौँ, ढुङ्गा र पातपतिङ्गरसङ्ग खेल्यौँ।
#大理##苍山##云南#
Sunday, January 22, 2023
संसारी
मेरा लेखाईमा शब्दहरू दोहोरीरहन्छन् ! ती म जस्तै छन्।मलाई यस मानेमा पनि छुट छ कि म कुनै साहित्यकार होइन, र मैले कसैको निमित्त लेख्दैछु भने त्यो स्वयम् म एक हुँ, अर्थात् यो लेखाईलाई लिएर मैले कसैलाई सन्तुष्टि बाँड्नु छैन ! हुन त भएको कुरो बाँड्न सकिन्छ, नभएको कुरो के बाँड्ने र? केही थिए होलान् र मैले बाँड्ने खालको? हुँदा त बाँड्न खप्पिस नै रैछु क्यार, भाइ संवादमा मलाई छ्यास्स सम्झाउँछ। भएका कुरा राख्नै नसक्ने, सकिहाल्न पर्ने, यस्तो लाग्छ बादललाई बहन पाए भएकै छ, उसलाई भविष्य बादलको के चिन्ता? विगत बादलको इतिहास के थाहा? गफ नै भए पनि बाँड्ने परेँ ! खैर बोल्दा बोल्दै म सोझो बाटो हिँड्दिन है, म एउटा रूख बनाउँछु, हाँगाहरू बरको रूखसरी झाङ्गिन्छन्। हुन त म नमुना नै यस्तो कि, म संसारी नै त्यो मूलको कि, सम्भवत: म सयौंपल्ट एकैठाउँलाई गन्तव्य बनाउँदा पनि रमाउन सक्छु, एउटै कुरो पटकपटक भनिरहँदा पनि रमाउन सक्छु, अनि लेख्दा तिनै भाव दोहोरीरहनु मेरा लागि के नौलो? गन्तव्यको हतारो पनि त छैन, हुत्तिन पनि कहाँ छ र? कर्म गर्ने, मनको बत्ति बाल्ने अनि खोलाजस्तै बग्ने !
तस्बिर यात्राका- २० जनवरीका दिन युबङ्ग देखि वु क्वान् सिङ्ग र मियान् स् मु हिमाल हेर्न फेदीसम्म पुगियो। त्यसअघि डाकिनी र पद्मसम्भवको गुफासम्म पुगियो। डाकिनीको गुफासम्म पुग्न निक्कै अप्ठेरो बाटो पार गर्न परो। निक्कै भिरालो बाटो हुँदै त्यहाँसम्म पुगियो। आशिर्वाद लिँदै गर्दा शीरमा फुल पनि टाँसिएर आइपुग्यो। अनि त्यसपछि लागियो गुरु पद्मसम्भवको गुफातिर। गुफाको प्वालबाट अर्को पट्टी निस्किइयो। 'नर्कबाट पुनर्जन्म' लिइयो ! मुटु काँप्यो एकलट ! अनि सम्झना गरियो, शिवको, डाकिनी र पद्मसम्भवको। त्यसपछि पवित्र झरना हेर्न गैयो। त्यहाँ पनि भिरालो बाटो पार गरेर झरना सम्म पुगियो। पवित्र पानी बोकियो। हिमाल चियाइयो। भव्यतासङ्ग केहिबेर रमाइयो अनि फर्कियो गाउँतिर। झन्डै १३ किमी यात्रा गरिएछ।
सिकेको कुरो, यो कुरो सिकाउने साथीप्रती आभार। पैसा उर्जा हो। उर्जा नदी हो। ऊ बग्नुपर्छ। उसले आशा राख्दैन केवल स्वकर्म गर्दछ। जस्तै नदीले बिरूवालाई पानी दिन्छ तर कालान्तरमा उसबाट आशा राख्दैन ! यस्तै पैसा पनि २ तरिकाबाट सुकर्मले प्राप्त गरिन्छ; एक आफ्नै कमाई दोस्रो अन्यमार्फत पाइने ! दोस्रोको लागि सदा सत्कर्मी हुनुपर्छ। र अन्यमार्फत पाइने पैसालाइ सहज ग्रहण गर्नु र तिमीले अन्यलाई दिँदा पनि आशा नराखी दिनु !
युबङ्ग गाउँको यो चौथो दिन लेखिएको सम्झना हो है !
Subscribe to:
Posts (Atom)
ने, कर्म र यात्रा
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...

-
`ढाका टोपी दिवस´ किन प्रायोजित? राष्ट्रियता पोसाकमा होइन मन र मस्तिष्कमा हुन्छ। एउटै पहिचानमा जातिय विविधताले ठाउं पाउन सक्दैन। सबै ...
-
प्रत्येक दिन, प्रत्येक क्षण गतिशील देखिने पहाड र बादलको लुकामारी हेरेर थाकिन्न ! आखिर नौलो दृश्य खास केही होइन- त्यै एकनास उभिएको पहाड, त्यै...
-
कविहरूले कतै ' आफू ऊभिएको माटो स्वदेश हो, अन्त कतै विदेश छैन' भनेका छन् क्यारे। हुन पनि आखिर स्वदेश कता, विदेश कता हगी? त्यो विदेश ...